इटहरी । सुनसरीको इटहरीमा बुधबारबाट ईक्यान पूर्वाञ्चल शैक्षिक मेल सुरु भएको छ । मेला सुनसरी र मोरङका विभिन्न स्थानमा लाग्दै छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरे । भोलि (बिहीबार) धरानको सिद्धि नेवाः परिषद्मा मेला हुने आयोजकले जनाएको छ । त्यस्तै शुक्रबार मोरङको विराटनगरमा हुँदै छ ।
मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले आम रूपमा राज्यबाट शिक्षामा लगानी नभएको भन्ने गुनासाको आधार नभएको बताए । उनले शिक्षा क्षेत्रमा राज्यले ठुलै लगानी गरेको तर्क गरे ।
ईक्यान मेला विद्यार्थी लक्षित हो । विद्यार्थीको शैक्षिक गुणस्तरलाई थप सहयोग गर्ने लक्ष्य आयोजकको छ । ईक्यान केन्द्रका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले विदेश जान चाहने विद्यार्थीहरूले एउटै मात्र कन्सल्टेन्सीमा भर नपरी सबैतिर बुझेर मात्रै काम गर्न आग्रह गरे । एउटै मात्र कन्सल्टेन्सीको भर पर्दा कहिलेकाहीँ वास्तविक सूचना नआउन सक्ने भएकाले फरक फरक कन्सल्टेन्सीसँग सहकार्य गरेर अगाडि बढ्दा राम्रो हुने उनले बताए ।
ईक्यानका पूर्वाञ्चल सल्लाहकार कमलप्रसाद तिम्सिनाले गुणस्तरीय शैक्षिक परामर्श दिनु मेलाको उद्देश्य रहेको बताए । ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीले विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको बताए । ई–क्यानले गरेको यो तेस्रो मेला हो ।