सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ ।
पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ ।
सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई रु छ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ । सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ ।
पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए । जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनले जनाए । गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको बाढी आएर माछा बगाउने गरेको र कहिलेकाहीँ माछा नै चोरी हुने गरेकोजस्ता उहाँले दुःखेसो गरे । दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए ।
बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ ।