धरान । बुधबार ब्लाष्टप्रति विश्वास राख्दै एक टेम्पो चालकले फोन गरे–‘सर यहाँ यात्रुहरूलाई तानातान गर्ने काम रोकिएन । हजुरहरूले लेखिदिनुभएमा केही हुन्थ्यो कि !’ उनको भनाइ यतिमै रोकिएन ‘ट्राफिक प्रहरीलाई भनेँ, प्रहरीलाई भनेँ तर, सुनेको नसुन्यै गर्छन्, गाडीहरूबाट पैसा पाउँछन् कि क्या हो ?’

धरानको भानुचोकमा यो शृङ्खला आजको होइन, सुरुवातकालदेखिकै हो । भानुचौक पहाडी क्षेत्रको नाका हो । यो नाका भएर पहाडी क्षेत्रमा मात्रै हैन; तराईका विभिन्न भागहरूमा सवारी साधन पुग्छन् भने लामो दूरीका गाडीहरू पनि यहीँबाट छुट्छन् । कोसी बस व्यवसायी तथा यात्रु सेवा प्रालिका प्रबन्ध निर्देशक नेत्रबहादुर थापाका अनुसार धरानबाट दैनिक ५ सय ६० को हाराहारीमा गाडीहरू विभिन्न क्षेत्रका लागि छुट्छन् ।

धरानबाट मात्रै पहाडका विभिन्न भागमा पुग्ने गाडीको सङ्ख्या दैनिक ३५ को हाराहारीमा छ । त्यस्तै टाटासुमो पनि ३० देखि ४० को हाराहारीमा रहेको उनको भनाइ छ । त्यस्तै इटहरी, विराटनगर, उर्लाबारीलगायतबाट पनि धरानको रुट हुँदै पहाडी जिल्ला जाने गाडीको सङ्ख्या उस्तै छ ।

प्रबन्ध निर्देशक थापाका अनुसार धरानबाट काँकरभिट्टाका लागि छुट्ने दैनिक गाडीको सङ्ख्या ३ सय ५० को हाराहारीमा छ । विराटनगर ५० को हाराहारीमा छ । पश्चिमी रुटमा जाने गाडीको सङ्ख्या पनि ६० को हाराहारीमा छ । काठमाडौँका लागि दिवाकालीन र रात्रिकालीन गरी २४ को हाराहारीमा रहेको उनको भनाइ छ ।

यात्रुको सङ्ख्याभन्दा बढी गाडीको सङ्ख्या हुने कारणले भानुचौकमा तानातानको शृङ्खला अविराम चलिरहेको छ । निश्चित क्षेत्रफल रहेका कारण पनि दैनिक भीडभाड हुने गरेको छ । यही भीडभाडलाई मध्यनजर गरेर २०५६ सालमा तत्कालीन नगर प्रमुख मनोजकुमार मेन्याङ्वोका पालामा धरान–८ मा ‘सुन्दर बस्ती आयोजना’ मार्फत् बसपार्क निर्माण गर्ने योजना अघि बढाइयो । तर, यस आयोजनामार्फत् जग्गा खरिद गर्दा तत्कालीन समयमा धरान नगरपालिकाका कर्मचारीहरूले नै जग्गा खरिद गरेपछि विवादित बन्यो । विवादित जग्गा २०७४ सालको निर्वाचनपछि मात्रै समाधानसँगै बसपार्क निर्माणका लागि शिलान्यास गरियो ।

तत्कालीन नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी भन्छिन्, ‘सुन्दर बस्ती विकास आयोजना न्याय सम्पादन समिति गठन गरी विवाद समाधान गरेर २०७५ माघ २६ गते शिलान्यास गरेका थियौँ । राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय आयोजनाअन्तर्गत २५ करोड रुपैयाँ बजेट पनि स्वीकृत भएको थियो ।’

तर, अहिले बजेट अभावमा बसपार्कको काम रोकिएको छ । करिब ३८ कठ्ठा जग्गामा बसपार्क निर्माण भइरहेको छ । २५ प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारहरू बताउँछन् । यता लामो समयदेखि बसपार्कको काम सम्पन्न नहुनु अर्कातिर भानुचोकको बसपार्कमा दैनिक यात्रुमाथि दुव्र्यवहार हुँदा पनि नियामक निकाय मौन हुनु अचम्मलाग्दो छ । नाम नछाप्ने सर्तमा ती टेम्पो चालक भन्छन्, ‘ट्राफिक र प्रहरीलाई पनि थाहा छ, देखेर पनि नदेखेजस्तो गर्छन् । किन तिनीहरूलाई कारबाही गर्दैनन् त ?’

यस्ता समस्याबाट टेम्पो व्यवसायीभन्दा बढी यात्रुहरू आजित छन् । धरान उपमहानगरपालिकाले पार्किङ कर लिएको आधारमा ७ सयको हाराहारीमा टेम्पो तथा ई–रिक्सा रहेको छ । यो तथ्याङ्क गत आर्थिक वर्षको हो । चालु आर्थिक वर्षको भदौ १६ गतेसम्म ४१ वटा ई–रिक्सा तथा टेम्पोले पार्किङ कर बुझाएका छन् ।

अखिल नेपाल यातायात मजदुर सङ्गठनका प्रदेश १ अध्यक्ष लीलाबहादुर प्रधानका अनुसार धरानमा ई–रिक्साको सङ्ख्या ३ हजारको हाराहारीमा छ भने टेम्पोको सङ्ख्या ५ हजारको हाराहारीमा छ । उनका अनुसार मजदुर सङ्घ–सङ्गठन र प्रालिहरूमा दर्ता भएको आँकडा हो । यी तथ्यका आधारमा धरानभित्र सवारीको अवस्था भयावह छ । यही भयावहकै कारण एकातिर यात्रुलाई तान्ने प्रवृत्ति र अर्कातिर सवारी साधनको बढ्दो चापलाई भानुचौकले थेग्न सकेको छैन । यस्तो भयावह स्थिति हुँदा पनि ट्राफिक प्रहरी र जनपद प्रहरीले चासो नदिएको गुनासो व्यापक सुनिन्छ ।

यसबारे सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर श्यामबहादुर बस्नेत भन्छन्, ‘एकजना ट्राफिक हुन्छ, कतातिर हेर्नु, ट्राफिक प्रहरी त्यही मात्रै हेरेर बस्न सक्दैन ? नहेर्दा स्वभाविक रूपमा बेवास्ता ग¥यो भन्ने हुन्छ । यात्रुमाथि अभद्र व्यवहार गरेमा इलाका प्रहरीले हेर्छ, हामीले समन्वय मात्रै गर्ने हो ।’ उनले सानो ठाउँ र चाडबाडका बेला तानातानको स्थिति बढी हुने भएकाले व्यवसायीलाई त्यसबारे भन्ने बताए ।

यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले यात्रुलाई तान्नेहरूलाई नियन्त्रणमा लिई सम्झाएर छाडिएको जनाए । उनका अनुसार सुमो चालक पदम न्यौपाने, सञ्जय पण्डित, सइन्द्र राई, शम्भु विक, देव लिम्बू, सुजन साहलाई नियन्त्रणमा लिई सम्झाएर पठाइएको छ । फेरि यात्रुमाथि दुव्र्यवहार गरेको थाहा हुन आएमा कारबाही हुने उनले जानकारी दिए । ‘फेरि गरे भने पटकेमा कारबाही हुन्छ’–उनले भने । धरानको भानुचोकमा यात्रु तान्ने शृङ्खला बसपार्क निर्माणसँगै रोकिएला कि !