विजयपुर । धरान उपमहानगरपालिकाको करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधिमा नै त्रुटी भएको पाइएको छ ।
नगरले करारमा नगर प्रहरी व्यवस्थापन गर्न बनेको कार्यविधिमा नगर प्रहरी जवान र सहायक निरीक्षक(असइ) पदको लागि शैक्षिक योग्यता एउटै तोकिएको छ । प्रहरी जवान र असइका लागि प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्ने कार्यविधिमा व्यवस्था छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा समेत नभएको यस्तो प्रावधान कार्यविधिमा राखिँदा नगर प्रहरी जवान पदमा आवेदन फाराम भर्नबाट धेरै युवाहरू बञ्चित भएका छन् । यसले नगरको आयस्रोतमा पनि असर परेको छ ।
नेपालका सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि जवान पदका लागि कक्षा ८ मात्र उत्तीर्ण हुनु पर्ने व्यवस्था रहेको अधिकारीहरू बताउँछन् । तर, धरान नगरले नगर प्रहरी जवान दोस्रो तहका लागि प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने प्रावधान राखेर विज्ञापन गरेको छ ।
नगरले भदौ ८ गते नगर प्रहरी जवान र असइ पदमा प्रकाशन गरेको विज्ञापनमा ‘नगर प्रहरी जवान पदका लागि शैक्षिक योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण’ हुनुपर्ने प्रावधान राखेको छ ।
धरान उपमहानगरको २०७५ वैशाख १२ गते नगरकार्यपालिकाबाट स्वीकृत ‘करारमा नगर प्रहरी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा नगर प्रहरी सहायक निरीक्षक (असइ) र नगर प्रहरी जवान पदका लागि एकै शैक्षिक योग्यता प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने प्रावधान राखेको छ ।
कार्यविधिको दफा ३ मा लागू हुने क्षेत्र, सेवा र योग्यतासम्बन्धी व्यवस्था रहेको छ । दफा ३ को उपदफा २ मा उक्त कार्यविधि बमोजिम अवधि तोकी करारमा राख्न सक्ने प्रावधान रहेको छ । उपदफा २ को (ख) मा नगरप्रहरी सहायक निरीक्षक (असइ)को लागि आवश्यक मापदण्डको व्यवस्था छ । (ख) को बुँदा नम्बर २ मा शैक्षिक योग्यतासम्बन्धी प्रावधान राखिएको छ । उक्त बुँदामा ‘मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण गरेको’ हुनुपर्ने व्यवस्था रहेको छ । उपदफा २ को (ग) मा नगर प्रहरी जवानको लागि आवश्यक मापदण्डको व्यवस्था रहेको छ ।
(ग) को बुँदा नम्बर ३ मा शैक्षिक योग्यता तोकिएको छ । कार्यविधिको बुँदा नम्बर २ मा ‘मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण गरेको’ हुनुपर्ने व्यवस्था राखिएको छ । उक्त प्रावधानलाई टेकेर नगरले भदौ ८ गते प्रकाशन गरेको विज्ञापनमा विवाद उत्पन्न भएको छ । नगर प्रहरी जवान सहायक दोस्रो तहको विज्ञापन पुनर्विचार गरी पुनः विज्ञापनको माग पनि भएको छ ।
तर, धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल कार्यविधिको त्रुटी भने स्वीकार गर्दैनन् । उनी भन्छन्, ‘यो प्रावधानले छनौट प्रक्रियामा सहजता हुन्छ । दक्ष जनशक्तिका लागि प्रवीणता प्रमाण–पत्र तह उत्तीर्ण राखिएको हो ।’ उनी नेपालको शिक्षाको संरचना परिवर्तनको असर (माध्यमिक तह कक्षा ९–१२) का कारण यस्तो भएको दाबी गर्छन् । तर, कार्यविधिमा भने शिक्षाको संरचना परिवर्तन भइसकेपछि पनि पुरानै प्रवीणता प्रमाण–पत्र उल्लेख छ । जबकि हाल प्रवीणता प्रमाण–पत्र तह नै छैन ।
निवर्तमान जनप्रतिनिधिहरूले सोही कार्यविधिअनुसार करारमा नगर प्रहरी जवान पद भर्नाका लागि कक्षा ८ उत्तीर्णको आवेदन लिएर प्रतिस्पर्धा गराएका थिए । २०७५ सालमा नगर प्रहरी जवान पदमा आवेदन दिएका एक आवेदकले कक्षा ८ उत्तीर्ण गरेको प्रमाण–पत्रले आवेदन दिई प्रतिस्पर्धा गरेको बताए ।
नगरले २०७९ भदौ ८ गते बारुण यन्त्र जवान ६ जना र नगर प्रहरी जवान ५ जनाको करार सेवामा दरखास्त आह्वान गरेको थियो । २०७५ सालमा नै नगर प्रहरी निरीक्षक पदमा आवेदन दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका सनम राईले राजनीतिका कारणले नियुक्ति नपाएको बताए । उनलाई पहिले शैक्षिक योग्यता देखाएर नियुक्ति नदिए पनि पछि अरू नै कारण देखाएको बताए । कार्यविधिमा निरीक्षक पदका लागि सुरक्षा निकायमा निरीक्षक वा सो सरहको पदमा सेवा गरेको वा नायव निरीक्षक वा सो सरहको पदमा ५ वर्ष सेवा गरेको हुनुपर्ने व्यवस्था छ ।
राई सशस्त्र प्रहरी बलको नायव निरीक्षक (असइ) पदबाट निवृत्त भएका थिए । नगरले मागेको मापदण्ड सबै पूरा भई परीक्षामा पनि उत्तीर्ण भएका राईले आफूले राजनीतिक सोर्सफोर्स नहुँदा नियुक्ति नपाएको बताए । उनी नगर प्रहरी निरीक्षक पदमा एक्ला प्रतिस्पर्धी थिए । उनलाई छनौट समितिले पनि छनोट गरिसकेको थियो तर, नियुक्ति दिइएन । उनले भने, ‘परीक्षामा उत्तीर्ण भई नाम निक्लिएको ३ महिनासम्म हुन्छ भन्दै राख्यो । कहिले लेखाबाट तोक लागेर आउँछ । कहिले काठमाडौँ पठाएका छौँ भन्दै टारे ।’ उनी राजनीतिकै कारणले आफूले नियुक्ती नपाएको बताए । त्यसबेला मञ्जु भण्डारी सुवेदी कार्यवाहक प्रमुख रहेकी थिइन् ।
कार्यविधि सच्याउन माग
धरान उपमहानगरको करारमा नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि सच्याउन माग गर्दै धरान नगर प्रमुख हर्कराज राईलाई निवेदन परेको छ ।
भदौ २३ गते धरानका युवा रिकेश विश्वकर्माले कार्यविधि सच्याई पुनः विज्ञापन गर्न माग गर्दै नगर प्रमुख राईलाई निवेदन दिएका हुन् । विश्वकर्माले पहिले आफूले पनि नगर प्रहरी सहायक निरीक्षक (असइ) पदमा प्रतिस्पर्धा गरेको र हाल अन्यायपूर्ण तरिकाले विज्ञापन भएकाले सच्याउन माग गरेको बताए । उनले भने, ‘२०७५ मा कक्षा ८ पास गरेकाले नगर प्रहरी जवानमा आवेदन दिई जागिर खाइरहेका छन् । अहिले विभेदपूर्ण तरिकाले विज्ञापन भयो ।’
उनले नेपालका जुनसुकै सुरक्षा निकायमा जवान पदका लागि कक्षा ८ पास भए हुने व्यवस्था भए पनि नगरले प्रवीणता प्रमाण–पत्र तह वा सो सरह भन्नु न्यायिक नभएको बताए । उनले आफूसँग युवाहरूको गुनासो आएको र नगरले पनि त्रुटीपूर्ण कार्य गरेकाले सच्याउन माग गरेको बताए । उनले भने, ‘कार्यविधिमा नै त्रुटी छ, सच्याउनु पर्छ ।’ उनले बुझाएको निवेदनमा विज्ञापन सच्याई विगतमा कानून विपरीत कार्य गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन् । ‘नगर प्रहरीसम्बन्धी कार्यविधि २०७५ हेर्दा सो कार्यविधिसमेत गलत देखिएको हुँदा सच्याउनु पर्छ’–उनले भने ।
उनले निवेदनमा २०७६ जेठ २८ गते प्रकाशित करार सेवासम्बन्धी विज्ञापनको समेत हालसम्म पनि नतिजा प्रकाशन गर्न असफल रहेकोले यथाशीघ्र नतिजा सार्वजनिक गर्न पनि माग गरेका छन् । नतिजा प्रकाशित नगरेमा आवेदकहरूले बुझाएको जम्मा १ लाख ३७ हजार ४ सय रुपैयाँ फिर्ता गर्न माग गरिएको छ ।