धरान । नेपाल सम्बत् ११४३ को अवसरमा धरानमा शुभकामना र्याली (भिन्तुना र्याली) आयोजना गरिने भएको छ ।
झिगु समाज धरान–३ को आयोजनामा धरानका खलः पुचःहरूको संयुक्त बैठकले आगामी कात्तिक ९ गते भिन्तुना र्याली गर्ने निर्णय गरेको हो । झिगु समाजका अध्यक्ष मोहनकाजी शाक्यको अध्यक्षतामा बसेको बैठकमा १२ वटा खलः पुचका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विगतका वर्षमा कोरोना सङ्क्रमणका कारण राम्रोसँग नेपाल सम्बत्को नयाँ वर्षको शुभकामना आदान–प्रदान र र्याली गर्न नसकिएकाले यस वर्ष भव्य कार्यकम आयोजना गर्ने निर्णय भएको झिगु समाजका अध्यक्ष शाक्यले बताए ।
भानुचौकबाट भिन्तुना र्याली सुरु गरी नयाँ बजार, छाताचौक, सिंहदेवी चौक हुँदै चिनियाँ चोकमा रहेको शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम छ । र्यालीमा झाँकी अनि मोटरसाइकल र साइकल र्याली पनि समावेश गरिने बताइएको छ ।
उक्त दिन समाजका उपाध्यक्ष हरेराम कर्माचार्यवाट सम्पादन हुने नेपाल सम्बत् गोजी पात्रो पनि विमोचन गरिने भएको छ । भेलामा नेवाः देय् दबू केन्द्रीय उपाध्यक्ष अनिल मास्के, झिगु समाजका प्रमुख सल्लाहकार बालकृष्ण हलुवाई, सल्लाहकार देवराज श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेन्द्र स्थापित, सचिव प्रेम तुलाधरलगायतले आफ्नो विचार राख्दै सबैको सहयोग र सहभागितामा कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएमा थिए ।