विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहाताभित्र फार्मेसी सेवा पुनः सुरु भएको छ । प्रतिष्ठानमा फार्मेसी सञ्चालनसँगै आर्थिक सहयोग पुग्ने प्रतिष्ठान प्रशासनले जनाएको छ ।

बिहीबार प्रतिष्ठानले आफ्नै फार्मेसी सुरु गरेको हो । पाँच वर्षपछि प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको प्रतिष्ठानका निर्देशक तथा फार्मेसीका संयोजक डा. जगतनारायण प्रसादले जानकारी दिए । उनले भने, ‘फार्मेसी  सञ्चालनसँगै बिरामीले सहज रूपमा सेवा पाउनेछन् । रोजगारी सिर्जना पनि हुन्छ । आर्थिक रूपमा पनि निर्भर हुन्छ ।’

उनका अनुसार हाल प्रतिष्ठानको फार्मेसीमा १४ जना सहायक फार्मासिस्ट रहेका छन् । प्रतिष्ठानलाई २८ जना सहायक फार्मास्टी आवश्यक रहेको छ । निर्देशक प्रसादका अनुसार प्रतिष्ठानको डेन्टल, अर्थोपोडिक्स र आइसियुमा पनि फार्मेसीको काउन्टर सञ्चालन गर्ने भएको छ ।

उनले भने, ‘जनशक्ति नभएर मात्रै सञ्चालनमा आएको छैन । भौतिक संरचना तयार भइसकेको छ ।’ निर्देशक प्रसादले हाल दैनिक ६ देखि ८ लाखको औषधि बिक्री भइरहेको बताए । उनले भने, ‘हाम्रो सर्भेले धरानमा ३ अर्बको वार्षिक कारोबार हुने देखाएको छ । त्यसको ६० प्रतिशत मात्रै कभर गर्न सक्यौं भने धेरै राम्रो हुन्छ ।’

जनशक्ति पदपूर्तिका लागि विज्ञापन गर्नेसमेत उनले बताए । उनले औषधि बिरामीको शøयामा पु¥याउने लक्ष्य लिएर गृहकार्य गरिरहेको बताए ।

२०७८ कात्तिकदेखि सञ्चालनमा आएको फार्मेसीको प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले उद्घाटन गरे । उनले भने, ‘बिरामीलाई औषधि खरिदमा धेरै राहत मिल्ने विश्वास लिएका छौँ ।’

फार्मेसीले प्रतिष्ठानलाई आर्थिक रूपमा सबल बनाउने उनले बताए । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले अस्पतालभित्रै सबै प्रकारका औषधिहरू व्यवस्थापन गर्न सकिए बिरामीले सुपथ मूल्यमा औषधि पाउने बताए ।

५ वर्षअगि निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी बन्द थियो । अहिले प्रतिष्ठान आफैले फार्मेसी सञ्चालन गरेपछि बिरामीलाई बाहिरका निजी मेडिकल जानुपर्ने बाध्यता हट्ने प्रतिष्ठानको भनाइ छ ।