बेलबारी । उमेरले भर्खर १५ वर्षमा हिँड्दै छन्, मोरङ बेलबारी नगरपालिका–९ का राजीव साह । तर, काँधमा भने वयस्क छोरा झैं जिम्मेवारी आइलागेको छ । यही जिम्मेवारीले कक्षातिरभन्दा कमाइ गर्न दौडिनु परेको छ ।
बिरामी बुबाको उपचारको बोझ उनको काँधमा छ । कापी, कलम बोकेर हिँड्ने बेलामा बुबा अशोक साहको उपचारमा जुट्नु परेको छ । घरखर्च साथै उपचारको बोझकै कारण उनले ई–रिक्सा चलाएर दैनिकी गुजारिरहेका छन् । उनी स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत थिए ।
तर, पारिवारिक जिम्मेवारीका कारण स्कुल छाडेर ई–रिक्सा घुमाउँदै दिन बित्छ । बिहान ११ बजेसम्म स्कुल पढ्छन् । त्यसपछि सफारी चालकको भूमिकामा देखिन्छन् ।
उनको भूमिका फेरिएको धेरै दिन भएको छैन । केही महिनाअगिसम्म सब ठीकठाक थियो । ४३ वर्षीय बुबा अशोक सिटी सफारी चलाउँथे । त्यहीँबाट जीविकोपार्जन हुन्थ्यो । तर, बुबाको दुवै मिर्गौला फेल भएको पुष्टि भएपछि भने बुबाको जिम्मेवारी उनमा आइपुगेको छ ।
बुबाको सातामा दुईपटक डायलाइसिस गर्नुपरेका कारण पनि पैसा आवश्यकता पर्छ । डायलाइसिसमा कम्तीमा ३ देखि ४ हजार रुपैयाँ खर्चिनु परेको उनी बताउँछन् । बुबाको उपचारको खर्च जुटाउन पनि पढाइलाई थाती राखेर सिटी कुदाउने बाध्यता आइलागेको सुनाउँछन् ।
राजीवका अनुसार सिटी सफारीबाट दैनिक पाँच सय रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही आम्दानीले परिवारको खर्च र बुबाको उपचार धान्न सम्भव नभएको उनको भनाइ छ । उनको जिम्मेवारी बुबालाई उपचार गर्ने मात्रै नभई कक्षा ८ मा अध्ययनरत भाइको पढाइ खर्च जुटाउनेसम्म गर्नुपर्छ ।
दिनभरिको कमाइले चुल्होचौकादेखि उपचार र पढाइ सबैमा खर्चिनु परेको उनको भनाइ छ । कतिपय यात्रुले सानैमा सिटी चलाएको भन्दै सहानुभूति प्रकट गर्ने गरेको उनी बताउँछन् ।
स्थानीय चक्र भण्डारीका अनुसार साह परिवारको आर्थिक स्रोतको आधार नै सिटी सफारी हो । भण्डारीले गरिब परिवारमा आइलागेको दुःखमा साथ दिनका लागि सबैलाई सहयोग गरिदिन अपिल गरे ।