धरान । आफूलाई माता हुँ भनी अरूलाई बोक्सीको आरोप लगाउने सुनसरी इटहरीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–४ की ४० वर्षीया लक्ष्मी रानामगरलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । आफू माता रहेको भन्दै गाउँघरका अन्य महिलालाई बोक्सीको आरोप लगाउँदै आएको स्थानीयले उजुरी दिएको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मगरलाई आइतबार पक्राउ गरिएको हो । परिवारका सदस्य बाहिरिएका बेला उक्त परिवारका अन्य सदस्यलाई बाहिर गएको सदस्य बोक्सी हो, बोक्सी नझारे मृत्यु पनि हुनसक्छ भन्दै डर देखाउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बोक्सी झारेबापत सुन तथा पैसा लिने गरेको प्रहरीले जनाएको छ । स्थानीय पीडितहरूले उजुरी दिएपछि मगरलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।