दैनिक गुजारा चलाउन समस्या भएपछि मानिसले गुजारका लागि विकल्प खोज्छ । त्यसैको उदाहरण हो अन्तु । कुनै समयमा पेटभरि मकैको भात खानसमेत मुस्किल भएर भारतको दार्जिलिङ, आसाम, मेघालयलगायतका क्षेत्रमा दैनिक ज्यालादारीमा मजदुरी गर्न बाध्य अन्तुवासीहरू आज दैनिक ७ देखि १० लाखसम्म गाउँमै कमाउन सफल छन् । भनिन्छ, अभावले कि सम्भावनाको खोजी गर्छ कि पलायनताको । विकास सम्भावना खोजी गर्नेहरूको हो । जसले अभावमा उपयुक्त विकल्प सहितका सम्भावनाहरू देख्दछ ऊ सफल हुन्छ भन्ने उदाहरण हुन् अन्तुवासीहरू ।
यो इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नं.४ मा अवस्थित अन्तु डाँडाको कथा हो । इलाम जिल्लाको मात्र नभएर नेपालकै पूर्वी सिमानामा रहेको यो गाउँ सूर्याेदय नगरपालिकाको पूर्वी सिमानामा अवस्थित छ । भारतसँग सिमाना जोडिएको यो गाउँमा जम्मा १३ सय २ घर धुरीमा ५ हजार ९ सय ८१ जना मानिसहरूको बसोबास रहेको छ । जातीय आधारमा ६५ प्रतिशत आदिवासी जनजाति, २२.२ प्रतिशत ब्राह्मण, ८.८ प्रतिशत क्षेत्री र ४ प्रतिशत दलितको बसोबास रहेको छ भने धर्मका आधारमा ५१ प्रतिशत हिन्दु, २२ प्रतिशत बौद्ध, २५ प्रतिशत किरात र २ प्रतिशत क्रिश्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ । (स्रोतः नगर प्रोफाइल सूनपा)
यस ठाउँमा सम्भावना देखेका केही जाँगरिला युवाहरूले बनाएको सफलतासँग सम्बन्धित रही युवा व्यवसायी, राजनीतिक व्यक्तित्व एवम् नेपाल होम–स्टे व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष एकराज घिमिरेसँग गरिएको कुराकानीका आधारमा यो आलेख तयार पारिएको छ ।
अन्तु र यसको ऐतिहासिक पृष्ठभूमि
नेपालको एकीकरण हुनुभन्दा पहिला यो क्षेत्र सिक्किम राज्यमा पर्दथ्यो । जब नेपाल एकीकरण भएर पूर्वमा टिष्टासम्मको सिमाना जोडियो । त्यसपछि यो नेपाल भएको हो भन्ने दस्तावेजहरू पाइन्छन् । अहिलेसम्म पनि यहाँका आदिबासीहरू विशेषगरी लेप्चाहरूका भाषा, संस्कृति रहन–सहनहरू सिक्किम, दार्जिलिङसँग मिल्दछन् । यो ठाउँको नामकरणका विषयमा अहिलेसम्मको स्थापित मान्यताअनुसार लेप्चा भाषाबाट यसको नाम रहन गएकोमा सबैको साझा धारणा छ । लेप्चा भाषामा यसलाई ‘अथु कोङ’ भनिन्छ, जसको नेपाली अर्थ ‘अग्लो डाँडा’ भन्ने हुन्छ । यही ‘अथु’ बाट नै ‘अन्तु’ भन्न थालिएको हो । राज्य पुनर्संरचनाका क्रममा वि.सं. २०१८ सालमा पञ्चायती व्यवस्थालाई स्थापित गर्न जिल्ला र गाउँ पञ्चायत व्यवस्था गर्दा यो गाउँको नामबाट नै अन्तु गाउँ पञ्चायत भएपछि यो नाम स्थापित भएको हो । पछि गाउँहरूलाई पुनर्संरचना गर्दा वा भूगोल मिलाउने क्रममा तत्कालीन श्रीबुङ गाउँका केही भू–भागहरूलाई समेत यसमा मिलाएपछि यसको नाम श्रीअन्तु भएको हो र त्यही नामले हाल यो ठाउँ प्ररिचित छ ।
यो क्षेत्रको मुख्य विशेषता वा पहिचान
यस क्षेत्रको मुख्य विशेषता भनेको नै यहाँको भौगोलिक बनावट हो । यो संसारको अत्यन्तै सुन्दर ठाउँहरूमध्येको एउटा ठाउँ हो । हाम्रो धर्मशास्त्रले उल्लेख गरेअनुसार पनि हिमालयको काखमा शिवजीको बासस्थान मानिन्छ । देवताहरूको बासस्थान स्वर्ग भएकाले यो स्वर्ग हो । जसका कारण यो राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै ख्यातिप्राप्त छ । यहाँको मुख्य पहिचान भनेको पर्यटन व्यवसाय हो, त्यसमा पनि होम–स्टे यसको पहिचान हो । यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो सङ्ख्याको सङ्गठित होम–स्टे हो । योसँगै सूर्योदय अर्को महŒवपूर्ण विशेषतामा पर्दछ । यहाँबाट देखिने सूर्योदयको दृश्य संसारका अरू कुनै क्षेत्रबाट विरलैमात्र देख्न सकिन्छ । योसँगै नेपालका लोपोन्मुख लाप्चा जातिको बसोबास भएकाले उनीहरूका सांस्कृतिक मान्यता र परम्पराहरू अन्यत्र पाइँदैनन् । यीबाहेक चिया खेती, तरकारी खेती, पशुपालन र नगदे बालीको उत्पादन पनि यहाँ उल्लेख्य मात्रामा हुने गर्दछ । आफ्ना उत्पादनहरूको बजार सहज भएकाले यहाँको आर्थिक विकासको सम्भावनाका क्षेत्रहरू प्रशस्त छन् । पशुपालनलाई व्यवसायीकरण गरेर पनि मनग्य आम्दानी गर्ने सम्भावना रहेको छ त्यसैले यो ठाउँ आर्थिक उपार्जन र मानवीय संशाधन विकासका हिसाबले अत्यन्तै सम्भावनायुक्त छ भन्ने लाग्छ ।
पर्यटनको विकासको सुरुवात
खासगरी यस क्षेत्रका मानिसहरूको बजार भारतको मिरिक हो । दैनिक उपभोगका सामग्री किन्न र आफूले उत्पादन गरेका सामग्रीहरू बिक्री गर्न यहाँका मानिसहरू नियमित रूपमा मिरिकसम्म जानु पर्दथ्यो । यसरी त्यहाँसम्म जाँदैगर्दा यहाँका केही मानिसलाई त्यस क्षेत्रको पर्यटनले लोभ्यायो । मिरिकमा देखिने मानिसको चहलपहल र त्यहाँ गरिएका अभ्यासहरूलाई आफूहरूले पनि संस्थागत गर्नसके आफ्नो पनि उन्नति हुनेथियो कि भन्ने लाग्नु स्वभाविक नै हो । मिरिक र दार्जिलिङको पर्यटनले लोभ्याएका यहाँका मानिसहरूले सुरुमा सूर्योदय हेर्न आउने मानिसहरूलाई आफ्नो घरमा पैसा लिएर खान र बस्ने सुविधा दिन्थे । यसरी सुविधा उपलब्ध गराउन सुरुवात गर्ने यहाँका पुराना बासिन्दा मानबहादुर खड्का र तिलाराम आलेलाई यसको सुरुवातकर्ताको श्रेय जान्छ । अग्रजहरूले देखाएको त्यो आम्दानीको बाटोलाई स्थानीय युवाहरूले २०५३ सालबाट केही संस्थागत गर्ने प्रयास गर्दैजाँदा आज यो अवस्थासम्म आइपुगेको छ ।
सामान्य प्रयासबाट गाउँमा घाम झुल्केको दृश्य हेर्न आउने मानिसहरूको सङ्ख्या अलिअलि बढ्न थालेपछि यसको संस्थागत विकासका सम्भावना खोज्दैजाँदा तारागाउँ विकास समिति र सिरुवारी होम–स्टेसम्म जोडिए । त्यहाँबाट आवश्यक पूर्वाधार विकास र होम–स्टे सञ्चालनसम्बन्धी तालिम लिएपछि यसले व्यावसायिक रूप लिएको हो । तेइसवटा घरहरूको समूह तयार गरी सूर्योदय होम–स्टेबाट संथागत व्यवसायकोे सुरुवात गरेकोमा अहिले जम्मा ६७ वटा घरमा होम–स्टे र ४२ वटा होटल गरी जम्मा १ सय ९ वटा पर्यटनसँग काम गर्ने निकायहरू छन् ।
सुरुका वर्ष २३ घरमा नै पाहुना नराख्ने सबै मिलेर एउटा घरको लागि पाहुनाहरू खोज्ने सल्लाह गरेर व्यवसाय सुरु गर्दा पहिलो साल धनकुमार मगरको घरमा वर्षभरिमा जम्मा ४ ग्रुप मानिसहरू बसेको अभिलेख पाइन्छ । अहिले १ सय ९ घरमा हरेक घरमा लगभग ७ देखि १० वटा कोठा रहेका छन् । ७ वटा कोठा भएका ठाउँलाई मात्र आधार मान्ने र एउटा कोठामा २ जना मात्र भन्ने मान्यता राख्ने हो भने पनि दिनको १ हजार ५ सय २६ जना मानिसलाई आरामसाथ आवासको व्यवस्था पु¥याउन स्थानीय सफल भएका छन् । यसैगरी नाङ्गा गाईं, भैंसी चर्ने डाँडाहरूमा चिया रोप्दा दार्जिलिङको जस्तै चिया बगान बन्न सक्छ भन्ने लागेर उतैबाट चियाका बिरुवा ल्याई पाखा भर्न थालेको अहिले चियाबाट मात्र यहाँका मानिसहरूले लगभग वर्षमा ३५ करोड हाराहारीको आम्दानी लिन सफल भएका छन् ।
यहाँको पर्यटकीय आकर्षणको कारण यहाँको भूगोलको सौन्दर्यीकरण हो भन्ने लाग्छ, दिनानु दिन आवासका क्षेत्र थप्दै जानाले यो सौन्दर्य कायम राखिरहन सकिएला ?
यो अत्यन्तै जटिल र चुनौतीपूर्ण कुरा भइरहेको छ । प्राकृतिक रूपमा बनेको भौगोलिक संरचनाको सौन्दर्यलाई कत्ति पनि नबिगार्नका लागि स्थानीय क्रियाशील छन् । दिगो विकासको मान्यताअनुसार भइरहेको स्रोत साधनलाई कायम राख्दै त्यसको अधिकतम् उपभोग गर्ने र पछिल्ला पुस्तालाई समेत त्यसको प्रतिफल चखाउने मान्यतामा स्थानीय सचेत छन् ।
त्यसका लागि नगरपालिकासँग समन्वय गरी घर निर्माण गर्ने मापदण्ड तयार गर्ने क्रममा स्थानीय छन् । उनीहरूको योजना भनेको जस्तो भूबनोट छ, त्यसैमा संरचना निर्माण गर्ने भन्ने हो । यसका लागि व्यवसायीहरूलाई समेत सचेत गराउने र सल्लाह दिइरहेका छन् । यसका अलावा रैथाने परम्परा र रैथाने वनस्पतिहरूको संरक्षण गर्ने पनि योजना रहेको छ । जसका कारण त्यहाँको प्राकृतिक भूबनोट नबिगारिकन यसको सौन्दर्यीकरणलाई स्थापित गर्न सकिन्छ भन्ने लाग्दछ ।
अन्तुमा पर्यटकीय विकास सँगसँगै सामाजिक विकृति बढ्न थालेको भन्ने गुनासो पनि बढ्दै गएको छ । यो मानव र मानवीय क्रियाकलापसँग सम्बन्धित व्यवसाय भएकोले यसको सञ्चालन र निरन्तरता खतरामुक्त छैन भन्न मिल्दैन । दिनानु दिन बढ्दो सहरीकरण र त्यसबाट सिर्जित उच्छृङ्खलता र युवापुस्ताहरूमा बढ्दो दुव्र्यसन यसका बाधक बन्नसक्ने सम्भावना छ । यदाकदा यौनसँग सम्बन्धित गतिविधिहरू र लागूपदार्थ दुव्र्यसनका घटनाहरू पनि नसुनिएका होइनन् । तर, त्यसलाई पुष्टि गर्ने गरीका प्रमाण नभएकाले स्थानीयले उनीहरूको व्यवसाय विशुद्ध मापदण्डमा आधारित छ भन्ने विश्वास मानिरहेका छन् । तथापि कुनै विकृतिहरू छँदै छैनन् भन्ने चाहिँ होइन ।
व्यवसायीहरूले व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको पूर्ण पालना नगर्नु र निगमनकारी निकायसँग नियमित अनुगमनको मापदण्ड नहुनुले सामाजिक विकृति बढ्ने खतरा रहेको छ । मादक पदार्थको सेवनका कारण अनावश्यक हो–हल्ला हुने र म्ुयजिकल टुरिजमका नाममा ध्वनि प्रदूषण हुने गरी बाजा बजाउनु आदि जस्ता समस्या तत्काल अनुभूति भएका छन्, जुन होम–स्टे सञ्चालनसम्बन्धी मापदण्डभन्दा फरक छन् ।
यसैगरी खासमा स्थानीयले त्यहाँका मौलिक रैथाने परम्परालाई जोगाइराख्ने हिसाबले म्युजिकल टुरिजमको अवधारणा ल्याएका हुन् । तर, यसलाई त्यसरी व्यवस्थापन गर्न सकिएको छैन । जातजातिका परम्परागत संस्कृतिलाई पस्कने स्थानीयको प्रयास जारी छ । यसका लागि लिम्बू, मगर, तामाङ, लाप्चाहरूका सांस्कृतिक क्रियाकलापहरू, क्षेत्री बाहुनका परम्परागत नाचहरू र सांस्कृतिक गतिविधिहरूलाई संस्थागत गर्नेे सोच रहेको छ । सकेसम्म सामाजिक विकृतिहरूलाई भित्रिन नदिनका लागि स्थानीयवासी प्रतिबद्ध छन् । यसका लागि स्थानीय सरकारले स्पष्ट मापदण्ड बनाई नियमित अनुगमनको व्यवस्था गरिदेओस् भन्ने उनीहरूले अपेक्षा राखेका छन् ।
अन्तमा, प्रशस्त सम्भावना बोकेको भौगोलिक सुन्दरतासहितको पर्यटकीय क्षेत्रको संस्थागत विकास गरी यसको सौन्दर्य र विकासलाई पछिल्ला पुस्ताले समेत गौरव मान्ने स्थानका रूपमा जोगाइराख्नु आजको पुस्ताको प्रमुख दायित्व रहेको छ । देशको अर्थतन्त्रमा प्रत्यक्ष संलग्न अन्तुबासीहरूको प्रयास जुन दैनिक जीवन गुजारा गर्ने प्रयासबाट यहाँसम्म आइपुगेको छ, त्यसलाई सबैले आत्मसात गरी देशको समृद्धिमा टेवा पु¥याउन हातेमालो गराँैं ।
(लेखकः जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीका सह–प्राध्यापक हुन् ।)