धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कैलालीको गेटा मेडिकल कलेजका समस्या समाधान गर्न सरकार सहमत भएको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित २० औँ सत्याग्रह गरिररहेका डा. गोविन्द केसी र सरकारबीच शनिबार सहमति भएको हो ।

विभिन्न ७ बुँदे माग राखी सुरुमा कैलालीको धनगढी र त्यसपछि काठमाडौंमा अनशन बसिरहेका केसीका सहयोगी र सरकारबीच शनिबार वार्ता भएको थियो । केसीका सहयोगीका अनुसार वार्ताका क्रममा सरकार माग पूरा गर्न तयार भएपछि सहमति जुटेको हो ।

यो सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । धनगढीमा अनशनकै क्रममा समस्या भएपछि केसी आफै टिकट काटेर काठमाडौं आएका थिए । उनलाई सुरुमा सरकारले ल्याउन खोजेको थियो ।

काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशनलाई निरन्तरता दिएका उनी पछिल्लो समय बिरामी परिसकेका थिए । केसीको अवस्था खस्किएपछि सरकारले उनीसँग वार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाएको थियो । डा.केसीको तर्फबाट डा. जीवन क्षेत्रीसहितका सहयोगी थिए ।

केसीले यसअघि गत भदौ २७ गते विभिन्न ७ बुँदे मागसहित धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसी धनगढीबाट आफ्नै खर्चमा काठमाडौं फर्किएका थिए । यसअघि पनि प्रधानमन्त्रीको कार्यालयमा सचिवस्तरीय बैठक राखेर छलफल भएको थियो ।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याव, एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेका निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए ।

यस्तै २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो ।