धरान । बोनम्यारो क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ हुने भएको छ । असोज १० गते दसैँको पहिलो दिन झापाको दमकमा कन्सर्ट हुने आयोजकले जनाएको हो ।
गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिने ‘मुस्ताङ मनोरञ्जन धमाका’ मा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङलगायतका कलाकारहरूको समेत प्रस्तुति रहनेछ । दमक–९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजेदेखि सुरु आयोजकले जनाएको छ ।
कदम थिएटर र थैली इन्टरटेनमेन्टको आयोजनामा कन्सर्ट हुन लागेको हो । कन्सर्टबाट हुने सम्पूर्ण आम्दानी न्यूनतम् खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिने बताइएको छ ।
क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार बिरामीको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख खर्च भइसकेको छ भने रगत ट्रान्स्प्लान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ ।
मानवीय सेवाका लागि आयोजित कन्सर्टको लागि कलाकार, प्राविधिक तथा प्रायोजकहरू सबैले उत्तिकै साथ–सहयोग गरेको आयोजकमध्येका भूपेन्द्र तुम्बाहाङ्फेले बताए ।