विराटनगर । मोरङका खोलाहरूबाट नदीजन्य पदार्थको चोरी तस्करी ह्वात्तै बढेर गएको पाइएको छ ।
सबैभन्दा बढी केराबारीको खदम खोलाबाट नदीजन्य पदार्थको चोरी तस्करी बढेर गएको हो । यसैगरी केराबारी गाउँपालिका क्षेत्रभित्रका बूढीखोला, मुगुखोला, हुरहुरे खोला, खदम खोला, हचुवा खोला, भलुवा–लोहन्द्रा खोला र तुर्क–विराजे खोला बगरबाट नदीजन्य पदार्थको चोरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।
असोज ३ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोलाबाट ढुङ्गा सङ्कलन गर्ने अनुमति दिएको खदम खोलामा सोही दिन राति ११ बजेदेखि खुलेआम गिट्टी, बालुवाको चोरी हुन थालेको स्थानीयले बताएका छन् ।
असोज ३ गते रातिदेखि हरेक दिन खोलाबाट दर्जनौं टिपरले ढुङ्गा–गिट्टी चोरेर लैजाने गरेको भए पनि अनुगमन र नियन्त्रण गर्नेसमेतको जिम्मेवारी भएको केराबारी गाउँपालिकाले त्यसतर्फ ध्यान दिएको छैन । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले खोलाबाट पूर्णरूपमा चोरी नियन्त्रण गर्न नसकिएको स्वीकारेका छन् ।
‘खोलाको डिलका निजी जग्गाबाट उत्खनन् गरेर रातिराति लैजाने घटनाहरू भएका छन्, तर त्यसलाई कतिपय बेलामा म आफै पुगेर नियन्त्रणमा लिएको छु’ अध्यक्ष मगरले भने, ‘अहिले राति १ बजेदेखि बिहान ४ बजेको बीचमा खोलाबाट ढुङ्गा–गिट्टी चोरी हुने गरेको मैले पनि सुनेको छु तर, त्यो विगतको तुलनामा निकै कम छ, अझ भनौं राति हुने चोरीको घटनामा ६० प्रतिशत कमी आएको छ ।’ असार र साउन महिनामा चोरी पूर्णरूपमा रोकिएको तर, भदौ लागेपछि छिटपुट रूपमा चोरीका घटना भएको सुनिएको उनले बताए ।
प्रहरी चौकी केराबारीले हल्ला भएजस्तो ढुङ्गा–गिट्टी चोरी नभएको दाबी गरेको छ । प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक उत्तरकुमार श्रेष्ठले भने, ‘बाहिर हल्ला भएजसरी खोला चोरी भएको छैन, यहाँ प्रहरीको सङ्ख्या थोरै छ, १० जना प्रहरीले एकनासै खोलाहरू कुरेर बस्न पनि सक्दैन, हामी नभएको समयमा चोरी भएको रहेछ भने जानकारी भएन नत्र त्यसरी चोरी भएको छैन ।’
चुरे संरक्षण र वातावरणका विषयमा निरन्तर अभियान चलाउँदै आएका केराबारीका बलबहादुर भुजेलले खोलाबाट ढुङ्गा–गिट्टीको चोरी नरोकिएको बताएका छन् । ‘खोलामा चोरी अहिलेमात्र होइन, सधैँ भई नै रहेको छ । प्रहरी प्रशासनसँगको मिलेमतोमा चोरी हुने गरेको छ र अहिलेपनि भइरहेको छ । दुई–चार दिनयता पुल बनाउँदा थुप्रिएको गिट्टी–ढुङ्गा लैजान नगरपालिकाले अनुमति दिएको पनि छ ।’
खोला ठेक्का लगाउन प्रारम्भिक वातावरणीय परीक्षण गर्दै
स्थानीय तहको निर्वाचनमा मतदातासमक्ष जाँदैगर्दा वर्तमान अध्यक्ष मगरले खोला नखन्ने प्रतिज्ञा गरेका थिए । बितेको पाँच वर्षमा खदम खोला र अरू खोलाहरूको अत्यधिक दोहन भएको थियो । खोला दोहनको विपक्षमा रहेको जनमतलाई आफूतिर तान्न त्यस्तो प्रतिज्ञा गरेको भए पनि अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले खोला उत्खनन् गर्ने उद्देश्यले सार्वजनिक सूचना प्रकाशित गरेर प्रारम्भिक वातवरणीय परीक्षण गर्न परामर्शदाता नियुक्त गरी सात दिनभित्र सुझाव माग गरेको थियो । सुझाव सङ्कलन गर्ने ७ दिने म्याद शुक्रबार सकिएको छ ।
गाउँपालिकाले असोज १ गते ‘केराबारी गाउँपालिका क्षेत्रभित्रका बूढीखोला, मुगु खोला, हुरहुरे खोला, खदम खोला, हचुवा खोला, भलुवा–लोहन्द्रा खोला र तुर्क–विराजे खोला बगरबाट दिगो रूपमा ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन तथा उत्खनन् गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण गर्नेसम्बन्धी सार्वजनिक सूचना’ प्रकाशित गरेको हो ।
यसका लागि काठमाडौंको अनामनगरस्थित सार्प रिसर्च सेन्टर प्रा.लि.लाई परामर्शदाताको रूपमा खरिद गरेको छ । खोला उत्खनन्बाट सो क्षेत्रको जैविक तथा परिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरूबीच सकारात्मक वा नकारात्मक प्रभाव पर्ने नपर्नेबारे सम्बन्धित वडा, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थालाई सुझाव दिन भनिएको छ ।
केराबारी गाउँपालिकाले विगत वर्षमा खदमलगायतका खोलाहरू ठेक्का लगाएर ११ करोड रुपैयाँसम्म आर्जन गरेको थियो । गतवर्ष अमानतमा ढुङ्गा–गिट्टी बिक्री गर्दा गाउँपालिकाले न्यूनमात्र आर्जन गरेको थियो । यो वातावरणीय परीक्षणबाट उत्खनन् गर्न मिल्ने देखिएमा ढिलोमा चार महिनाभित्र खोला ठेक्का लाग्नेछ ।
एक हप्ता ढुङ्गा सङ्कलन खुल्ला
असार १ गतेदेखि बन्द भएको नदीजन्य वस्तुको उत्खनन् असोज लाग्दा पनि नखुलेपछि ढुङ्गा टिपेर जीवन चलाउने विपन्न परिवारको दसैं प्रभावित भएको भन्दै केराबारी गाउँपालिकाले सात दिनका लागि ढुङ्गा सङ्कलन खुला गरेको छ । यो अवधिमा स्थानीयले टिपेर सङ्कलन गरेको ढुङ्गा गाउँपालिकाले शनिबारबाट निकासी खुला गरेको छ । यो क्रम एक सातासम्म चल्नेछ ।
गाउँपालिकाले स्थानीय सरोकारवालासँग छलफल गरेर असोज ३ गतेदेखि खदम खोलामा ढुङ्गा टिप्ने अनुमति दिएको हो । त्यसयता खोलामा ढुङ्गा टिप्नेहरू सक्रिय छन् । उनीहरूले सङ्कलन गरेको ढुङ्गा असोज १५ गतेसम्म निकासी गर्ने गाउँपालिकाले जनाएको छ ।
‘विपन्न वर्गका मानिस जो खोलामा ढुङ्गा टिपेर गुजारा गर्छन्, उनीहरूले दसैं नै मनाउन नपाउने भए, उनीहरूको आयआर्जन बन्द भयो भन्ने गुनासो आएपछि हामीले सात दिनका लागि ढुङ्गा टिप्न खुला गरेका हौं’ गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले भने, ‘अबको ७ दिनपछि ठेक्का नलागेसम्मका लागि खोलाबाट ढुङ्गा वा गिट्टी, बालुवा उत्खनन् र सङ्कलन पूर्णरूपमा बन्द हुन्छ ।’
गाउँपालिकाले खोलामा ढुङ्गा खोजेर जीवन चलाउनेहरूले पनि दसैं मनाउन पाउन भन्ने उद्देश्यले सात दिन खोलामा पस्ने अनुमति दिएको देखिन्छ । व्यावहारिक र मानवीय दृष्टिले गाउँपालिकाको निर्णय गलत छैन । तर, त्यसै बहानामा खोलाबाट नदीजन्य पदार्थको चोरी तस्करी ह्वात्तै बढेको छ । असोज ३ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोलाबाट ढुङ्गा सङ्कलन गर्ने अनुमति दिएको खदम खोलामा सोही दिन राति ११ बजेदेखि खुलेआम गिट्टी बालुवाको चोरी हुन थालेको स्थानीयले बताएका छन् ।