विजयपुर । धरान–१० स्थित पुतलीलाइन खहरे खोलाछेउमा मापदण्डविपरीत निर्माण गरिएको संरचना हटाउन धरान उपमहानगरले पत्राचार गरेको महिना दिन बित्दा पनि हटाइएको छैन । संरचना नहटाए पनि नगरले भने चासो देखाएको छैन ।

धरान–१० पुतलीलाइनमा देवरत्न शाक्य, विमल उदास, दिवस श्रेष्ठ, अशोककुमार श्रेष्ठ र अशोक जैनले मापदण्ड विपरीत घर निर्माण गरेका हुन् । उक्त घर निर्माण गरिसकेपछि घरको छेउमा खोलाको मापदण्ड मिचेर अर्को संरचना निर्माण गरेका छन् ।

उपमहानगरले नगर प्रमुखस्तरीय निर्णय गर्दै साउन ४ गते अवैध संरचना हटाउन पत्राचार गरेको थियो । अवैध संरचना निर्माण गरेपछि धरान–९ र १० का स्थानीयवासीहरूले उपमहानगरमा उजुरी दिएका थिए । उजुरी दिएसँगै धरान उपमहानगरका प्राविधिक समूहले अनुगमन गरी प्रतिवेदन तयार पारेर नगर प्रमुखस्तरीय निर्णय गरेर हटाउन पत्राचार गरेको महिना बित्न लागेको हो ।

धरान–१० का अध्यक्ष विवेक राईले हालसम्म पनि संरचना नहटाएको जानकारी दिए । उपमहानगरले पठाएको पत्रमा ‘धरान–१० स्थित पुतलीलाइन खहरे खोला पुलछेउमा व्यक्तिगत घर निर्माण कार्य भइरहेको अवस्थामा खहरे खोलाको पुरानो पर्खाललाई मिचेर २ फिट जति पर्खाल बढाई खोलालाई झन् साँघुरो बनाएको’ उल्लेख छ ।

साथै यस कार्यालयका इन्जिनियरबाट समेत स्थलगत निरीक्षण गरी प्रतिवेदनसमेत पेश हुन आएको र सो सम्बन्धमा कारबाही हुँदा २०७९ साउन ४ गतेको नगर प्रमुखस्तरीय निर्णयबाट मापदण्डविपरीत बनेका संरचना हटाउन पत्राचार गर्ने निर्णय भएको पत्रमा उल्लेख छ । निर्णयानुसार गर्न जानकारी गराउँदै अन्यथा कानूनबमोजिम हुने पत्रमा उल्लेख छ ।

तर, १ महिना बित्नलाग्दा पनि उपमहानगरले चासो देखाएको छैन । वडाध्यक्ष राईले हटाउन पत्राचार गरिएकाले हटाउनु पर्ने बताए । धरान उपमहानगरका इन्जिनियर विनय श्रेष्ठले अवैध संरचना हटाउन पत्राचार गरेको जानकारी दिए । उनले भने, ‘थप ३५ दिनसम्म नहटाए उपमहानगरले हटाउँछ ।’ उनले उपमहानगरमा घर सम्पन्न गरिसकेपछि अवैधानिक रूपमा कर छली गर्नका लागि जानी जानी थप संरचना निर्माण गरेको बताए ।