नजिकिदै गरेको नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले पत्रकारहरू बिच शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रम बिहिबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा सम्पन्न भएको हो ।

औपचारीक रूपमा भएको कार्यक्रममा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले पत्रिकामा फोटो महत्व दर्शाएका थिए । “फोटोको कारण मात्र पनि पत्रिका चल्ने गरेको इतिहास हामी सबैलाई थाहा छ । एउटा फोटोले १ हजार भन्दा बढी शब्दको फिचर भन्दा धेरै शन्देश दिन्छ ।“ उनले भने, “फोटोले समाचारको महत्व बढाउने गर्दछ । त्यो संगै फोटो पत्रकारहरूको प्रतिष्पर्धा समेत बढेको छ ।  फोटो पत्रकारहरूको व्यवसायिकताको लागी संस्थाले अभियानहरू चलाउन जरूरी छ ।“

कार्यक्रममा बोल्दै अर्का अतिथी अग्रज पत्रकार राजेश बिद्रोहीले फोटोले समाचारको विश्वसनियता बढाउन मद्दत गर्ने बताउँदै फोटो पत्रकारहरूले आँचारसंहिताको ध्यान दिनुपर्ने बताए । “पहिले फोटोलाई पत्रिकामा भएको खाली ठाँउ भर्ने काममा मात्र प्रयोग हुने गरेको थियो । तर हाल भने पत्रिका, अनलाईनमा फोटोको महत्व व्यापक भएको छ ।“ उनले भने, “यसकारण फोटो पत्रकारहरूको संख्या ह्वात्तै बढेको छ । तर पत्रकारिताको आँचार संहिताको ज्ञान भने सबैमा हुन जरूरी रहेको छ ।“ यसको लागी नेपाल फोटो पत्रकार महासंघले तालिमहरू आयोजना गर्नुपर्ने उनले जनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की तथा प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष शुभद्रा प्याकुरेलले फोटो पत्रकारहरूलाई व्यवसायिक बनाउनका लागी महासंघले अगुवाई गर्नुपर्ने बताउँदै त्यसका लागी आफ्नो संस्थाले निरन्तर सहयोग गर्ने बताएका थिए ।

यस्तै, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले यस कार्यसमितीमा नयाँ सदस्यहरू समेत भएकाले अग्रज पत्रकारहरूसंगको चिनजान तथा शुभकामना आदानप्रदानका लागी कार्यक्रम आयोजना गरीएको बताए । उनले सुनसरीको पत्रकारहरूलाई व्यवसायिक बनाउने लक्ष्य सहित यस कार्यसमितीले कार्यहरू गर्ने बताउँदै हरेक फोटो पत्रकारहरूलाई कुनै न कुनै मिडीयामा कार्यरत गराउने अभियान समेत चाँडै संचालन गर्ने बताए ।

कार्यक्रममा महासंघको पूर्व केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङ, पूर्व सल्लाहकार रोहित कोयु राई,  प्रेस युनियन सुनसरी कार्यवाहक अध्यक्ष सञ्जिव वाग्ले, प्रेस युनियन धरान नगर अध्यक्ष मात्रिका नेपाल, प्रेस सेन्टर धरान नगर अध्यक्ष विनोद विश्वकर्मा, आयो न्युजका सम्पादक पत्रकार भरतराज शर्मा गोपाल, पत्रकार दिलकुमार राई लगायतको उपस्थिती रहेको थियो ।