फेरि एकपटक राजनीतिक दललाई नाटक मञ्चनका लागि मङ्सिर ४ को मञ्च खडा गरिएको छ । यस मञ्चमा पुरानै अनुहारहरूको हालीमुहाली हुने सम्भावना मात्रै छैन, कतिपय क्षेत्रमा त त्यही अनुहार नै सिफारिसमा परेका छन् । अझ उमेरको हदबन्दी नलाग्ने कारण खेलाडीहरू खेल देखाउनका लागि तयार हुँदैछन् । २००७ सालयता सुरु भएको नाटक मञ्चनको अन्त्यहीन शृङ्खला चलिरहेको छ । यो अझै कति वर्षसम्म चल्ने हो । एउटा प्रजातान्त्रिक देशमा आवधिक निर्वाचनको महŒव यति धेरै छ कि यो अपरिहार्य नै हो । तर, आवधिक निर्वाचनको फाइदा जनताले हैन, नेताले लुट्ने गरेका छन् । यो लुट्ने शृङ्खलाको अन्त्य चाहिँ हुन सकेको छैन । क्रमिक रूपमा विभिन्न दलका नाममा लुटिँदै आएको छ । कुनै बेला काङ्ग्रेसले लुट्यो र कुनै बेला एमालेले । कुनै बेला माओवादी र कुनै बेला पञ्चायतका नाममा लुटियो । प्रजातन्त्र प्राप्त गरेयता कयौँ पटक नेपाली जनता लुटिँदै आएका छन् । नेताहरू दिन दुईगुणा र रात चौगुणा फाइदामा छन् । तर, जनता हरेक पटक फेल हुँदै आएका छन् । यसले पो व्यवस्था ल्याउँछ कि उसले पो व्यवस्था ल्याउँछ कि भने विश्वासमा जनता हरेक पटक ठगिँदै आएका छन् । ठगहरू भने हरेक पटक ठग्ने शैलीमा परिवर्तन गर्दै आएका छन् । यसपटक अर्थात् मङ्सिर ४ मा फेरि के नाममा ठग्ने हुन्, त्यो हेर्न बाँकी छ ।

राजनीति देशको मूल नीति हो । देश सञ्चालनको खम्बा हो । तर, राजनीतिमा आएका पात्रहरूको प्रवृत्ति चाहिँ व्यक्तिवादी, हैकमवादी र नोकरशाही खालको छ । लोभ, मोह, नातावाद, कृपावादको भूमरीका कारण जनतामा राजनीतिप्रति विश्वास गुम्दै गएको छ । आज यस्तो अवस्था आइसकेको छ कि राजनीतिमा कुनै युवा आउन चाहँदैन । राजनीतिप्रति उसको लगाव छैन । राजनीतिमा देखिएका पात्रहरूका कारण दलीय व्यवस्था नै बेठीक छ भन्ने तर्कहरू सुरु भएका छन् । राजनीति नै खराब हो, लोकतन्त्र तथा प्रजातन्त्र नै खराब हो, बेठीक हो भन्ने तर्क सुरु भएका छन् । जनतामा उब्जिएको यो सोचको अन्त्य कहिले हुने हो प्रश्न गम्भीर छ । अहिले हरेक जनताले दलीय व्यवस्थाका कारण देश थिलथिलो भयो । श्रीलङ्का उन्मुख भयो भन्ने तर्कहरू गर्न थालेका छन् । नैतिकताको खडेरी देखिएको छ । आज गठबन्धन सरकार अर्थात् शेरबहादुर देउवाको सरकार चुनावी सरकारमा परिणत भइसकेको छ । तर, अहिले पनि प्रतिनिधिसभालाई ज्युँदो राखेर तलब, भत्ता पचाउने र त्यही तलब भत्ताले चुनाव जितौंला भन्ने ध्याउन्नमा छन् । इमान्दारिताको खडेरी परेको छ । सुशासन, दण्डहीनता तथा जवाफदेहिताको प्रश्न खोइ ? आज हरेक जनताले सोध्नुपर्ने अवस्था सिर्जना भएको छ । जो जवाफदेहिताको स्थानमा छ । आज उसैले दण्डहीनतालाई प्रश्रय दिएका छन् । हामी कहाँ छौँ ? कुन संस्कारबाट हुर्किएका हौँ ? पूर्वीय चिन्तनको मान्यता के हो ? यस्ता आम प्रश्नहरू हरेक जनताको मन मनबाट उठ्न थालेको छ । त्यही कारण नै आज जनताले ‘नो भोट’ भन्ने अवस्था आएको छ । मतपत्रमा नो भोटको व्यवस्था नहुँदा जनताले स्वतन्त्रका नाममा उठेका उम्मेदवारलाई भोट दिइरहेको अवस्था छ ।

यो अवस्था कसरी सिर्जना भयो ? यो प्रश्नको जवाफ अब ७ दशकसम्म हालीमुहाली गर्ने विभिन्न राजनीतिक दलहरू र तिनका नेता तथा मन्त्रीहरूले दिनुपर्छ । अक्षम नेता तथा मन्त्रीलाई फेरि पनि भोट किन दिने ? प्रदेश १ को कुरा गर्ने हो भने प्रदेश १ को नाम दिन नसक्ने तीन–तीनवटा सरकारहरू र त्यसमा बसेका मन्त्री तथा तिनका दलहरूलाई अब किन जिताउने ? प्रश्न गम्भीर छ । अब यसको जवाफ मङ्सिर ४ गतेको निर्वाचनमा जनताले दिनुपर्छ । जनताको शक्ति कति हुन्छ भन्ने सामथ्र्य देखाउन आवश्यक भइसकेको छ । ती नेताहरू जसले प्रदेश १ को नाम दिन सकेनन् । तिनीहरूको ‘सूची’ तयार पारेर बस्न आवश्यक छ । जनतामाथि जुन हिसाबले खेलवाड भइरहेको छ, त्यसको जवाफ नदिने हो भने समस्या नेतामा हैन, समस्या जनतामा छ भनेर सहजै बुझ्न सकिन्छ । आज शक्तिमा पुगेका ठूला दल तथा तिनका नेताहरूलाई जवाफ दिने जुन मञ्च खडा गरिएको छ । त्यहाँ जनता दर्शक बनेर होइन, पात्र बनेर उभिन आवश्यक छ । अब पात्र कति गतिशील छ भन्ने स्वाद चखाउन आवश्यक छ । त्यो मञ्चमा जनता ठग्ने पात्रलाई दर्शक बनाउने खेल मञ्चन गर्न अब कोही पनि चुक्नु हुँदैन ।