विराटनगर । प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई बिहीबार एक कार्यक्रम आयोजना गरी साक्षर घोषणा गरेको हो ।
प्रदेश १ का सभामुख प्रदीपक कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे ।
प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुगम जिल्लाहरूमा साक्षरता प्रतिशत कम देखिएको छ ।
पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् । यस्तै झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७.५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् । प्रदेश १ का झापा मोरङ सुनसरी जिल्ला सुगममामा पर्छ । अन्य पहाडी जिल्लाको तुलनामा यी जिल्लामा साक्षरता कम देखिएको छ ।
यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत,उदयपुरमा ९५.३२ प्रतिशत, सखुवा सभामा ९५.६३प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर रहेका छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत रहेको छ ।
नेपालमा २०७१ सालदेखि साक्षर जिल्ला घोषणा गर्न थालिएको हो । त्यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा विक्रम संवत २०६५ र २०६९ मा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भए सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।
नेपालमा निरक्षरता हटाउन सरकारले वि.स. २००४ साल देखिनै प्रौढ शिक्षाको थालनी गरेको थियो । राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ ले प्रौढ साक्षरता कार्यक्रमलाई कार्यान्वयन गर्न सिफारिस गरेपछि विक्रम संवत २०१३ सालदेखि योजनाबद्ध रूपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।
प्रदेश १ मा ४५ लाख ३४ हजार नौ सय ४३ जनसंख्या रहेकोमा ९६.७४ प्रतिशत साक्षर रहको सामाजिक विकास मन्त्री राजन राईले बताए ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रममा समेत प्रदेशलाई साक्षर घोषणा गर्ने उल्लेख गरीएको थियो । यो घोषणासँगै प्रदेश १ तेस्रो साक्षर प्रदेश बनेको छ । यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ । आगामी आर्थिक वर्षमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने मन्त्री राईको भनाइ रहेको छ ।