नेपालको ७५ जिल्लामा फैलिएको डेङ्गी सङ्क्रमण चिन्ताको विषय बन्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । ७७ जिल्लामध्ये एक जिल्लाबाहेकका सबैजसो जिल्लामा डेङ्गीका रोगी भेटिनु एक प्रकारले आश्चर्य नै मान्नुपर्छ । नेपाल भूगोलका हिसाबले केही पृथक छ । पृथक यसमानेमा कि यहाँ हिमाल, पहाड र तराई छ । तराईमा कुनै समय औलो लाग्थ्यो । तर, अहिले समय फेरियो । हिमाल जहाँ बाह्रै महिनाजसो हिउँ पर्ने र जाडो हुने भएकाले त्यहाँ लामखुट्टे पुग्नु अचम्मकै विषय हो । पहाडी क्षेत्रमा पनि लामखुट्टे नहुने हाम्रो भूगोलमा अहिले पहाड छिचोलेर हिमाली क्षेत्रमा पुग्नु पृथ्वीको तापमान बढेको सङ्केत हो । त्यही कारण अहिले डेङ्गीको सङ्क्रमण बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडालाई आधार मान्ने हो भने ७५ जिल्लामा ८ हजार २ सय ३७ जना डेङ्गीबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गीको प्रकोप बढ्दै जाँदा स्वास्थ्य मन्त्रालय चिन्तित हुनु स्वभाविकै हो । मन्त्रालयले डेङ्गीबाट बच्नका लागि काम गर्ने स्थानमा पूरा बाहुलाको लुगा लगाउन सुझाव दिएको छ । प्रकोपका रूपमा रहेको डेङ्गी एडिज जातको लामखुट्टेको टोकाइबाट हुने गरेको छ । डेङ्गी अहिले हाम्रा लागि समस्याको रूपमा रहेको छ । विशेषगरी गाउँमा भन्दा सहरका नागरिक यसबाट प्रताडित छन्, किनकि सहरमा बस्ने नागरिकमा बढी यो समस्या देखिएको छ । यसका थुप्रै कारणमध्ये जनघनत्व, सरसफाइ, जथाभावी फोहोर फाल्ने समस्या आदि रहेका छन् । यसबाट बच्ने उपायबारे पनि मन्त्रालयले सुझाव दिएको छ ।
डेङ्गी रोग समस्या हो भन्ने बुझ्न नै स्वास्थ्य मन्त्रालयलाई केही समय लागेको देखिन्छ । झण्डै–झण्डै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले पनि धेरैले यसलाई कोरोना पनि ठाने । तर, जब परीक्षणबाट पत्ता लाग्यो, तब हामीले कोरोना र डेङ्गीबीचको फरक खुट्याउन सक्यौँ । डेङ्गीबाट बच्नका लागि हामीले थुप्रै कुरामा परिवर्तन गर्नुपर्ने देखिएको छ । एउटा त जीवनशैलीः आज हामी जुन जीवनशैलीमा बाँच्दै छौँ, त्यो जीवनशैलीमा केही परिवर्तन गर्न आवश्यक छ । भन्न खोजेको कुरा के हो भने हामीले हाम्रा घरवरिपरि सफा राखेर मात्रै पुग्दैन । छिमेक, टोल र समाजलाई पनि सफा राख्न सक्नुपर्छ । अर्को अटेरीपनः नेपालीहरूमा हरेक रोगलाई सामान्य ठान्ने प्रवृत्ति व्याप्त छ । जबसम्म सिकिस्त हुँदैनन्, तबसम्म त्यसप्रति ध्यान नदिने प्रवृत्ति व्याप्त छ । यस्ता प्रवृत्तिमा पनि परिवर्तन ल्याउन सक्नुपर्छ । डेङ्गी सार्ने लामखुट्टे बस्न सक्ने ठाउँहरूको पहिचान गर्न आवश्यक छ । अनि मात्रै हामी डेङ्गीबाट बच्न सक्छौँ ।