पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो रहेको औंल्याएका छन् ।
शिक्षा क्षेत्रलाई प्रविधिमैत्री र व्यावसायिक बनाउन नसक्दा बेरोजगार उत्पादन गर्ने केन्द्र र कारखानाजस्तो भएको बताउँदै सुधारको खाँचो रहेको बताएका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित यासोक क्याम्पसको १६ औं स्थापना दिवसमा नवनिर्मित भवन उद्घाटन एवम् शिलालेख अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले क्याम्पसका शैक्षिक क्षेत्रको लगानीमा प्राथमिकता दिँदै आएको छ । तर, शिक्षाक्षेत्रको भौतिक संरचनामा ठूलो लगानी गर्दा पनि समयानुकूल शैक्षिक गुणस्तरमा सुधार नगरेकै कारण लगानी खेर जाने परिस्थितिको सिर्जना भएको धारणा राखे । नवनिर्मित दुई तले भवनमा १६ कोठा रहेका छन् ।
२ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको भवन निर्माणमा सङ्घीय सरकार र गाउँपालिकाको साझेदारी रकम साथै विश्व विद्यालय अनुदान आयोगको २ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
भवन निर्माणको लागि स्व. मनबहादुर लावतीले ८ रोपनी तथा मेघराज निरौला र विपिन निरौलाले ४ रोपनी ४ आना तीन दाम गरी १२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । उद्घाटन कार्यक्रममा जग्गादाता, सहयोगदाता, क्याम्पसका संस्थापक सदस्य, सल्लाहकार र शिक्षकलाई सम्मान गरिएको थियो ।
क्याम्पसबाट सर्वोत्कृष्ट अङ्क ल्याउने ५ जना विद्यार्थीलाई पनि सम्मान गरिएको सञ्चालक समितिका उपाध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।