भद्रपुर । झापामा सबैभन्दा बढी डेंगुका बिरामी बिर्तामोड र मेचीनगरमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले २६ जना डेंगु सङ्क्रमणका बिरामी रहेको जानकारी दिएपनि जिल्लामा ३० जना विरामी उपचाररत रहेको विभिन्न अस्पतालले उपलब्ध गराएको  तथ्याङ्कले पुष्टि गरेको छ ।

 बिर्तामोडमा १२ , मेचीनगरमा ६, कनकाईमा २, हल्दिबारीमा १, अर्जुनधारामा १, दमकमा ४ जना बिरामीमा डेंगु देखिएको छ । भने आोम साई भद्रपुरमा  ४ जनाले उपचार गराइरहेका छन्  । जुन तथ्याङ्क स्वास्थ्य कार्यालयमा छैन ।  निजी अस्पतालहरूले विवरण नपठाउँदा तथ्याङ्मा एकरूपता आउन नसकेको भन्दै  स्वास्थ्य कार्यालय पन्सिदै आएकोे छ ।

डेंगु सङ्क्रमण महामारीको रुपमा फैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागिमा स्थानीय निकायले अहिलेसम्म कुनै अभियान सञ्चालन गरेको छैन । 

ओम साई भद्रपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भइ उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी मनोज दाहालले बताए । जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार जिल्लामा २६ जना डेंगु सङ्क्रमणका बिरामी रहेको बताउँछन् ।  विरामीको विभिन्न अस्पतालमा  उपचार भइरहेको उनले बताए । जिल्लामा धेरै विरामी भएपनि जानकारीमा २६ जना मात्र आएको उनले बताए  । सङ्क्रमण देखिएमा तत्काल खबर गर्न सवैै पालिकाका स्वास्थ्य शाखालाइ जानकारी गराइसकिएको उनले जनाए ।

उनले दिएको तथ्याङ्कमा ओम साईमा उपचाररत् बिरामी छैनन् । ओम साईका चार जना जोड्दा डेंगुका बिरामी ३० पुग्छ ।  निजी अस्पतालहरूले विवरण नपठाउँदा तथ्याङ्कमा एकरूपता आउन नसकेको उनको भनाइ छ  ।

भद्रपुरमा डेंगुका बिरामी भेटिए पनि भद्रपुर स्वास्थ्य शाखासँग बिरामीको अपडेट छैन । मेची अस्पताल र नगर स्वास्थ्य चौकीहरूमा अहिलेसम्म डेंगु सङ्क्रमणका बिरामी पुष्टि नभएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । निजी अस्पतालले विवरण नपठाउँदा अपडेट नभएको उनको भनाइ छ  । डेंगु किट अभावका कारण पृथ्वीनगर र चन्द्रगढी स्वास्थ्य केन्द्रमा राखिएको ल्याबमा पनि डेंगु परीक्षण हुन नसकेको उनको भनाइ छ । डेंगु नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत शनिबारदेखि सबै वडामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न लागेको उनले बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले तीन दिन अघि मात्र स्वास्थ्य कार्यालय झापालाई ५५० किट पठाएको छ । त्यसमध्ये २०० किट बिर्तामोड नगर अस्पताललाई पठाएको डेंगु फोकल पर्सन दासले जानकारी दिए । स्वास्थ्यसँग अहिले ३५० किट मौजाद रहेको उनले जनाए । बिहीबारदेखि जिल्लाका १५ वटै स्थानीय तहलाई १०÷१० वटा किट वितरण सुरु गरिएको उनको भनाइ छ । लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न मन्त्रालयले परिपत्र जारी गरे पनि जिल्लामा सो अभियान शुरु हुन नसकेको उनले स्वीकारे । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मन्त्रालयले निर्णय गरे पनि अहिलेसम्म जिल्लामा सो अभियानले तीव्रता नपाउँदा रोगको सङ्क्रमण बढ्दै गइरहेको छ  ।