धरान । बागमती प्रदेशअन्तर्गत हेटौंडाको एजी फुड प्रोडक्ट्स प्रालिबाट उत्पादित खाद्य सामग्री म्याद गुज्रिएपछि धरानको आधिकारिक विक्रेता बिएस फुड एन्ड सप्लायर्सले स्थानीय सरकारलाई बोलाई नष्ट गरेको छ ।
कम्पनीले नै एक वर्षअगावै म्याद गुज्रिएको सामग्री पठाई कम्पनी बन्द गरी फरार रहेकाले धरानस्थित थोक बिक्रेता हैरान भई स्थानीय सरकारमार्फत् नष्ट गराएको हो । धरान–९ स्थित सप्लायर्सका सञ्चालक विकास प्रधानका अनुसार कम्पनीले पहिलो पटक पठाएको सामग्रीमा समस्या आएपछि फेरि अर्को पटक पनि पठाएको तर, त्यसमा पनि समस्या आएपछि भण्डारण गरी राखिएको थियो ।
उनले भने, ‘हामीले ल्यायौं, बजारमा बेचियो, दोकानबाट कम्प्लेन आएपछि सबै दोकानबाट उठाइयो, कम्पनीले अर्को लट पठाइदिन्छु भन्यो । अर्को लटमा पनि सेम समस्या आयो ।’
कम्पनीले आजभोलि भन्दै हाल सम्पर्क बाहिर रहेको र मान्छे पठाई बुझ्दा उद्योगमै ताला लगाएर कम्पनी सञ्चालक फरार रहेको उनले बताए ।
त्यसयता लामो समय भण्डारण गरिराखेका कारणले वडामार्फत् धरान उपमहानगरपालिकालाई नष्ट गर्नका लागि जानकारी गराएको उनले बताए । उनका अनुसार ३ लाख रुपैयाँ उक्त सामानका लागि रकम जम्मा गरिएको थियो ।
उक्त रकम फिर्ता नभएको उनले बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको नेतृत्वमा नगर प्रहरी, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको रोहवरमा १५ सय कार्टुन चिज बल्स बरामद गरी नष्ट गर्ने कार्य जारी रहेको बजार व्यवस्थापक अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
‘सप्लायर्स आफैले जानकारी गरायो, आन्तरिक राजस्व, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी र नगर प्रहरीले सामान बरामद गरी नष्ट गरिएको छ’ –उनले भने । उनका अनुसार धरान–६ पानबारीस्थित वेस्ट भेन्चर इनर्जी सेन्टरमा नष्ट गरिएको हो ।