धरान । विभिन्न कारण मेरुदण्डमा आउने समस्यालाई निराकरण गर्न विकसित भएको ‘आधुनिक चिकित्सा पद्धति’ का विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार ‘मृत शरीरमा प्रत्यक्ष प्रशिक्षण’ कार्यक्रम गरिएको छ ।
देशभरका स्पाइनल सर्जरी हुने अस्पतालहरूबाट आएका विशेषज्ञ चिकित्सकहरूले २० वटाजति कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुतपश्चात् अर्थोपेडिक्स अध्ययनरत र अध्ययन पूरा गरेका ४० जना सर्जनलाई ‘मृत शरीरमा प्रत्यक्ष प्रशिक्षण दिइएको बीपी प्रतिष्ठान हाडजोर्नी विभागका प्रा.डा. पशुपति चौधरीले बताए ।
मेरुदण्डको समस्या भएकाहरूलाई नेपालमा पछिल्लो एक दशकयता मात्रै गुणस्तरीय उपचार हुँदै आएको छ । ‘त्यसअगि मेरुदण्डको समस्या भएका बिरामी कि त अन्य देशमा जानुपथ्र्यो कि त थलिएर बस्नुपर्ने अवस्था थियो’ कार्यपत्र प्रस्तुतपश्चात् प्रा.डा. चौधरीले भने, ‘नेपालमै राम्रोसँग उपचार हुन थालेको ५–१० वर्ष मात्रै हुँदै छ ।’
एसोसिएनस अफ स्पाइन सर्जन अफ नेपाल र बीपी प्रतिष्ठान हाडजोर्नी विभागको संयुक्त पहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा टिचिङ, वीर, ग्रान्डी, धुलिखेल अस्पताल, नोबेल मेडिकल कलेज, बी एन्ड सी, विराट मेडिकल कलेज, रामराजा प्रतिष्ठानलगायतका विशेषज्ञ चिकित्सकहरू सहभागी रहेका थिए ।
मेरुदण्डको उपचार पद्दतिमा भित्रिएको नयाँ प्रविधिहरूको बारेमा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रमका सभाध्यक्ष बीपी प्रतिष्ठान हाडजोर्नी विभागका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए । मेरुदण्डमा आउने समस्याको उपचार कसरी गर्ने र केका लागि गर्ने ? जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिए ।
सर्जनहरूले आ–आफ्ना ज्ञान आदान–प्रदान गरेका थिए । कार्यक्रममा बीपी प्रतिष्ठानका प्रा.डा. चौधरी, डा. प्रमोद बराल, डा. राजीव महर्जन, ग्रान्डी अस्पतालका डा. व्यापक पौडेल, किस्ट मेडिकल कलेजका डा. सुरज बज्राचार्य, रामराजा प्रतिष्ठानबाट प्रा.डा. रोहित पोखरेललगायतले कार्यपत्र प्रस्तुत गरे ।
नेपालमा मेरुदण्डका समस्या सबैभन्दा बढी सडक दुर्घटना, भीरबाट लडेर, रुखबाट लडेर, घरको छानाबाट लडेर हुने गरेको छ । बीपी प्रतिष्ठानमा हजारौंका सङ्ख्यामा बिरामीहरू मेरुदण्डको समस्या लिएर आउने गरेका छन् । मेरुदण्डको हड्डी भाँच्चिने, नसामा चोट लाग्ने जसले गर्दा प्यारालाइसिसको समस्या हुने गरेको छ । मेरुदण्डको समस्या हुनेहरूको सही उपचार भएमा पुरानै अवस्थामा फर्किने गरेको चिकित्सक बताउँछन् ।