धरान । अनेकन मिथक जोडिएको बूढासुब्बा (बूढाबाजे) मन्दिरलाई ऐतिहासिक रूप दिने प्रयास गरिँदै छ । पुरातत्व विभागले कङ्क्रिटबाट निर्मित मन्दिरका पिल्लरलाई कङ्क्रिटरहित निर्माण गर्दै ऐतिहासिक रूप दिन लागेको हो ।

बूढासुब्बा मन्दिरमा कङ्क्रिटको पिल्लर २०६० को दशकमा निर्माण गरिएको जानकारहरू बताउँछन् । त्यसअगि काठका खम्बाहरू थिए । बूढासुब्बाबारे जानकार स्थानीय अम्विका श्रेष्ठ भन्छन्, ‘कङ्क्रिट बनाएको कति पनि भएको छैन, मिति त भुलिसकेँ तर, धेरै भएको छैन ।’

मन्दिरका पुजारी उत्तम आले मगरका अनुसार धरान–१० का नगेन्द्र सुब्बाको नेतृत्वमा २०५५–६० सालतिर मन्दिर जीर्णोद्धारा गर्ने क्रममा कङ्क्रिटका पिल्लरहरू बनाइएका हुन् । त्यसअगिसम्म मन्दिरमा काठका खम्बाहरू थिए । पुरातTव विभागले पछिल्लो चार वर्षयताबाट बूढासुब्बा मन्दिरलाई ऐतिहासिकता प्रदान गर्न बजेट विनियोजन गर्दै आएको छ ।

पुजारी मगरका अनुसार पहिलो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने किस्ताबन्दी गरी हालसम्म ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । ‘पुरातत्व विभागले मन्दिरहरूमा कङ्क्रिट नहाल्दो रै’छ’ उनले भने, ‘अहिले काठकै पिल्लर हालिएको छ । भूइँमा पनि ढुङ्गा बिछ्याउने काम भएको छ ।’

यस पटक विभागले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पुजारी मगरले बताए । जानकारका अनुसार २०१८ सालभन्दा अगिसम्म मन्दिरमा फुसको छाना थियो । त्यो बेला फुसको छाना हटाएर मन्दिरमा टिनको छाना हालिएको हो । त्यहीबेला नै काठका पिल्लरहरू हालिएको मन्दिरका अर्का पुजारी लीला मगर बताउँछन् । तर, स्थानीय श्रेष्ठ भने त्यो कालमा मन्दिर खुल्ला अवस्थामा रहेको दाबी गर्छन् । ‘बेराबारा नै थिएन, खुल्ला थियो । यसो बारेर मात्रै बनाइएको थियो’ उनले भने, ‘पछि फुसको छाना हालियो । धेरै पछि मात्रै टिन हालेको हो ।’

विभागले नेपालका सम्पदाहरूलाई साविक (मूल) रूपमै ल्याउनका लागि पुनर्निर्माण गरिरहेको छ । विभागका इन्जिनियर नवीन शर्मा भन्छन्, ‘मूल सम्पदालाई जस्ताका त्यस्तै बनाउने उद्देश्य हो । हिजो जे जे मेटेरियल प्रयोग हुन्थ्यो, त्यही मेटेरियल प्रयोग गरेर निर्माण गरिँदै छ ।’ उनका अनुसार मन्दिरको मौलिक स्वरूपमा परिवर्तन गरी मौलिकता प्रदान गर्न विभागले लगानी गरिरहेको छ । विगत चार वर्षदेखि बूढासुब्बामा लगानी गर्दै आइरहेको छ । ‘फेजवाइज काम भइरहेका छ’–उनले भने ।

गत वर्ष टिनको छानालाई हटाई फलेक ओछ्याई त्यहाँमाथि पित्तलको छाना हाल्ने काम गरिएको थियो । प्यागोडा शैलीमा निर्माण गरिएको बूढासुब्बाको मन्दिरको आ–आफ्नो मिथक छ । इमानसिंह चेम्जोङको पुस्तकमा बुद्धिकर्ण रायको समाधिस्थल हो भन्ने छ । त्यस्तै पथिक कवि लक्ष्मी आचार्यको रुद्राक्षरण्य नामक पुस्तकमा महाभारतका पात्र एललव्यको समाधिस्थल हो भन्ने उल्लेख गरेका छन् ।

पहिलो मिथकप्रति स्थानीय प्रेम पराजुली भन्छन्, ‘राजा पृथ्वीनारायण शाहले मारेको बुद्धिकर्ण रायको समाधिस्थल भन्ने छ । तर, त्यो बेला गोलीगठ्ठा बनिसकेको थियो भन्ने लाग्छ । मट्याङ्ग्रा र गुलेलीको प्रयोग गर्ने चलन थिएन । राजासँग बुद्धिकर्णले गुलेली र मट्याङ्ग्राले लडेनन् होला भन्ने लाग्छ ।’ अर्का मिथकप्रति उनी केही आश्वस्त छन् । किनकि महाभारतकालमा एकलव्य जो श्रेष्ठ धनुर्धर थिए । गुलेली र मट्याङ्ग्राको प्रसङ्ग आउने भएकाले त्यो चाहिँ केही विश्वासिलो आधार भएको उनको भनाइ छ ।

विजयपुरवासी प्रा.डा. टङ्क न्यौपानेले भने, ‘बुद्धिकर्ण रायको समाधिस्थल हुँदै होइन ।’ उनले थपे, ‘बुद्धिकर्ण मारिएको भनिएको करिब अढाई सय वर्ष भयो होला । दुई, अढाई सय वर्षमा कसैले देउता मान्न सक्छन्, एउटा प्रश्न । दोस्रो कुरा, त्यो बेला गोर्खालीको दबादवा थियो । तेस्रो, मगर पुजारीको इतिहास ५ सय वर्षको छ ।

पुजारीका हिसाबले पनि बुद्धिकर्णको त हुँदै होइन ।’ उनका अनुसार किरात तान्त्रिकको समाधि हुनसक्छ । प्रा.डा. न्यौपानेको तेस्रो तर्कलाई पुष्टि गर्दै पुजारी उत्तम आले भन्छन्, ‘हाम्रा बुबाले १७ पुस्ता भयो भनेर भन्नुभएको मलाई थाहा छ ।

एक पुस्ता ६० वर्ष मात्रै बाँच्दा पनि १ हजार २० वर्ष हुन आउँछ ।’ उनले आफ्नो पुस्ता सेनकालीनभन्दा अगाडि नै आएको दाबी गर्छन् । उनले भने, ‘पृथ्वीनारायण शाहको पालामा आको हो जस्तो लाग्दैन । सेनकालीनभन्दा अगाडि नै आएको हो जस्तो लाग्छ । यही हो भन्ने प्रमाण त छैन ।’