मिति २०७९/०५/१६ गते वराहले व्यवसाय सञ्चालन गरेको अवस्थामा तोडफोड भएमा आफूहरू जिम्मेवार नहुने भन्ने आशयको वराह सहकारी पीडित सङ्घर्ष समितिको भनाइ उल्लेखित भएका समाचार बाहिरिए । पङ्क्तिकार लामो समयदेखि वराह बचत सहकारीको सान्निध्यता रहेको त्यसको इतिहास, त्यहाँको माहौल र वस्तुस्थिति सामान्यतया बुझेको र आफ्नो अचल सम्पत्ति बैङ्कमा धितो दृष्टिबन्धक राखी कर्जा निकालेको रकम वराहमा निक्षेप जम्मा गर्ने पीडितमध्ये एक भएको परिप्रेक्षमा सम्बद्ध र सरोकारवालाको हैसियतले मैले वराह सहकारी पीडित सङ्घर्ष समितिको कार्य क्रियाकलापलाई सकेसम्म नजिकैबाट नियालिरहेको हुँदा वर्तमान परिस्थितिमा वराहका सम्बन्धमा आफ्नो धारणा राख्नु बाञ्छनीय ठानेकाले आफ्नो विचार अभिव्यक्त गरी यो आलेख प्रस्तुत गरेको छु ।

भाडामा लिएको सामान्य पसलबाट सुरु भएको वराह ज्वेलरीले वर्तमान वराह ग्रुप अफ इण्डष्ट्रिजको रूपमा स्थापित हुँदासम्म धेरै आरोह–अवरोहहरू पार गरी यसको संस्थापक एवम् परिकल्पनाकार स्व. इन्द्रबहादुर लामिछाने (विश्वकर्मा)को सपनालाई साकार पारी सर्वसाधारण जनताको मन जिती सफलताको यो शिखरमा पुगेको भए तापनि व्यवसाय संस्थागत हुन नसकी निजको असामयिक निधनपछि सम्पत्ति भोगचलन गर्ने निजका उत्तराधिकारीहरूले बाबुको विरासतलाई स्वरूपमा स्थिर राख्न नसकेका र व्यक्तिगत मोजमज्जामा तल्लीन भएका कारण पुस्तान्तरणको पिँढीका सञ्चालकहरूको नीतिगत अकर्मण्यता, नेतृत्वको अक्षमता, पारिवारिक विसङ्गति र नवीन सोचको अभावमा विरासतमा प्राप्त भएको सर्वसाधारणको अति विश्वासबाट वराह बचत तथा सहकारी संस्थामा जम्मा भएको अथाह निक्षेप रकमलाई आफ्नो निजी सम्पत्तिजस्तो ठान्ने प्रवृत्तिले निजहरूमा आएको आर्थिक दम्भबाट निसृत भएर उक्त सम्पत्ति अपचलन गर्दै संस्थागत रूपमा आएको सम्पत्तिलाई स्वार्थ र निजीकरण गर्दै संस्थागत व्यवसाय सञ्चालनको सर्वमान्य मूल्य मान्यता र मर्म प्रतिकूल स्वार्थ र विलासिताको जुन पराकाष्ठा प्रदर्शित भए, गरिए हाल वराहको व्यवसाय क्षयीकरण हुँदै असामान्य परिस्थिति उत्पन्न भएर टाट पल्टिने अवस्थामा पुग्नुको वास्तविक मूल कारण त्यही हो ।

विश्वव्यापी कोरोना महामारी तथा हालको बैङ्किङ तरलता त्यसका सहायक कारण मात्र हुन् । आर्थिक स्वार्थ मानवीय कमजोरी भएकोले सरल रूपमा बढी मुनाफा दिने प्रलोभनतर्फ आकर्षित हुनु स्वभाविक हो । बैङ्कहरूले न्यून मात्रामा मात्र ब्याज दिइरहेको अवस्थामा संस्थालाई आधुनिकीकरण गर्दै सर्वसाधारण जनतालाई आफ्नो संस्थामा निक्षेप बचत गराउनका लागि व्यक्तिगत तवरमा विश्वासमा लिने र योजनाबद्ध सतही विज्ञापनसमेतबाट सर्वसाधारणलाई ललाई फकाई धेरै ब्याज र सुविधाको अनुचित प्रलोभनमा पारी स्वेच्छाले नै संस्थामा रकम जम्मा गर्ने गराउनेतर्फ उत्प्रेरित गर्न बैङ्कभन्दा आकर्षक रूपमा ५ गुणा बढीसम्म ब्याज अफर गरी निक्षेप सङ्कलन गरेको र साविकमा जम्मा भएको निक्षेपको सुविधाजनक तवरमा ब्याज भुक्तानी दिएको कारण निक्षेपकर्ताहरूको विश्वास जित्न सफल भएको हुँदा वराह बचत सहकारी संस्थाले आफ्नो अधिकार र कार्यक्षेत्र बाहिर गएर अनुमति नलिई बैङ्किङ कारोबार गरिरहेको तथ्यतर्फ कतिपय निक्षेपकर्ताहरूले जाना जान र कतिपयले अन्जानमा ब्याजको लोभबाट वशिभूत भएर कम ब्याज लाग्ने गरी घरजग्गा बैङ्कमा सुरक्षण दृष्टिबन्धक धितो राखी कर्जा निकालेको रकम तथा अन्य माध्यमको सञ्चित रकमसमेत वराह बचत सहकारीमा निक्षेप जम्मा गरेको र साविकमा आशा गरेअनुसार प्रफुल्ल भएर ब्याज, मुनाफा खाईपाई आएको पनि धरातलीय सच्चाइ हो ।

विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै ख्याती प्राप्त गर्नुको साथै व्यावसायिक क्षेत्रमा धरानको गहनाकै रूपमा स्वीकार गरिएको वराह ग्रप समूहको वर्तमान सञ्चालकहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरूप समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नति एवम् समुदायमा आधारित, सहकारी सेवा व्यवसायका माध्यमबाट सर्वसाधारण जनतालाई आत्मनिर्भर र आर्थिकरूपमा सबल बनाउने पवित्र उद्देश्यबाट राज्यले जनताको हितको लागि सहकारी कानूनको तर्जुमा गरेकोमा उक्त कानूनी व्यवस्थालाई सतहमा देखाई आवरणलाई चकाचौध पारी प्रचार–प्रसार गरेकोले वराह बचत तया सहकारीले प्रस्ताव गरेको उपरोक्त सहकारीको अवधारणालाई वराह बचत सहकारी संस्थाका सर्वसाधारण निक्षेपकर्ताले गरेको अन्धविश्वासको नाजायज फाइदा उठाउँदै सङ्कलित निक्षेपलाई संस्थाकै नीति, नियम र सहकारी नियमावली तथा सहकारीको नीति र मान्यता प्रतिकूल हुने गरी कानून निसिद्ध तवरमा सहकारी संस्थाको स्थापित मान्यता, सहकारी ऐन, नियम र संस्थाको नियमावली तथा प्रबन्ध पत्रको व्यवस्था विपरीत स्वेच्छारीरूपमा आफूहरूले निजी रूपमा सञ्चालन गरेको अन्य कम्पनीहरूमा गैरकानूनी रूपले लगानी गरेको देखाई निक्षेप पुँजी फिर्ता हुन नसक्नेगरी पलायन गराएको र बाँकी भएको पुँजीहरू पनि निजीजस्तो गरी अनुत्पादित क्षेत्रमा लगानी गरी अनुचित चरम् विलासितामा प्रयोग गरी संस्थागत रूपमै हिनामिना गरी संस्थाको सम्पूर्ण चल अचल सम्पत्तिबाट पनि सर्वसाधारणको निक्षेप फिर्ता हुन नसक्ने गरी संस्था नै टाट पल्टाई निक्षेपकर्ताहरूको निक्षेप रकम डुब्ने गरी सर्वसाधारणलाई भ्रममा राखी विश्वासघात गरेको अवस्था विद्यमान छ ।

वराह बचत सहकारी संस्थाले बचतकर्ताहरूको निक्षेप रकम पूर्णरूपमा फिर्ता गर्न नसकेको यथार्थता सतहमा आएपछि चुलिएको निक्षेपकर्ताहरूको आक्रोसित भीडको रोहमा बचतकर्ताहरूको बचत रकम फिर्ता गराउने पवित्र उद्देश्य लिई केही व्यक्तिहरूले नेतृत्व लिई गठन भएको वराह सहकारी पीडित सङ्घर्ष समितिलाई वराह पीडितको हैसियतबाट नैतिकरूपले सदैव मेरो समर्थन र सदाशयता रहिआएको भए तापनि सङ्घर्ष समितिले आफ्नो उद्देश्य पूरा गर्नको लागि गरेको कार्य क्रियाकलाप र प्रवृत्तिप्रति मेरो असन्तुष्टि र विमति रहिआएको छ । झन् उग्रता र विषयवस्तुलाई अनधिकाररूपमा उचाली विवादको निराकरण गर्ने अख्तियारी नभएको निकायमा न्याय खोज्ने, माग्ने नाममा भएको उच्छृङ्खल क्रियाकलापको विरोधीसमेत हुँ । वराह सहकारी संस्थाको सञ्चालकहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनु ठूलो कुरा होइन । निक्षेपकर्ताहरूको बचत रकम फिर्ता हुने कानूनी प्रत्याभूति हुनु आवश्यक र महत्वपूर्ण कुरा हो ।

हामी निक्षेपकर्ताहरूबाट सङ्कलित रकम वराह बचत सहकारी संस्थाका सञ्चालकहरूले हाम्रो मञ्जुरी र जानकारी विना स्वेच्छारीरूपमा आफूहरूले निजीरूपमा सञ्चालन गरेको अन्य कम्पनीहरूमा गैरकानूनी रूपले लगानी गरी विना इजाजत धेरै प्रकारका अवैधानिक बैङ्किङ कारोबार गर्नुका साथै हामी बचतकर्ताहरूको निक्षेप डुब्छ भन्ने जानीजानी आफ्नो स्वार्थअनुकूल निजी प्रयोजनमा प्रयोग गरी भविष्यमा निमुखा बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन नसक्ने अवस्थाको सिर्जना गराएको, निक्षेप फिर्ता गर्नेतर्फ प्रतिफलयुक्त प्रयास गर्नुपर्नेमा वराह बचत तथा ऋण सहकारी संस्था लि.धरानका जिम्मेवार व्यक्तिहरू संस्था छाडी हिँड्ने, भाग्ने गर्नुको साथै निक्षेप फिर्ता दिने नाममा विभिन्न खाले अतिरञ्जित नाटकीय क्रियाकलाप मात्र गरी हिँडिरहेको र वास्तविक पीडित निक्षेपकर्ताहरूसँग सम्पर्क र समन्वयमा समेत नरहेकोहुँदा सर्वसाधारण बचतकर्ताहरूले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगी बचतकर्ताहरू अलपत्र परेको अवस्था भएको हुँदा यसरी संस्थाको कारोबार गर्ने कानूनी दायित्व बोकेको संस्थाको जिम्मेवार प्रमुख पदाधिकारी रहेका व्यक्तिहरूले आफ्नो कानूनी कर्तव्य र दायित्वबाट विमुख भई जनतालाई विश्वासघात गरी आफूहरूलाई फाइदा पुर्याई बचतकर्ताले जम्मा गरेको रकम सहकारी सञ्चालकमा बेसरोकारका डमी मानिसहरू राखी वराह ग्रुपका मुख्य नाइकेले सहकारीको पुँजी अन्यत्र रकमान्तर गरी बेइमानी नियतबाट हानि नोक्सानी क्षति पु¥याई आपराधिक मनस्थितिबाट विश्वासघात गरेको हुँदा यसलाई सार्वजनिकरूपमा ठगी गरेको मान्नुपर्ने हुन्छ ।

जुन उद्देश्यका लागि सहकारी संस्था खोलियो, सोउद्देश्य अनुरूप मात्र कार्य गर्नुपर्ने हुन्छ । वराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूबाट लिएको रकम प्रतिफलका साथ फिर्ता दिने उद्देश्य र अनुबन्ध रहेकोमा सोअनुसार रकम फिर्ता गरिएको छैन भने फिर्ता हुनसक्ने सम्पत्तिको स्रोत देखाई विश्वास दिलाउन सकेको अवस्था पनि छैन । सहकारीमा जम्मा भएको सर्व–साधारणको निक्षेप रकमले संस्थाका पदाधिकारीहरूका नाममा संस्थाको कार्यक्षेत्र बाहिर गएर व्यक्तिगत नाममा घरजग्गा खरिद गरिएको छ भने धेरै सर्वसाधारणको जम्मा रकम फिर्ता नगरी संस्था घाटामा गयो भन्दै संस्था नै बन्द हुने अवस्थामा पु¥याइएको छ । यसरी प्रलोभन देखाएर सर्वसाधारणको रकम लिने र कबुल गरिएको शर्तअनुसार फिर्ता नगर्ने कार्यलाई सामान्य अर्थमा शुद्ध लेनदेनसम्बन्धी व्यवहार मान्न मिल्दैन ।

संस्थाको नाममा रकम जम्मा गर्न सकिने भए पनि जानाजानी योजनाबद्ध ढङ्गले अनेक व्यक्तिको रकम लिएर त्यसलाई संस्थाको उद्देश्य अनुरूप खर्च वा उपयोग नगरी संस्थाका पदाधिकारीहरूले नियतवश बचतकर्ताहरूलाई झुक्याई उच्च प्रतिफल दिने भन्ने लोभमा पारी रकम जम्मा गरेको हुँदा यस्तो कार्य न सहकारी ऐन अनुरूपको छ, न त शुद्ध व्यापारिक प्रकृतिको छ । संस्थाको एउटा उद्देश्य देखाई रकम सङ्कलन गरी उद्देश्य अनुरूपको काममा सङ्कलित रकम खर्च गर्नेतर्फ वा बचतकर्ताहरूलाई शर्तअनुसार प्रतिफल दिने कार्यतर्फ कुनै पदाधिकारीले पनि अग्रसरता देखाएको नपाइँदा संस्थाका मुख्य सञ्चालक संस्थाको नाममा ठगी गर्नेतर्फ लागेको स्पष्ट देखिएको छ ।

मुख्य सञ्चालकको नियत सफा नदेखिएको तथा सर्वसाधारणलाई झुटो प्रलोभन देखाई, झुक्याई रकम सङ्कलन गरेको र सङ्कलित रकम संस्थाको उद्देश्य अनुरूप खर्च नगरी व्यक्तिगत फाइदाका लागि दुरुपयोग गरेको देखिनुको साथै संस्थाको नाममा बचतकर्ताहरूलाई झुक्याई बचतकर्ताहरूको रकम र सोको प्रतिफलसमेत फिर्ता नगरी बदनियतपूर्वक कानून विपरीतको कार्य गरेकोले यस्तो कसुर ठगी अपराध हुने भनी सम्मानित सर्वोच्च अदालतबाट नजिर सिद्धान्तहरूसमेत प्रतिपादित भई अनुशरण भैरहेको हँुदा कानूनबमोजिम अधिकारप्राप्त साधिकार निकायमा रीतपूर्वक अपराधको सूचना जाहेरी परेमा वराह बचत सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीउपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–१ भित्रको नेपाल सरकार वादी फौजदारी मुद्दा चल्ने निश्चित भए पनि त्यसरी चलेको मुद्दाबाट यति धेरै सङ्ख्यामा रहेका बचतकर्ताहरूले वराह बचत सहकारी संस्थाको विकराल दायित्व छिनोफानो भै निक्षेप रकम फिर्ता पाउँछन् भन्ने कुराको आशा व्यावहारिक रूपमा शून्य छ ।

वराह सहकारी पीडित सङ्घर्ष समितिले वराह सम्बद्ध पदाधिकारीहरूसँग वार्ताको थालनी गरी यसलाई आन्दोलनकै रूपमा अघि बढाउँदा वराहको सम्पूर्ण व्यावसायिक कारोबार विगत लामो समयदेखि ठप्प भएर विद्युत्, पानी को बिल तिर्न नसक्नुको साथै हुँदा खाने श्रमिक वर्गका सुरक्षाकर्मी र सामान्य कर्मचारीहरूसमेतले कुनै पारिश्रमिक नपाएको र वराहले आफ्नो अचल सम्पत्ति बैङ्कमा धितो सुरक्षण दृष्टिबन्धक राखी लिएको कर्जाको ब्याज नबुझाएकोहुँदा हालसम्म कम्तिमा रु. १२,००,००,०००।–भन्दा बढीको बाँकी बक्यौता रही दायित्व बुझाउनु पर्ने भै सो नबुझाएको कारण बैङ्कहरूले सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको र वराहको सञ्चालकहरू वराह सहकारी पीडित सङ्घर्ष समितिले व्यवसाय सञ्चालन गर्न नदिएको कारण यस्तो अवस्थाको सिर्जना भएको भनी पन्छिने गरेका छन् ।

मूलतः विडम्बना के भने वराहका सञ्चालकहरू उपर ठगीमा कारबाही भए पनि वा संस्थाको सम्पत्ति बैङ्कहरूले प्रक्रिया पुर्याई लिलाम गरी आफ्नो कर्जा असुल गरे पनि निक्षेप फिर्ता नहुने र मारमा पर्ने भनेको हामी बचतकर्ताहरू नै हौं । यसर्थ यथास्थितिको कारण वराह सञ्चालनमा आउन नसकी धरासायी भएमा र बचतकर्ताहरूको निक्षेप डुबेमा त्यसको अपजस निश्चितरूपमा वराह सहकारी पीडित सङ्घर्ष समितिलाई पनि आउने नै हुन्छ । तसर्थ वराहको व्यवसाय सञ्चालनमा रोक लगाएर, अवरोध पुर्याएर, वातावरण बिगारेर द्वेष राखेर परस्परमा विरोधाभाषपूर्ण प्रेस विज्ञप्ति जारी गरागर गरेर समस्याको समाधान हुन सक्दैन र हँुदैन ।

लोकतन्त्र कानूनी शासनमा आधारित शासन व्यवस्था हो । कानूनी राज्यमा संविधानको सर्वाेच्चता, मानव अधिकारको प्रत्याभूति, सुशासनको सुनिश्चितता, न्यायमा आधारित कानून प्रणाली, विवेकमा आधारित निर्णयजस्ता कानूनी सभ्यताका आधारभूत मान्यताहरूलाई अवलम्बन गरिन्छ । विधिको शासन खल्बलिएमा समाज अराजक बन्न पुग्दछ । जसको परिणाम सभ्य र समुन्नत राज्यको निर्माण हुन सक्दैन । कानून र न्यायका मान्य सिद्धान्त बमोजिम शासन सञ्चालन गर्नु आधुनिक संवैधानिक लोकतन्त्रको आधारभूत मान्यता हो । कानूनी शासनले स्वेच्छाचारिता र निरङ्कुशतालाई स्वीकार गर्दैन ।

कानूनी शासनको सिद्धान्तले विवेक र तर्कमा आधारित कानून निर्माण गरी राज्य व्यवस्था सञ्चालन गर्न निर्दिष्ट गर्दछ । प्रस्तुत सन्दर्भमा वराह सहकारी पीडित सङ्घर्ष समितिको कानूनी वैधता के हो ? वराह सहकारीमा अन्दाजी १४ हजार जना निक्षेपकर्ता रहेका हुँदा ती सबैको प्रतिनिधित्व सङ्घर्ष समितिले गर्न सक्छ ? सक्ने भए त्यसको वैधानिक आधार के हो ? वराह सहकारी पीडित सङ्घर्ष समितिको पहलमा राज्यको अनुसन्धान गर्ने अधिकारप्राप्त निकायले प्रस्तुत सन्दर्भलाई फौजदारी आपराधिक कृत्यमा मुद्दा दर्ता गरी वराहको सम्पत्ति रोक्का राखी अभियोजन गरेमा त्यस्तो सम्पत्ति फुकुवा गराउने वा बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो कर्जा असुल गर्न सम्पत्ति लिलाम गरी सकार गरेमा वा वराहले आर्थिक दायित्व बहन गर्ने क्रममा जारी गरेको चेक वा लिखतमा परेको दुनियाँ वादी हुने मुद्दाको बिगो असुल गर्नबाट रोक्ने वा त्यस्तोमा वराहको सम्पत्ति संरक्षण गर्ने सामथ्र्य सङ्घर्ष समितिको छ ? राष्ट्रिय अर्थ व्यवस्था नै विचलनमा परेको बेला प्रायः सबै सहकारीहरू सङ्कटग्रस्त देखिएको हँुदा नेपालको हालको कम्पनीहरूको आर्थिक अवस्था के छ ? भन्ने नबुझी कानूनी मापदण्डको परिपालना नगरी वराह सहकारी पीडित सङ्घर्ष समितिले चलाएको अभियानले सार्थकता पाउन सक्छ ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूको जवाफ आउन सक्ने अवस्था छैन ।

वराह ग्रुपका सबै कर्मचारी दोषी छैनन् । व्यक्तिको गोपनीयता अतिक्रमण हुन नदिने व्यवस्था गरी मर्यादित जीवनस्तर प्रवद्र्धन गर्नको लागि बनेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को दफा १० मा कुनै पनि व्यक्तिलाई निजको सम्पत्तिको विवरण गोप्य राख्न पाउने अधिकार हुनेछ भन्ने र ऐ.को दफा २१ मा कानूनबमोजिम वा मञ्जुरी नलिई वैयक्तिक सूचना सङ्कलन गर्न नहुने तथा त्यस्तो गरेमा पीडितले ऐ.को दफा २९ बमोजिम क्षतिपूर्ति दाबी गर्न पाउने कानूनी व्यवस्था रहेको परिप्रेक्षमा कुनै पनि अनुसन्धान तहकिकात विना दोषी निक्र्यौल नगरी हचुवाको भरमा सार्वजनिक रूपमा कर्मचारीहरूसमेतको सम्पत्ति विवरण माग गर्ने र प्रपोगण्डाकै रूपमा सम्बन्धित व्यक्तिको तेजोबध हुने गरी सम्पत्ति रोक्काको माग गर्ने कार्यले वैधानिक स्वरूप ग्रहण गर्न सक्दैन ।

प्रस्तुत विवादको निराकरण स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ (२) को प्रयोजनमा उपमहानगरपालिकाले मेलमिलापको माध्यमबाट मात्र समाधान गर्न सक्छ, आफैले कारबाही गरी निकास दिन सक्दैन । कुनै पनि कारणबाट वराह ग्रुप अफ कम्पनी प्रा.लि.को मौज्दात सम्पत्ति समाप्त भएपछि निक्षेपकर्ताहरूको बचत रकम फिर्ता हुन नसक्ने भएकोले वराह सहकारी सञ्चालक पक्ष र पीडित निक्षेप बचतकर्ताहरूको सौहाद्र्रपूर्ण समन्वय, सहकार्य र निष्ठा तथा इमान्दारीबाट मात्र निकास निस्कने कुरामा विवाद गर्नु हुँदैन, पर्दैन । किनकि अन्य कुनै कारगर उपाय छ जस्तो मलाई लाग्दैन ।

वराहको व्यवसाय सञ्चालन गर्नु त्यसको व्यवस्थापकहरूको भन्दा पनि हामी निक्षेपकर्ताहरूको लागि अति आवश्यक रहेको छ, त्यसको लागि हामीले नै सुरक्षाको साथै सहज वातावरणको निर्माण गर्नु पर्छ । धरान उपमहानगरपालिकाको प्रतिनिधित्वमा हामी बचतकर्ताहरूबाट तोकिएका व्यक्तिहरूको समूहले अनुगमन गर्ने गरी एउटा वैधानिक समिति गठन गर्नुपर्छ र सोही समितिको रेखदेखमा वराहको सबै व्यवसायलाई नियन्त्रित र व्यापकरूपमा सञ्चालनमा ल्याई आएको मुनाफाले बैङ्कको ब्याज र प्रशासकीय खर्च व्यवस्थापन गरी पहिलो चरणमा वराहको अचल सम्पत्तिको संरक्षण गर्नु पर्छ ।

सोपछि चरणबद्ध रूपमा वराह ग्रुपको सम्पूर्ण अचल सम्पत्तिको फेहरिस्त निकाली बचतकर्ताहरूकै सो सम्बन्धी विज्ञसमूहबाट त्यसको वास्तविक न्यूनतम् बिक्री मुल्याङ्कन कायम गरी त्यसलाई बिक्रीमा राख्ने र धितो रहेको सम्बन्धित बैङ्कको परामर्शअनुसार सम्पत्ति बिक्री भएमा बैङ्कको कर्जा दायित्व बहन गरी बचेको रकम उपमहानगरपालिकाको संयोजकत्वमा खोलिएको निश्चित करार सम्झौता गरिएको बचत खातामा जम्मा गर्दै जाने र वराहको सम्पत्ति बिक्री गर्ने क्रममा व्यवसाय सञ्चालनमा रहेको घरजग्गा बिक्री भएमा खरिद गर्नेलाई विश्वासमा लिई उपरोक्त स्थानको बहाल बुझाई व्यवसाय सञ्चालनमा नै राख्ने वातावरण मिलाउनुको साथै वराहका सञ्चालकहरूले लुकाएको सम्पत्ति खोज्ने, वराह सहकारीबाट लगानी गरिएको कर्जाका ऋणीहरू जो वराह डुबेमा ऋण तिर्न नपर्ने मानसिकताबाट ग्रसित भएर वराह डुबाउनेतर्फ क्रियाशील रहेका छन्, तिनीहरूको सम्पूर्ण अभिलेख उतार गरी ऋण असुली गर्न बचतकर्ताकै समूहबाट एउटा सक्षम टोली बनाई क्रियाशील गराउने र वराह सहकारी पीडित सङ्घर्ष समितिको आडमा वराह सञ्चालकहरूसँग आर्थिक फाइदा उठाउनेहरू तथा नियोजितरूपमा निक्षेपकर्ताहरूको लगानी डुबाउने परिस्थितिको निर्माण गर्न लागेका व्यक्तिहरूको समेत पहिचान गरी त्यस्तो रकम फिर्ता गराउन र निजहरूलाई पनि कानूनी दायरामा ल्याई वराहको सम्पूर्ण चलअचल सम्पत्तिको नगदीकरण भैसकेपछि अभिलेखमा भएको तथा प्रमाण पुगेका सम्पूर्ण निक्षेपकर्ताहरूको विवरण लिई सार्वजनिक गरी वराहको सम्पत्ति बिक्री गरी आएको कुल सम्पत्तिलाई निक्षेपकर्ताहरूको लगानी बचतको आधारमा प्रतिशत कायम गरी मेलमिलापको माध्यमबाट नगरपालिकाको न्यायिक समितिले दामासाही लगाई बचतकर्ताको निक्षेप फिर्ता गर्ने कार्य गरेमा मात्र त्यसले वैधानिकता प्राप्त गरी साकार रूप लिन सक्ने देखिन्छ । त्यसको लागि हामीले धैर्यताको साथ बोधगम्य रूपमा सामूहिक विवेक प्रयोग गरी कार्य क्रियाकलाप गर्नुपर्ने हुन्छ ।

अन्यथा न्याउरी मारी पछुतो भन्ने लोकोत्ति चरितार्थ हुने र वराह सहकारी पीडित सङ्घर्ष समिति वा यस्तै अन्य कुनै आन्दोलन वा समितिको नाममा द्वैध चरित्रका साथ असान्दर्भिक क्रियाकलाप जारी राखी व्यवसाय सञ्चालन गर्न नपाएको कारण वराह ग्रुप एण्ड कम्पनी टाट पल्टेमा वा संस्थाको सम्पूर्ण सम्पत्ति समाप्त भएमा १४ हजार जना निक्षेप बचतकर्ताहरूको रकम डुब्न गएमा त्यसको जवाफदेहिता र उत्तरदायित्व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वराहलाई व्यवसाय सञ्चालन गर्न नदिने, अवरोध पु¥याउनेहरूले नै लिनुपर्छ । बेलामै चेतना भएमा राम्रो  ।