परिचयः डेङ्गी  एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस  प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ । यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् ।  

डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम मच्छड नै हो, डेङ्गी  मच्छड सङ्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ ।

त्यसैले गर्दा डेङ्गी पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेङ्गी प्रभावितमध्ये १ जना बिरामीलाई गाह्रो पार्न सक्छ  र यो रोगको मृत्युदर १–२  प्रतिशत हो । यो रोगले गर्भवती महिला, साना बच्चाहरूमा  र दोहोरिएर भएको डेङ्गी  रोगमा जटिल समस्याहरू आउन सक्छ ।

लक्षणहरूः
–अत्यधिक ज्वरो आउनु  (१०२ डिग्री फरेनहाइटभन्दा माथि) ।
–आँखाको वरिपरि र ठीक पछाडिको भागमा अत्यधिक दुख्नु ।
–छालामा रातो डाबर वा धब्बा आउनु ।
–हड्डी फुट्ने गरी दुख्नु आदि ।

यी माथिका लक्षणहरू मुख्य लक्षणहरू हुन् र यस्ता लक्षण देखा परेमा डेङ्गी रोग भएको अनुमान गर्न सकिन्छ ।
अन्य लक्षणहरूः
–वाक्वाकी लाग्छ ।
–छट्पटी हुन्छ ।
–बान्ता हुन्छ ।
–शरीरमा बिमिरा आउन सक्छ ।
–नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ ।
–यदि शरीरमा प्लेटलेट्सको मात्र कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राव हुनसक्छ ।
–धेरै रक्तश्राव भएमा बिरामी बेहोस हुन्छ ।
–समयमा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

उपचारः
डेङ्गी भाइरसको कारणले गर्दा हुने रोग हो । विश्वमा अहिलेसम्म यसको भाइरसलाई मार्ने औषधि बनेको छैन । त्यसैले गर्दा यसमा लक्षणअनुसारको उपचार गर्नुपर्ने हुन्छ ।

–ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने ।
–ब्रुफिन र स्प्रिनजस्ता औषधिको प्रयोग नगर्ने ।  किनकि यस्ता औषधिको प्रयोगले रगत पातलो बनाई धेरै रक्तश्राव हुने भएकाले जोखिम बढ्न सक्छ ।
–बिरामीलाई आराम गराउने ।
–बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरू दिने ।
–यदि बच्चा, गर्भवती महिला र डेङ्गी दोहोरिएर भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउने ।
–होमियोप्याथिक  उपचार पद्दतिअनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा यो रोगमा होमियोप्याथिक उपचार लाभप्रद देखिन्छ ।
–बान्ता, चक्कर र छट्पटी लागि शरीर कमजोर भई बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने ।
–शरीरमा पानीको मात्रा कम हुने हुँदा एकदम झोलिलो खाने कुरा दिने ।

सावधानीः
डेङ्गी सार्ने मच्छड सफा र जमेको अनि कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी सङ्ख्या बढाउने हुँदा सम्पूर्ण पानी जम्ने प्रकृतिका वस्तुहरू नष्ट गर्नुपर्छ ।
यो प्रजातिको मच्छड उज्यालो समयमा बढी सक्रिय हुने हँुदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनुभन्दा अगाडि यसबाट बच्ने उपायहरू अपनाउनु पर्छ ।
–झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने ।
–गाउँ, टोल र बस्तीहरू सफा राख्ने ।
–मच्छडको टोकाइबाट बच्ने क्रिमहरू लगाउने ।
–मच्छड भगाउने धुप बालेर सुत्ने ।
–विभिन्न चिकित्सा पद्दतिअनुसार तीतो चिराइतो, निमपत्ती, मेवाको पातलगायतका औषधिहरू खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ तर, नाडीको गति र रक्तचाप कम भएको छ भने त्यस्तो बेलामा तीतोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ । त्यसैले यस्ता कुरामा विश्वास नगरी चिकित्सकको सल्लाह लिएर मात्र यस्ता औषधिहरू सेवन गर्नु उचित हुन्छ ।

फगिङ वा धुवाँबाट यो प्रजातिको मच्छड र लार्भाहरू नष्ट गर्न सकिन्छ ?
विभिन्न अनुसन्धानबाट प्राप्त जानकारीअनुसार फगिङ वा धुवाँ लगाएर मच्छड मार्ने पद्दतिबाट केही हदसम्म मरे पनि त्यसबाट सम्पूर्ण लार्भाहरू नष्ट नहुने हँुदा यो विकल्प पनि अपूरो छ । त्यसै कारणले गर्दा पानी जम्ने स्रोत नष्ट गर्नु नै सबैभन्दा राम्रो विकल्प हुनसक्छ । धुवाँ लगाउने विधि अन्तिम विकल्प होइन ।

सरकारको दायित्वः
–जनचेतनाका कार्यक्रमहरू गरी अभियानहरू चलाई पानी जम्ने स्रोतहरू नष्ट गर्ने ।
 –डेङ्गी चेकजाँचमा सहजता बनाउने ।
–उपचारलाई सरल, सहज र कम खर्चिलो बनाउने खालका योजना, नीति र कार्यक्रमहरू ल्याउने ।
–जोखिम क्षेत्रको अध्ययन गरी क्षति कम गराउने खालका योजनाहरू बनाउने ।
–यस्तो महामारीमा विभिन्न स्वास्थ्य संस्थाहरूले आफूखुसी दररेट बढाएर डेङ्गीको चेकजाँच गर्ने गरेको पाइएको हुँदा त्यस्ता प्रकारका अवैधानिक गैरजिमेवारी कामको नियन्त्रण गर्ने ।
–त्रास फैलन नदिने तर, सही समाचार सम्प्रेषण गर्ने ।
–सञ्चारक्षेत्रको सहयोग लिने ।
–महामारीको समय भएको हुँदा प्राइभेट स्वास्थ्य संस्थालाई पनि सहुलियत दरमा उपचार गराउनको लागि आग्रह गर्ने ।
–सबै सङ्घ–संस्था र शिक्षकहरूलाई प्रतिनिधिमूलक तालिम गराउने ।
 –डेङ्गी लागिसकेको मानिसलाई सुरक्षित र झुलभित्र राख्नुपर्छ, नत्र एडीस प्रजातिका मच्छडले सङ्क्रमित व्यक्तिलाई टोक्दा गाउँ, घर र सहर सबै ठाउँमा सङ्क्रमण बढ्ने सम्भावना हुन्छ, त्यसैले लक्षित गरिब परिवारलाई झुल वितरण गर्ने कार्यक्रम ल्याउने ।
 (लेखकः इटहरीस्थित इन्खा एकीकृत अस्पतालका अध्यक्ष हुन् ।)