वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ स्थित पुनरवासमा बालिकालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मृतकका ठूलोबुबासहित दुई जनालाई पक्राउ गरिएको छ ।

१४ वर्षीया बालिका दिपिना पाँचकोटीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा मृतकका ठूलोबुबा ५३ वर्षीय प्रदीप र उनकी श्रीमती ४५ वर्षकी गीता दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा दीपक पाँचकोटीको वैदेशिक रोजगारीमा कतारमा मृत्यु भएको थियो । आमा मूना पनि विदेशमा थिइन् ।  ओमनबाट बिहीबार नेपाल आएपछि आमा मूनाले आरोपी जेठाजु र जेठानीविरुद्ध इलाका प्रहरी कार्यालय चक्रघट्टीमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएकी थिइन् ।

आफ्नो सम्पत्ति हडप्न जेठाजु र उनको परिवारले कुटपिट गरी छोरीको हत्या गरेको मृतककी आमा मूनाले आरोप लगाइन् । जाहेरीमा आरोपीद्वयले छोरीलाई यसअघि दैनिक कुटपिट गर्ने, खाना नदिने र यातना दिने गरेको र घटना भएको एक दिनअगाडि पनि कुटपिट गरेकाले सहन नसकेर दिपिनाले आत्महत्या गरेको उल्लेख गरिएको छ  ।

मूनाका दिवङ्गत श्रीमान् दीपकको नाममा ३ कठ्ठा ८ धुर जग्गा रहेको र सोही जग्गा हडप्न षड्यन्त्र गरिएको जाहेरीमा उल्लेख गरिएको छ । उनले १९ लाख रुपैयाँमा जेठाजुले आफ्नो घरसहितको जग्गा पनि बेची खाएको आरोप लगाइन् ।

आरोपीले हजुरआमासँग बसेकी दिपिनालाई छुटाएर ५ वर्षदेखि आफ्नो कब्जामा राखेको र दिवङ्गत श्रीमान्को नाममा रहेको घरजग्गा बेची खाएको उनको आरोप छ । आफू विदेशमा रहेको फाइदा उठाएर जेठाजुले नामसारी नभएको जग्गा लिन एक्ली छोरीको हत्या गरेको पीडिता मूनाले बताइन् । 

बालिकाको शवलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी दाह संस्कार गर्न शुक्रबार घर लगिएको थियो । शव लिएर घर पुगेपछि आरोपीद्वयलाई घरमा देखेपछि पक्राउ नगरिएको भन्दै पीडित र गाउँलेले शव उठाउन मानेका थिएनन् । एक दिनअगाडि नै जाहेरी दिएको भए पनि आरोपीलाई पक्राउ गर्नुको साटो प्रहरीले संरक्षण दिएको मृतककी आमा मूनाले आरोप लगाइन् ।

पक्राउ नगरेसम्म कुनै पनि हालतमा शव नउठाउने अडानका साथ करिब २ घण्टासम्म स्थानीयले चर्को विरोध गरेपछि आरोपी प्रदीपलाई प्रहरी पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि मात्र साँझमा अन्तिम संस्कार गरिएको मृतकका हजुरबुबा सन्तोष भित्रीकोटीले बताए । 

पुनरवासस्थित ठूलोबुबाको परिवारसँगै बस्दै आएकी बालिकाको शव भदौ १९ गते बिहान उनी सुत्ने कोठामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको थियो  ।

पक्राउ गरिएका आरोपीद्वयलाई थप अनुसन्धानका लागि इप्रका चक्रघट्टीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए ।