धरानको भानुचोकमा यात्रुको झोला र मान्छेलाई तान्ने गलत क्रियाकलाप अविराम चलिरहेको छ । यो एक प्रकारको अन्त्यहीन क्रियाकलाप हो । यसमा पटक–पटक यातायात व्यवसायी, मजदुर सङ्गठन, ट्राफिक प्रहरी, जनपद प्रहरी, र अन्य सरोकारवाला निकायले प्रतिबद्धता जनाउँदै आएका छन् । तर, कार्यान्वयन भने जुन तहमा हुनुपर्ने हो, त्यो तहमा हुन सकेको छैन । समस्या कहाँ हो ? कसरी सिर्जना भइरहेको छ भन्ने कारक तŒवको पहिचान गर्न नसक्दाको परिणाम हो कि, सरोकारवालामा पनि सबैभन्दा बढी गम्भीर हुनुपर्ने चाहिँ यातायात व्यवसायी, मजदुर सङ्गठन हुन् । गल्ती यिनीहरूबाटै भइरहेको छ । यसको सुधार पनि यिनीहरूबाट मात्रै सम्भव छ । सानो क्षेत्र भानुचौकमा दैनिक सयौँको सङ्ख्यामा यात्रुहरू आइपुग्छन् । यही ठाउँबाट पूर्वदेखि पश्चिम र पहाडी क्षेत्रमा ५ सय ६० भन्दा बढी गाडीहरू छुट्छन् । साँघुरो भानुचोकले नै यी सबै कुरालाई धानिरहेको छ, थेगिरहेको छ । मिडियाहरूले चासो देखाउँदा मात्रै चासो देखाउने प्रवृत्तिको अन्त्य पनि हुन आवश्यक छ । बुधबार मात्रै जनपद प्रहरीले यात्रुको झोला तान्ने ६ जनालाई पक्राउ गरी केही समयपछि सम्झाएर छाडेको छ । यी गतिविधि पनि अनवरत चलिरहेको छ । तर, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि उस्ताको उस्तै भनेझैँ यहाँ सुध्रिने नाम लिएका छैनन् ।

भानुचौक धरानको बसपार्क तथा बस बिसौनी मात्रै होइन । यो एउटा सभ्यताको मानक पनि हो । यात्रु पाहुना हुन् । उनीहरूप्रति हाम्रो नजर यात्रु मात्रैमा सीमित गर्नु हुन्न । एउटा यात्रुले जुन दुव्र्यवहार खेप्छ । त्यसबाट ऊ खिन्न हुन पुग्छ अर्थात् धरानको भानुचोकको बस बिसौनी चाहिँ यात्रु तान्ने र झोला तान्ने स्थानको परिचायक बन्न पुग्छ । के हामी समग्र धरान र धराने तथा यातायात व्यवसायीहरूले यही परिकल्पना गरेका हौँ । पक्कै पनि होइनौँ । धरान पूर्वको पहाडी क्षेत्रको नाका मात्रै होइन, धरान पर्यटकीय क्षेत्र पनि हो । यहाँ आउने पर्यटकहरू पनि यात्रु हुन् । उनीहरूलाई धरानको ऐना देखाइरहँदा हामीले कस्तो ऐना देखाइरहेका छौँ । के भानुचौक धरानको परिचायक होइन ? धरानको परिचयसँग भानुचौक कहीँ न कहीँ जोडिएको छ । यसैको सेरोफेरोमा घण्टाघर उभिएको छ । घण्टाघर धरानको गरिमा हो । जसरी घण्टाघर धरानको शान हो । त्यसरी नै भानुचौक पनि धरानको गरिमा हो । शान हो । यसको गरिमालाई अक्षुण राख्ने काम पनि हाम्रै हो । हामीले हाम्रो जिम्मेवारीलाई भुल्नु हुँदैन । त्यसकारण सबैभन्दा बढी जिम्मेवार यातायात व्यवसायी र त्यसमा कार्यरत मजदुरहरू हुनुपर्छ । किनकि यात्रु हाम्रा लागि भगवान् हुन् । यात्रुलाई यस्ता खालका दुव्र्यवहार गरिरहने हो भने धरानको गरिमामाथि आँच आउँछ ।

पक्कै पनि हामी सम्मुनत समाज चाहन्छौँ । सम्मुनत समाजका लागि हाम्रो सोच, विचार र दृष्टिकोण पनि सम्मुनत हुन आवश्यक छ । भानुचौक निर्माणमा पनि यातायात व्यवसायीकै अहम् भूमिका छ । यातायात व्यवसायीले भानुचौकलाई खडा नगरेको भए आज अवस्था के हुन्थ्यो होला ? यसतर्फ पनि यातायात व्यवसायीले गम्भीर भएर सोच्न आवश्यक छ । भानुचौकलाई शुद्ध र दुव्र्यवहाररहित बनाउन सबैभन्दा बढी भूमिका सवारी साधनमा काम गर्ने मजदुर र यातायात व्यवसायीको हुन्छ । उनीहरूले जसरी बेला बेला हुने गरेको सरोकारवालाको बैठकमा प्रतिबद्धता जनाउँछन् । त्यो प्रतिबद्धतालाई सदैव पालना गर्न जरुरी छ । प्रहरी प्रशासनको मात्रै जिम्मेवारी हो भन्ने सोचबाट ग्रसित हुनुहुँदैन । भानुचौकमा हुने गतिविधिको अन्त्य गर्न सबैले सभ्य नागरिकको परिचय दिनुपर्छ ।