चिनियाँ अधिकारीहरू एकपछि अर्को गरी आउने क्रमले नेपालको भूराजनीतिमा नयाँ विषयले प्रवेश पाएको सङ्केत भएको छ । चीनका राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणसँगै यो विषयले प्रवेश पाएको छ । लीको तीन दिने भ्रमण औपचारिक भेटघाटका कार्यक्रमका सूची छन् । तर, गहिरिएर अध्ययन गर्ने हो भने चीनले नेपालबाट के चाहन्छ अर्थात् नेपालले विदेश नीतिमा कस्तो भूमिका खेलिदिओस् भन्ने चाहन्छ, चीनका शीर्षस्थ अधिकारीको भ्रमणबाट त्यो बुझ्न सकिन्छ । चीनको भ्रमण बाक्लिनुसँग थुप्रै कुराहरू जोडिएका छन् । नेपाल चीनको यस्तो छिमेकी राष्ट्र हो, जसको दौत्य सम्बन्ध आजको नभएर परापूर्वकालदेखि नै चल्दै आएको छ । यहाँको कलादेखि व्यापारसम्म चीनसँग जोडिएको थियो । अझै जोडिरहेको छ । तर, पछिल्लो ५ वर्षअगि जोडिएको बीआरआई अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ मुख्य हो । नेपालले यस परियोजनामा सहभागी भइसकेको भए पनि काम अगाडि नबढाएको स्थिति छ ।
अर्कातिर संसद्बाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कम्प्याक्ट पारित भएको अवस्था छ । यो अमेरिकी अनुदानको कार्यक्रम हो । यो कार्यक्रम आएलगत्तै चीनका लागि टाउको दुखाइको विषय बनेको छ । चीनले यस विषयमा यो कार्यक्रमलाई लिएर आपत्ति पनि प्रकट नगरेको होइन । चीन र अमेरिका यस्ता शक्ति राष्ट्र हुन् । उनीहरूबीचमा शीतयुद्ध चलिरहेको छ । अर्कातिर चीनको छिमेकी राष्ट्रले त्यही अमेरिकी कार्यक्रम ल्याएका कारण उसलाई केही समस्या भएकै हो । ऊ नेपालको असंलग्न परराष्ट्र नीति अँगालोस् भन्ने चाहन्छ । त्यसकारण पनि चीनका शीर्षस्थ अधिकारीहरूको भ्रमणले त्यसलाई भित्रैबाट दबाव दिने उद्देश्य रहेको बुझ्न सकिन्छ । यही बीचमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको माहौल छ । यही माहौलमा चीनका अधिकारीहरूको बाक्लिँदो भ्रमण अर्थपूर्ण रहेको मान्न सकिन्छ । नेपालमा चीनका राष्ट्रपतिदेखि विदेशमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसम्मले नेपाल भ्रमण गरिसकेका छन् । फेरि लीको भ्रमण बीआरआई मात्रै नभई चुनाव पनि जोडिएको छ । चीन नेपालमा कम्युनिष्टले शासन गरोस् भन्ने चाहन्छ । यसकारण पनि ऊ कम्युनिष्ट शक्तिहरूलाई जोड्न चाहन्छ ।
चीनका अधिकारीहरूको भ्रमणलाई हामीले दुईवटा कोणबाट व्याख्या गर्न जरुरी छ । एउटा उसले सञ्चालनमा ल्याएको बीआरआई परियोजना । दोस्रो भनेको नेपालको भूराजनीति । नेपालको भूराजनीतिमा अमेरिकी जस्ता देशले खेल्न थालेको छ । ऊ अमेरिकालाई नेपालमा प्रवेश भएको देख्न चाहँदैन । यसका विविध कारणहरू छन् । अमेरिका आफू शक्तिमा बसेर विश्वलाई आफ्नो मुठ्ठीमा राख्ने प्रयास गरिरहेको छ । जसलाई केही देशका लागि स्वीकार्य नभएको अवस्था छ । त्यसमध्येको चीन एउटा हो । अब यस्तो अवस्थामा नेपालले आफूले अँगालेको असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्नुपर्छ । अहिले ठूला देशहरूबीचको शीतयुद्धमा नेपाल फस्नु हुँदैन । नेपालले शक्ति सन्तुलन नगर्ने हो भने भोलि नेपाल अर्को खतरामा पर्ने सम्भावना बढ्छ । पहिलो कुरा त छिमेकी देश चीनसँगको दौत्य सम्बन्धलाई आजको वैज्ञानिक युगमा विज्ञानसम्मत तरिकाले अगाडि बढाउनुपर्छ । हिजो भएका सन्धि, सम्झौता तथा अन्य खालका सहमतिहरूको पुनरावलोकन गरी अगाडि बढ्नसके मात्रै नेपालको हितमा हुनेछ । चीनको स्वार्थमा नेपाल फस्नु हुँदैन न कि अमेरिकी स्वार्थमा । स्वतन्त्र, अखण्ड तथा सार्वभौमसत्तासम्पन्न राष्ट्रले गर्ने हरेक निर्णयहरू पनि स्वतन्त्र हुनुपर्छ ।