संसारमै नभएको अभ्यास नेपालमा हुने गरेको छ । त्यसैले त ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान हाम्रैजस्ता देशमा प्रचलित छन् । यो उखानको मर्म र अहिलेको सत्ताधारी गठबन्धनको सिट बाँडफाँडको खेल उस्तै छ । संसारका कुनै पनि देश यस्ता छैनन्, जहाँ निर्वाचनपूर्व गठबन्धन गरिएको होस् । यो अभ्यास राजनीतिक दर्शन, सिद्धान्त र मर्मविपरीत छ । सत्तामा पुग्ने भ¥याङ मात्रै बनाउन खोजिएको छ । राजनीति दर्शन तथा सिद्धान्तअनुसार निर्वाचनपश्चात् मात्रै ‘एजेन्डा’ मिल्ने दलहरूबीच गठबन्धन हुन्छ, त्यो पनि बहुमत नपुगेको अवस्थामा मात्रै । तर, यहाँ केही समययता यस्तो अभ्यासको थालनी गरिएको छ । यो अभ्यास राजनीतिका लागि मात्रै हैन, मतदाताका लागि पनि हितकर छैन । सत्तामा पुगेर शक्ति आर्जन गरी अरूलाई होचो देखाउने प्रवृत्ति नेपाली राजनीतिमा मौलाउँदो छ । यो प्रवृत्तिको अन्त्य हुन जरुरी छ । यस्ता प्रवृत्तिले देशलाई समृद्धितर्फ लाँदैन । यसले देशलाई झन्झन् अधोगतितर्फ डोर्याउँछ ।
पहिलो, गठबन्धन भइसकेपछि कुनै पनि राजनीति पार्टीको बहुमत आउँदैन । बहुमत नआएपछि गठबन्धन गरी शक्ति आर्जन गर्नुपर्ने हुन्छ । त्यसरी बनाइएको सरकारको दिगोपना हुँदैन । यसको ज्वलन्त उदाहरणहरू यसअगि नेपाली जनताले देखिसकेका छन्, भोगिसकेका छन् । दोस्रो गठबन्धनपश्चात् सरकार बन्दा भागबण्डा सुरु हुन्छ । भागबण्डाका कारण देशले नचाहिँदो आर्थिक व्ययभार व्यहोर्नुपर्ने हुन्छ । यसको ज्वलन्त उदाहरण प्रदेश १ को राजेन्द्रकुमार राईको सरकारलाई हेरे पुग्छ । तेस्रो, गठबन्धन हुँदा एउटा दिगो एजेन्डा अगाडि लान सक्दैन । त्यसका लागि साझा धारणा निर्माण गर्नुपर्ने हुन्छ । साझा धारणा बनाउँदा कोही न कोही बाधक भइरहेको हुन्छ । जसले गर्दा परिणाम निस्कँदैन । यस्ता अनेकन समस्याका कारण पनि चुनावपूर्वको गठबन्धन मतदाताका लागि श्रेयष्कर हुँदैन । बहुमतको सरकारबाट मात्रै दिगोपन हुने विश्वास गरिन्छ । सत्तामा पुग्नुपूर्व नै मोलमोलाइ हुनु मतदातामाथिको मोलमोलाइ पनि हो । यो असली मतदाताको हकमा कुठाराघात हो । हामीले निर्वाचनपूर्व नै सरकारको परिकल्पना गरेका हुँदैनौं । अनुमानसम्म गर्न सकिएला । तर, यहाँ त सुरुमै कुन दलको सरकार बन्छ भन्ने ग्यारेन्टी हुने आधार निर्माण हुँदैछ । यो एउटा आदर्शवान मतदाताका लागि सुहाउँदो कुरो होइन ।
निर्वाचनको एउटा सुन्दर पक्ष भनेकै जनमत हो । तर, यहाँ जबर्जस्त मतदातालाई जनमत सिर्जना गराइँदै छ । मतदाताको किनबेच सुरु भएको आभास दिलाइँदै छ । जनमत कतातिर छ ? कसको पक्षमा छ ? भन्ने भन्दा सत्ताका लागि सुरुमै गठबन्धन गरी शक्ति आर्जन गर्ने ध्याउन्नमा नेता लागेका छन् । मतदाताले यसको खुलेर विरोध गर्नुपर्छ । संसारमै नभएको अभ्यासका पछाडि मतदाता लाग्नु हुँदैन । समृद्ध र सम्पन्न देश मतदाताको परिकल्पना हो । तर, यहाँ राजनीतिक दल, तिनका भातृ संस्थाहरू व्यवसायी भएका छन् । हाम्रो भागमा कति आउँछ ? भन्ने बहस र छलफलमा तल्लीन हुनेहरूले देश बनाउलान् भन्ने परिकल्पना गर्नु मूर्खता मात्रै हुनेछ । त्यसकारण मतदाता सचेत हुन आवश्यक छ ।