धरान । झापा गाउँपालिका ७ नम्बर वडाकी फुलमाया राजवंशीले आफैले जचाउँदै आएको चिकित्सक आफ्नै गाउँमा देख्दा अवाक भइन् । मुटुको समस्याले पीडित राजवंशीले १२ वर्षदेखि मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहलाई देखाउँदै आएकी थिइन् । 

तर, आफ्नै गाउँमा पनि आइपुग्लान् भन्ने उनलाई लागेको थिएन । फूलमाया भन्छिन्, ‘आफ्नै आँगनमा पाउँदा साह्रै खुसी भएकी छु ।’ मुटुको शल्यक्रिया गरिदिने डाक्टर प्रशान्त उनकै गाउँ झापामा यसपटक परिवर्तनका लागि सामाजिक अभियानको ‘स्वास्थ्य क्लिनिक’मा पुगेका थिए । राजवंशीले मुटुको जाँच गराउन सय किलोमिटर टाढा जानुपर्ने बाध्यता छ । 

अभियानले यसपटक २५ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक झापा गाउँपालिकामा गरेको हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. साहसँगको सहकार्यमा अभियानले क्लिनिक गर्दै आएको छ । विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका बिरामीको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । २४ औं संस्करणसम्म धरानमा गरिएको भए पनि २५ औं संस्करण झापा गाउँपालिका–७ मा गरिएको अध्यक्ष विष्णु बरालले बताए । 

health_camp_jhapa (1)

पहिलो पटक २०७८ असोज २ गते धरानको मोडल कलेजबाट क्लिनिक प्रारम्भ गरिएको थियो । ‘झापाको दुर्गम गाउँ मानिने झापा गाउँपालिका क्लिनिक गर्न पाउँदा निकै खुसी छौँ’ अध्यक्ष बरालले भने, ‘गाउँवासी पनि निकै लाभान्वित हुनुभयो ।’

नेपाल हृदयरोग प्रतिष्ठान झापा, रोटरी क्लब अफ सुरुङ्गा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र झापा गाउँपालिका वडा नं. ७ को सहकार्यमा क्लिनिक गरिएको हो । क्लिनिकमा १ सय २ जनाको स्वास्थ्य परीक्षण गरियो । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले स्वास्थ्य परीक्षण गराउँदै धन्यवाद ज्ञापन गरे । क्लिनिकलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्स रेणु चौधरीले सहयोग गरिन् । कार्यक्रममा निःशुल्क औषधि पनि वितरण गरिएको थियो । 

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वर्षा अग्रवाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल लगायत अभियन्ता सहभागी थिए । नेपाल हृदयरोग प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले अभियानले यति टाढा आएर झापावासीको स्वास्थ्य जाँच गरिदिएकोमा खुसी व्यक्त गरे । धरान र झापा गाउँपालिका ७ को दूरी ९५ किलोमिटर रहेको उनले बताए ।