सङ्खुवासभा । खाँदबारीमा सञ्चालित बाल हेल्पलाइन नम्बर दश नौ आठ (१०९८) को प्रयोगकर्ता बढ्दै गएका छन् । २०७८÷०७९ को तथ्याङ्कलाई हेर्ने हो भने हेल्पलाइनमा एक सय १४ फोनकल प्राप्त भएको छ ।
सङ्खुवासभा बाल हेल्पलाइन प्रमुख सुजन अधिकारीका अनुसार एक सय १४ मध्ये नौ ओटा कल बालबालिकाको रहेको छ । यस्तै बालबालिकाको घटनासम्बन्धी ४६ ओटा फोनकल प्राप्त भएको छ ।
सङ्खुवासभाले सङ्खुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम जिल्लाका लागि हेल्पलाइन सञ्चालन गरिरहेको छ । जिल्लागत तथ्याङ्कलाई हेर्दा सङ्खुवासभाबाट ४६, भोजपुरबाट १३, तेह्रथुमबाट १ र धनकुटाबाट ९ फोनकल आएको प्रमुख अधिकारीले बताए ।
तर, यसको बढ्दो प्रयोगसँगै समस्याहरूसमेत थपिँदै गएको उनको भनाइ छ । हेल्पलाइन नम्बर निःशुल्क भएपछि मिसकल गर्ने र अनावश्यक फोन गर्ने प्रवृत्तिका कारण मानिसहरूमा बुझाइको कमी भएकाले यस्तो नगर्न उनले अनुरोध गरेका छन् ।
शुक्रबार खाँदबारीमा आयोजित अनलाइन बाल यौन दुव्र्यवहार तथा रोकथामसम्बन्धी जिल्लास्तरीय कार्यशालामा अधिकारीले यस्तो बताएका हुन् ।
जोखिममा परेका बालबालिकाको आपतकालीन उद्धार, राहत, संरक्षण र परामर्शका लागि नेपालमा विगत २१ वर्षदेखि बाल हेल्पलाइन सञ्चालनमा रहेको छ ।
हिंसा र जोखिममा परेका बालबालिकाको नाम र ठेगाना गोप्य राखिने भएकाले त्यस्तो भइरहेको थाहा पाउने बित्तिकै जो कोहीले पनि १०९८ मा फोन गरेर जानकारी गराउन सकिने छ । उक्त नम्बरमा फोन गर्दा पैसा नलाग्ने र २४ घण्टा सञ्चालनमा रहिआएको छ ।