बत्ती नै बत्तीको सहर कसलाई राम्रो लाग्दैन र ? आफ्नो घरभरि ठूलाठूला बत्ती बालेर घर उज्यालो बनाएर बसौं भन्ने रहर कसलाई हुन्न र ? आफ्नो घरको वरिपरि झिलिमिली बत्ती बलोस्, सकभर घरैपिच्छे भेपर लाइट होस्, त्यो कसलाई मन पर्दैन ? जो कोहीलाई नै मनपर्ने कुरा हो त्यो त । देशको अर्थतन्त्र विस्तार गर्न, रोजगारीलाई न्यूनीकरण गर्न, देशलाई सुख–समृद्धि, प्रगति गर्न ऊर्जाक्षेत्रले नै सघाउँछ भन्ने कुरा जनविश्वासमा रहिआएको छ । यसको दायित्व नै सरकार हो । आयोगले पनि जसरी हुन्छ, कम मूल्यमा आपूर्ति गर्नसके सबैले हरेक चिज बिजुलीबाट बनेको साधन नै उपयोग गर्छन् होला । जस्तो कि मेट्रो गाडी छ, टेम्पोहरू छन्, हरेक चिज चार्जेबल र सब बिजुली आएको खण्डमा चलाउन पाए कति राम्रो हुन्छ होला ।
जलस्रोतमा हाम्रो देश नेपाल संसारको दोस्रो धनी देश हो । यो कुरा त सबैलाई थाहा भएकै हुनसक्छ । जलस्रोतमा दोस्रो धनी देश त हो तर, बिजुली बत्ती जताततै पु¥याउन सकिरहेको छैन । यो हाम्रो सरकारको नीति नियम कमजोर हो । यसलाई सरकारले वास्ता नगरेको हो । सबैलाई बत्ती दिन नसकेको हो । यो कुरा लाजमर्दो छ नि तर, के गर्नु ? सबै नेता हुनेहरूलाई आफ्नै भुँडी भर्दै ठिक्क । अझ आफ्नोमात्र भरेर कहाँ पुग्छ र उनीहरूलाई उनीहरूका साथीभाइ, आफन्तहरू सबै सबैको टन्न भुँडी भर्नै पर्छ । फेरि त्यो भुँडी आफ्नो पुस्तालाई मात्र हो र भन्या, पाँच पुस्ता सात पुस्तासम्मको लागि पो जोहो गर्छन् त यही हो मौका, मौकामा चौका हान्नै पर्छ । फेरि पछि के हो के हो ? कुर्सी छउन्जेल दाउ छोपिहाल्नु पर्छ भनेर दाउ छोपेको छोप्यै गर्छन् । हुन त यिनीहरू जीवन्त रहँदैनन् । बत्ती निकाल्ने अनुसन्धान गर्न पनि हाम्रो देशका नेताहरूले नसकेकै हो नि । जलस्रोतको दोस्रो धनी देश भन्न पनि लाजमर्दाे छ, तर के गर्ने ? जस्तो छ, त्यस्तै भोग्नै पर्छ । नभोगी पनि कहाँ जाने र बत्ती नै बत्तीको सहर खोज्दै जस्तो देश त्यस्तै भेष भनेर बस्नुपर्छ नि कि कसो ?
तर, सरकारले पनि कति धाओस् र ? बिजुली बत्ती आउने ठाउँ जस्ताको त्यस्तै छ । आउने स्रोत जत्तिको त्यत्ति छ, त्यसलाई बढाउन सकिरहेको छैन । खपत चैं दिन प्रतिदिन बढ्याबढ्यै छ । जस्तो कि यो गर्मी मौसममा त झन् यत्ति बढ्छ कि भनेर साध्य नै हुँदैन । पहिला पहिला बत्ती गयो भने मैनबत्ती, लालटिन, कुप्पी बाल्ने चलन थियो । हिजोआज कसले बाल्ने मैनबत्ती, लालटिन, कुप्पी हरेक चिज चार्जेबल आइसक्यो । लाइट पनि चार्जमा राख्यो लाइन गएपछि बाल्यो । अझ हुनेखानेकहाँ त इन्भर्टर नै हुन्छ ।
त्यस्ता घरमा लाइन गए पनि केही मतलव नै हुँदैन । अझ अचेल त धेरै हुनेखानेको घर घरमा त एसी नै हुन्छ । फेरि एउटा कोठामा मात्र हो र ? प्रत्येक कोठामा पनि हुन्छ । अझ अफिसहरूमा त हुन्छ हुन्छ । झ्याल ढोका जम्मै बन्द गर्छ । एसी बत्ती झलमल्ल पारेर बस्ने भैसके हाम्रा मान्छेहरू । अनि कसरी कुन आधारले बत्ती पुर्याउँछ त सरकारले पनि ? आम्दानी जस्ताको त्यस्तै छ । खर्च भने बढ्या बढ्यै छ । फेरि अचेल पहिला पहिलाको घरको डिजाइनजस्तो हुँदैन । पहिलाको घरहरूको डिजाइन ठूलोठूलो झ्याल हुन्थ्यो भित्रकोभन्दा बाहिरको हावा मन पराउने मान्छेहरू थिए । हो, बाहिरको हावाले हामीलाई भरपूर अक्सिजन दिन्छ । अचेलकालाई भित्रैमात्र बस्न मनपर्छ । अनि भित्र कोठामा बसेपछि त कि पङ्खा, कि त हुनेखानेकहाँ त एसी नै हुन्छ । ए बहिर गर्मी छ भन्यो भित्रै बस्यो । फेरि अचेल सबैको कोठा अलग–अलग हुन्छ । पहिलापहिला दाजुभाइ एउटै खाटमा सुत्ने चलन थियो । अचेलकाहरूको बेग्लाबेग्लै हुन्छ । जति बेग्लै चिज हुन्छ । त्यति पङ्खा, बत्ती चल्ने त हो । अनि कसरी धानोस् पनि बिजुली अफिसले ? अचेलका केटाकेटीहरूले झ्याल, ढोका बन्द गर्छन् अनि बत्ती, पङ्खा बाल्छन् ।
अहिलेका मान्छेको रहर कस्तो भैसक्यो भने उज्यालोमै बत्ती बाल्नु पर्ने, अँध्यारो हुनै पर्दैन । उज्यालोमै भएभरको बत्ती बालेर लक्ष्मी भिœयाएको रे । के लक्ष्मीमाता अँध्यारोमा आउँदिनन् र ? यो केही होइन, राम्रो काम, सत्य, इमानदारी पूर्वक काम गर्नुपर्छ, त्यसै लक्ष्मी बर्सिन्छन् । फेरि अचेल प्रायःको घरमा हरेक चिज बिजुलीबाट चल्ने कुरा बढी छन् । जस्तो कि राइसकुकर, पानी तान्ने मोटर, आइरन, पानी तताउने जग, इन्डक्सन, कम्प्युटर, ल्यापटप, मोबाइल, ट्याब, फ्रिज आदि । यस्ता बिजुलीबाट चल्ने विद्युतीय वस्तु हरेकको घरमा छन् । पैसा नभएको मान्छेका घरमा पनि छन्, अचेल यस्ता सामानहरू ।
मान्छेको नि अहिले इच्छा सबै पूरा गरौं भन्ने चाहना भैसक्यो । धन कमाएर जोगाउनु पर्छ भन्ने धारणा कम भैसक्यो । अचेल केटाकेटीहरूलाई पैसा जोगाउनु पनि किन पर्यो र ? आमाबाबुले घर बनाइदिएकै हुन्छ । फेरि जसको पनि छोराछोरी कममा एउटा बढीमा दुइटासम्म हुन्छ । अनि त्यो सम्पत्ति सबै पछि आफ्नै त हो भनेर जोगाउने सोगाउने चलन हराइसक्यो । पहिला पहिला त धेरै छोराछोरी हुन्थे, बाँडफाँड गर्दा कति नै बाँकी हुन्छ होला र भन्ने सोचले खाईनखाई जेमा सस्तो हुन्छ, त्यसैमा दुःख गरेर खाना पकाएर खाने चलन थियो । त्यो भनेको दाउरा अझ मधेसतिर त गाई वस्तुको गोबरको गुइँठा बनाएर खाना बनाउने चलन थियो । हुन त अहिले पनि नभएको होइन, छ गाउँघरतिर तर, पनि अलिकति सम्पत्ति हुनेहरूको चैं ग्यास, इन्डक्सन सुविधाजन्य सामान हुन्छ । यसले गर्दा पनि बिजुली पु¥याउन हम्मेहम्मे भएको हो कि ?
फेरि अर्को कुरा, अचेल प्रायःजसोको पसलहरूमा बत्ती कति धेरै हाल्छन् । त्यै पनि ठूलाठूला वाटको फेरि त्यो मात्र हो र ? बेलुका रात पर्नै पाउँदैन, अँध्यारो हुनै पाउँदैन, झलल बिजुली भएभरको बालिहाल्छन् । बत्ती बाल्नुको अर्थ अँध्यारोलाई छेक्न अँध्यारो हुनै पाउँदैन झिलिमिली बत्ती भएभरको सबै बालिदिन्छन् । अनि कसरी पुग्छ त हौ । बत्ती यसैकारण पनि लोडसेडिङ हुने कारण यो पनि हो कि जस्तो लाग्छ ।
मेरो विचारमा चाहिएमा पचासवटा नै बत्ती बालौं नि । नचाहेको खण्डमा किन नि । हरेक कुराको सामान भएर मात्र हुन्न समानको सही तरिकाले हिफाजत गर्न जान्नुपर्छ । भन्छन् नि, ‘माल पाएर चाल पाउनु पर्छ ।’ यो उखान पनि कस्तो ठीक लेखेको नि पुर्खाहरूले जे मा पनि मिल्ने खालको नै हुन्छ । तर, लेख्नेले मिलाएर नै लेख्छन् । नमिले त त्यो वाक्य नै प्रचलित हुँदैन नि कि कसो ?
हामी सबै मिलेर अलि बिजुली बत्तीलाई कन्ट्रोल गर्न सके यो लोडसेडिङ हामीले नै खप्नुपर्ने स्थिति आउँदैन थियो कि ? सहरका मान्छेहरूले अलिकति भए पनि जोगाइदिए गाउँ पनि झिलिमिली हुन्थ्यो कि ? हैन चाहिने बखत बालौं, यदि नचाहिएको खण्डमा नबालौं । यो कुरा घरघरको मात्र होइन, अफिसतिर पनि अनावश्यक बत्ती पङ्खा नबालिदिउँ । आ.. मेरो होइन, अफिसले त बिल तिर्ने हो नि भनेर हामी असभ्य नबनौं । अफिसमा पनि काम सकेपछि जो कोहीले पनि निभाइदिउँ निभाउने मान्छे पियनलाई नै पर्खनु पर्ने छैन ।
कलकारखाना चलाउन विद्युत्को धेरै आवश्यकता पर्छ । विद्युत् विना कुनै पनि कलकारखाना चल्न सम्भव छैन । कलकारखाना चलेमा देशको अर्थतन्त्र बलियो हुन्छ र देशका जनताहरूले रोजगार पनि पाउने सम्भावना बढ्छ र जनजनको आयस्रोत बढ्दै जान्छ । कृपया उपभोक्ताको हकहितको लागि आयोगले पहिला जे भयो भयो अबदेखि चैं विद्युत् उत्पादनमा वृद्धि उच्चस्तरीय प्रसारण सरल सहज तरिकाले वितरण र व्यापारीलाई त्यहीअनुसार सबैलाई बराबरी हिसाबले बिक्रीवितरण गर्न प्रभवकारी रूपले गर्न गराउन आग्रह गर्दछु । अबदेखि हामी नेपालीहरूले अन्धकारमा बस्नु नपरोस् । हाम्रो देश नेपाल उज्यालोको देश होस् ।