कुनै समय धरानको विकासका एजेन्डाहरू लिएर आन्दोलनमा उत्रिने हर्कराज राई (हर्क साम्पाङ) धरान उपमहानगरपालिकाको नगरप्रमुखका रूपमा कुर्सीमा बसेको सय दिन पूरा भइसकेको छ । यो अवधिमा उनले मुख्यगरी वृक्षरोपण गर्ने र खानेपानीको स्रोत बढाउने कार्यमा समय खर्चिएका छन् । यी काम वातावरणीय र मानवीय आवश्यकताका हिसाबले राम्रा पनि हुन् । तर, यस्ता कार्यलाई दीर्घकालीन बनाउन नीतिगत रूपमा अघि बढ्नु आवश्यक छ । साम्पाङ अब पहिलाजस्तो अभियन्ता होइनन्, नगरका अभिभावक हुन् । त्यस हिसाबले पनि उनले ल्याएका हरेक योजनाहरू व्यक्तिगत होइन, आम धरानवासीका योजना हुन् । यस्ता योजनालाई नीतिगत निर्णय गरेर र ऐन कानून अध्ययन गरेर अघि बढाउँदा दीर्घकालीन रूपमा धरानको विकास हुनसक्छ । यद्यपि हाल नगर प्रमुखले अघि बढाएका यस्ता योजनाहरू नीतिगत रूपमा र योजनाबद्धरूपमा देखिँंदैनन् । यसले भविष्यमा उनलाई र धरानको विकास कार्यलाई नै नकारात्मक असर पर्न सक्ने देखिन्छ । नगरप्रमुखले गरेका हरेक गतिविधिप्रति आम नागरिकको चासो रहनु स्वभाविक हो । त्यस अर्थमा विभिन्न आलोचना, समर्थन आउनु पनि उत्तिकै स्वभाविक हो । अहिले पनि उनले गरिरहेका कामहरूमा समर्थन जनाउने र आलोचना गर्नेहरूको सङ्ख्या लगभग उस्तैउस्तै देखिन्छ ।

नगरका प्रमुखले आफूमा भएको विकासका नयाँ ‘आइडिया’ ऐन कानूनअनुसार कार्यपालिकामा अनुमोदन गराएर अघि बढाउनु आवश्यक हुन्छ । कार्यपालिकाले पास गरेका योजना समग्र नगरवासीको योजनाका रूपमा अघि बढ्छन् । अनि त्यो कानूनीरूपमा पनि नगरको सम्पत्ति बन्छ । तर, कानूनको पालना नगरी अघि बढ्ने हो भने जति परिश्रम, जति मेहनत गरे पनि त्यो दीर्घकालीन बन्न सक्दैन । नगरप्रमुख साम्पाङले खानेपानी आयोजनाका लागि गरिरहेको मेहनत र आम नागरिकले गरिरहेको श्रमदानको उचित मूल्याङ्कन त्यतिबेला हुनसक्छ, जतिबेला कार्यपालिकाबाट पास गरेर र स्थानीय सरकार सञ्चालन ऐन, खानेपानी व्यवस्थापन बोर्ड ऐनको व्यवस्था पालना गरेर काम अघि बढ्छ । अहिले भइरहेको काममा यी ऐनहरूको पालना भएको पाइँंदैन । कुनै पनि आयोजना सुरु गर्दा त्यसको वातावरणीय प्रभाव र दीर्घकालीन हुन्छ कि हुँदैन भन्ने बुझ्नु जरुरी हुन्छ । नगरप्रमुखले त्यसतर्फ ध्यान दिएको पाइँंदैन । अर्कातिर यसरी भइरहेका कामलाई पारदर्शी बनाउनु आवश्यक छ । किनभने उनीमाथि आर्थिक पारदर्शिताका प्रश्न उठ्न थालिसकेका छन् । नगरप्रमुखका काममाथि आम नागरिकले प्रश्न उठाउनु स्वभाविक हो, त्यसलाई गलत रूपमा बुझ्नु हुँदैन तर, नगरप्रमुखले प्रश्न उठ्ने अवस्था कसरी बन्यो भन्नेतर्फ ध्यान दिनु जरुरी छ ।

स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेका साम्पाङलाई उनले विगतमा उठाएका धरानको विकासका मुद्धाहरूका कारण अनि अन्य राजनीतिक दलहरूका खराब उम्मेदवारका कारण पनि मत दिएर जिताए । राजनीतिक दलहरूका स्थानीय नेता, कार्यकर्ता र धरान उपमहानगरपालिकाका कर्मचारीबाट आजित नगरवासीले साम्पाङको जितसँगै धेरै आशा पनि गरेका छन् । उनीबाट विगतको अवस्था सुधार हुने र आगामी दिनका लागि धरानले विकासमा फड्को मार्ने आशा पक्कै गरेका छन् । आम नागरिकका यस्ता आशा पूरा गर्न उनी ऐन कानूनमा टेकेर अघि बढ्नु जरुरी छ, ता कि उनका काममाथि कसैले प्रश्न उठाउन नसकुन् । तर, अहिले जसरी उनी ऐन कानूनको बेवास्ता गर्दै अघि बढिरहने अनि कसैले आलोचना गरेमा उनी र उनका समर्थकले तथानाम गालीगलौज गर्ने प्रवृत्तिले उनलाई सही बाटोमा लैजाँदैन । नियम कानून सबैलाई लागू हुनुपर्छ भन्ने मान्यता राख्ने उनी आफू पनि नियम कानून अनुरूप अघि बढ्नु जरुरी छ । अहिले गरिरहेकै कामलाई नीतिगत रूपमा पास गरेर अघि बढ्दा कसैलाई बेफाइदा छैन, सबैलाई फाइदै हुन्छ । त्यसैले कानूनको पालना गर्नु नगरप्रमुख वा कुनै पनि नागरिकको कर्तव्य हो ।