विराटनगर । मोरङको पथरीशनिश्चरे–१ की २० वर्षीया प्रतिक्षा लिम्बू म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यसअगिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरी बनेकी लिम्बू आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएकी छन् ।
आवदेन दर्ता गरेर परीक्षा कुरेर बसिरहेकी उनले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने अठोटका साथ आफूले म्यादी प्रहरीमा भर्ना हुन आवदेन दिएको बताइन् । उनीसँगै आएका थिए, उनका २२ वर्षीय पति सुमन थापा । उनी पनि पूर्व म्यादी प्रहरी हुन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरी बन्न उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार आएर आवेदन दिए । बेरोजगारी र घरायसी समस्याको कारण पनि आफूले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । उनीहरू यसअगिको स्थानीय निर्वाचनमा म्यादी प्रहरी थिए ।
यस्तै मोरङको कानेपोखरी गाउँपालिकाकी २१ वर्षीया कोपिला पुरीले महिलाले पनि सबै काम गर्न सक्ने र प्रहरी सङ्गठनमा आबद्ध भएर ज्ञान आर्जन गर्ने अवसर रहेकाले आफू आवेदन दिन आएको बताइन् । ‘रोजगारी छैन, घरमा बसेर के गर्नु ? बरु म्यादी प्रहरीमा भर्ना भए केही रकम पनि आर्जन हुन्छ र केही ज्ञान पनि पाइन्छ भनेर हामीहरू आवदेन दिन आएका छौँ’–म्यादीका लागि आवेदन दिएका कानेपोखरी–६ का श्याम तामाङले भने ।
प्रहरी बन्ने इच्छा रहेको कारण पनि आफूमध्ये धेरैजनाले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । तामाङ पनि म्यादी भइसकेका व्यक्ति हुन् ।
भदौ महिना सकिन लागे पनि विराटनगरको प्रचण्ड गर्मीमा मोरङका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रबाट म्यादी प्रहरी भर्ना हुनका लागि युवा युवतीहरू तँछाडमछाड गरेर जिल्ला प्रहरी कार्यालय नजिक रहेको खुल्ला मैदानमा लाइनमा लाम लागेका थिए ।
प्रहरीलाई पनि लाइन व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझसम्म पाँच हजारभन्दा बढीले आवेदन दर्ता गराएको र आवदेन दर्ता गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आवदेन दिनेहरूमा मुख्यतः बेरोजगार र पूर्व म्यादी प्रहरीको आकर्षण, प्रहरी बन्न इच्छुक, प्रहरीसँग काम गर्ने अवसर लगायतका कारणले म्यादी प्रहरीमा आवेदन दिनेहरूको चाप बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
देशभरिमा १ लाख १५ जना म्यादी प्रहरी आवश्यक रहे पनि मोरङमा कति हुने अहिलेसम्म कुनै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आवदेन दर्ता गराउनका लागि असोज ६ गतेसम्मको समयसीमा रहेको छ । ४० दिने म्यादी प्रहरीले एकमुष्ठ ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै रासनबापत ७ हजार २ सय पाउनेछन् ।