धरान । देशव्यापी रूपमा फैलिरहेको डेङ्गीले महामारीको रूप लिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार साउनयता २२ हजार ९ सय ८८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको सङ्ख्या २९ पुगिसकेको छ । स्वास्थ्यविज्ञहरूले सरकारले डेङ्गी नियन्त्रणमा ढिलाइ गरेकाले सङ्क्रमित र मृत्युको सङ्ख्या अझै बढ्नसक्ने चेतावनी दिएका छन् ।
तथ्याङ्कअनुसार हालसम्म प्रदेश १ मा ५ सय ९१, मधेस प्रदेशमा ३ सय २३, बाग्मती प्रदेशमा १७ हजार ७ सय ३१, गण्डकी प्रदेशमा ५ सय १५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय २१, कर्णाली प्रदेशमा ३ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७७ जना सङ्क्रमित भेटिएका छन् । सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेङ्गीबाट १७ हजार ९ सय ९२ जना सङ्क्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।
महाशाखाले काठमाडौं उपत्यकालगायत देशभर डेङ्गी सङ्क्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको जनाएको छ ।
विज्ञहरूले डेङ्गी देखिने बित्तिकै नियन्त्रणका लागि सरकारले सक्रियता देखाएको भए यति धेरै नफैलिने बताएका छन् । उनीहरूले कोभिडमा जस्तै डेङ्गी नियन्त्रणका लागि पनि सरकार सक्रिय बन्नुपर्ने बताएका छन् । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या पनि अधिक नै छ ।
विद्यालय, कार्यालय, कारखानालगायत ठाउँमा लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नसके नियन्त्रण सहज हुने विज्ञहरूको भनाइ छ ।