केही दिनयता सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यमहरूमा बालबालिका हराउने अफवाहहरू प्रशस्त आइरहेका छन् । तथ्य के हो भन्ने विषयमा प्रहरीले आफ्ना आधिकारिक धारणाहरू पनि सार्वजनिक गरिरहेको छ । कतिपय स्थानमा बच्चा पनि भेटिएका खबर बाहिरिएका छन् । धरानकै भानुचोकमा पनि बालक भेटिएको सूचना फेसबुकहरूमा बाहिरिएको छ । आखिर ती बालक हराएका हुन् या हराइएका हुन्, त्यो चाहिँ अध्ययन गर्न जरुरी छ । केही दिनअगि मोरङको लेटाङबाट हराएका बालबालिकाहरू विराटनगरमा भेटिए । फुटबल हेर्न भनी निस्किएका उनीहरू अन्ततः विराटनगरमा भेटिएका हुन् । यसरी बालबालिकाहरू हराउने हल्लाहरू बेला बेला आउने गरेका छन् । प्रहरीले पनि सचेतता अपनाउन बारम्बार सर्वसाधारणलाई सूचित गरिरहेको छ । बालबालिकाहरू बालिग नभएसम्म उनीहरू आफ्नो दिमागले काम गर्न सक्ने हुँदैनन् । बालबालिकाहरू कसैको लहलहैमा लागिहाल्ने, प्रलोभनमा परिहाल्ने भएकाले पनि उनीहरू बढी संवेदनशील मानिन्छन् ।

बालबालिकाहरू हराउने हल्ला र अफवाह सत्य हो, होइन भन्नेतर्फ सबै सचेत हुन आवश्यक छ । अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई निगरानी राख्ने गर्नुपर्छ । अहिले कुनै पनि कुरा यति छिटो फैलिन्छ । त्यो फैलिनुमा इन्टरनेट र त्यससँग जोडिएका माध्यमका कारणले हो । विश्वव्यापीकरणको प्रभावले गर्दा पनि यस्ता कुराहरू चाँडो समाजमा फैलिन्छन् तर, कति सत्य र तथ्य हो भनेर खुट्याउन चाहिँ आवश्यक छ । भर्चुअल संसार आफैमा एउटा भ्रम हो । यो भ्रममा कतिपय सूचनाहरू गलत हुन्छन् र त्यस्ता गलत सूचनाहरू हावासरि फैलिन्छन् । तर, आम नागरिकले त्यसको आधिकारितामाथि चाहिँ आलोचनात्मक चेतको विकास गर्न जरुरी हुन्छ । बालबालिका हराउने हल्ला आज मात्रै भएको होइन । यो धेरै पहिलोदेखि नै चल्दै आएको छ । खालि फरक–फरक तरिकाले यसको हौवा फैलिने गरेको छ । सबैभन्दा सुरुमा नागरिक सचेत हुन आवश्यक छ । आफ्ना वरपर, छरछिमेक, समुदाय तथा समाजमा यस्ता कुराहरूको सत्यता बताइदिन जरुरी छ । अभिभावकहरूले आफ्ना नानीहरूलाई जथाभावी जान दिने वा रोकटोक नगर्ने प्रवृत्तिमा चाहिँ परिवर्तन गर्न आवश्यक छ । आफ्ना नानीले के गर्छन् ? के गरिरहेका छन् ? भन्ने विषयहरूमा गम्भीर बन्न चाहिँ आवश्यक छ ।

बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरूको संरक्षण हाम्रो आवश्यकता हो । हामीले बुधबार मात्रै ५८ औं राष्ट्रिय बालदिवस मनाएका छौं । यस्ता दिवसहरूले पनि यस्ता हल्लाहरूलाई, भ्रमहरूलाई चिर्न आवश्यक छ । अर्कातिर प्रहरी प्रशासनले पनि यस्ता हल्ला फिँजाउनेहरूमाथि निगरानी गर्न आवश्यक छ । उनीहरूलाई नियन्त्रणमा लिई साइबर अपराधमा कारबाही गर्न आवश्यक छ । २१ औं युग अर्थात् सूचना प्रविधिको युगमा विकासोन्मुख देशहरूले सूचना प्रविधिलाई यति छिटो आत्मसात गरे कि यसको कसरी प्रयोग गर्ने र बढीभन्दा बढी फाइदा लिनेभन्दा पनि गलत कुराहरूतर्फ आकर्षित भइरहेको अवस्था छ । यसले गर्दा यसको प्रयोग गर्ने शैलीमै परिवर्तन गर्न आवश्यक छ । त्यसका लागि निगरानी आवश्यक छ । त्यो निगरानी यस्ता हौवा फैलाउनेहरू मात्रै नभई बालबालिकाहरूमाथि हुने धोकाधडी, अश्लीलता, यौन दुराचार, दुव्र्यवहारहरूलाई पनि नियन्त्रण गर्न आवश्यक छ । समुन्नत समाजका लागि यो मात्रै एउटा उत्तम विकल्प हो ।