धरान/मेरुदन्डको समस्यालाई निराकरण गर्न विकसित भएको ‘आधुनिक चिकित्सा पद्धति’का विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार ‘मृत शरीरमा प्रत्यक्ष प्रशिक्षण’ कार्यक्रम गरिएको छ ।
देशभरका स्पाइनल सर्जरी हुने अस्पतालहरूबाट आएका विशेषज्ञ चिकित्सकहरूले २० वटाजति कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुतपश्चात् अर्थोपेडिक्स अध्ययनरत र अध्ययन पूरा गरेका ४० जना सर्जनलाई ‘मृत शरीरमा प्रत्यक्ष प्रशिक्षण’ दिइएको बीपी प्रतिष्ठान हाडजोर्नी विभागका प्रा.डा. पशुपति चौधरीले बताए । मेरुदन्डको समस्या आएकाहरूलाई नेपालमा पछिल्लो एक दशकयता मात्रै गुणस्तरीय उपचार हुँदै आएको छ । ‘त्यसअगि मेरुदन्डको समस्या भएका बिरामी कि त अन्य देशमा जानुपथ्र्यो कि त थलिएर बस्नुपर्ने अवस्था थियो’ कार्यपत्र प्रस्तुतपश्चात् प्रा.डा. चौधरीले भने, ‘नेपालमै राम्रोसँग उपचार हुन थालेको ५–१० वर्ष मात्रै हुँदै छ ।’
एसोसिएनस अफ स्पाइन सर्जन अफ नेपाल र बीपी प्रतिष्ठान हाडजोर्नी विभागको संयुक्त पहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा टिचिङ, वीर, ग्रान्डी, धुलिखेल अस्पताल, नोबेल मेडिकल कलेज, बिएन्डसी, विराट मेडिकल कलेज, रामराजा प्रतिष्ठानलगायतका विशेषज्ञ चिकित्सकहरू सहभागी रहेका थिए । मेरुदन्डको उपचार पद्धतिमा भित्रिएको नयाँ प्रविधिहरूको बारेमा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रमका सभाध्यक्ष बीपी प्रतिष्ठान हाडजोर्नी विभागका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए ।
विगतमा मेरुदन्डको समस्या भएमा सही ढङ्गले उपचार नहुँदा त्यसै थलिएर बस्नुपर्ने या अन्य देशमा जानुपर्ने अवस्था रहेको थियो । यसको उपचार किन गर्ने, कसरी गर्ने र केका लागि गर्ने ? जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिए । सर्जनहरूले आआफ्ना ज्ञान आदानप्रदान गरेका थिए । कार्यक्रममा बीपी प्रतिष्ठानका प्रा.डा. चौधरी, डा. प्रमोद बराल, डा. राजीव महर्जन, ग्रान्डी अस्पतालका डा. व्यापक पौडेल, किस्ट मेडिकल लेजका डा. सुरज बज्राचार्य, रामराजा प्रतिष्ठानबाट प्रा.डा. रोहित पोखरेल लगायतले कार्यपत्र प्रस्तुत गरे ।
नेपालमा मेरुदन्डका समस्या सबैभन्दा बढी सडक दुर्घटना, भीरबाट लडेर, रुखबाट लडेर, घरको छानाबाट लडेर हुने गरेको छ । बीपी प्रतिष्ठानमा हजारौंका सङ्ख्यामा बिरामीहरू मेरुदन्डको समस्या लिएर आउने गरेका छन् । मेरुदन्डको हड्डी भाच्चिने, नसामा चोट लाग्ने जसले गर्दा प्यारालाइसिसको समस्या हुने गरेको छ । मेरुदन्डको समस्या हुनेहरूको सही उपचार हुँदा पुरानै अवस्थामा फर्किने गरेको चिकित्सक बताउँछन् ।