आज राष्ट्रले राम्रो–नराम्रो, सज्जन–दुर्जन, नैतिक–अनैतिक, इमान्दार–बेइमान, भ्रष्टाचारयुक्त वा भ्रष्टाचारमुक्तजस्ता विषयलाई पर्गेलेर राष्ट्र निर्माणको अभियानमा जुट्न अबेला भइसकेको छ । राष्ट्र भन्नेबित्तिकै राष्ट्रका नागरिक भनेर बुझ्ने गरिन्छ । लोकतन्त्र झनै झनै स्खलित हुनुमा राजनीतिक दल नै जिम्मेवार छन् । निर्वाचित जनप्रतिनिधिहरू संसद्मा आफ्नो विवेक प्रयोग गर्न पाउँदैनन्, अपितु, सदासर्वदा आफ्नो दलको निर्देशनअनुसार मात्र काम गर्नुपर्ने बाध्यता पनि छ ।
चुनावी राजनीतिमा पैसाले लोकतन्त्रलाई ध्वस्त पारिरहेको छ । राजनीति भनेको पैसाको चलखेल हो । हल्ला, आधारहीन प्रचार–प्रसार र असत्यलाई सत्य बनाएर प्रस्तुत गरिने स्थापित मान्यता बनिसकेको आम बुझाइ छ । पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले अमेरिकी चुनाव अभियानका लागि निजी दाताहरूबाट गरिने रकम (कोष) सङ्कलनलाई कानूनी घुसखोरी ९ीभनब (Legal Corruption) भन्ने गरेका थिए । विगतका दिनहरूमा जनताद्वारा, जनतालाई जनताको लागि गरिने उत्कृष्ट प्रणाली नै शासन हो भन्ने विश्वास पनि थियो तर, आज शासन पैसाद्वारा, पैसाको लागि मात्र गरिने निकृष्ट नमुनाको रूपमा विकास भइरहेको छ ।
निर्वाचनमा पैसाको ठूलो चलखेलले लोकतन्त्रको मूल्य मान्यतामा ह्रास आइरहेको छ ।
निर्वाचनमा पैसाको भूमिका सीमित गर्न दलहरूलाई राज्यको आर्थिक सहयोगको व्यवस्था गर्न नेपालमा को तयार छ ? अमेरिकी दार्शनिक माइकल स्याण्डेलले भन्ने गरेका छन्, ‘जहाँ पैसाको आधारमा स्वास्थ्य र शिक्षाजस्ता आवश्यकताहरूको पहुँच निर्धारण हुन्छ, त्यहाँ असमानता स्वभाविक हुन्छ । हामी बजार अर्थतन्त्रबाट बजार समाज बन्न पुग्यौं । हामी मानिस बजारको वस्तु बनेका छौं । त्यसले मानव मूल्यमा ह्रास ल्याइरहेको छ ।’
देशको राजनीतिक अवस्थालाई जुन कोणबाट हेर्दा पनि स्थिति भयावह नै देखिन्छ । भ्रष्टाचार चरम र सीमाहीन गतिमा चलेको छ । यसै कारणले पथ विचलित कर्मचारीतन्त्र, स्पष्ट दृष्टिको अभावमा दीर्घकालीन योजनाहरूको गतिमा अवरोध, भागबण्डाको संस्कृति, राज्य सञ्चालनका सबै अङ्गमा योग्यताको अवमूल्यन, उपयुक्त जनप्रतिनिधिहरूको छनौटको अभाव, उपभोक्ताको हित संरक्षणको न्यूनतम् विन्दु आदिले स्थितिको भयावह अवस्थालाई अझ बढाउँदै लगेको देखिन्छ । आफू नै इतिहासको अन्तिम पात्र रहेको मानसिकताले गर्दा नेतृत्व पङ्क्तिमा लचकता, राजमर्मज्ञ एवम् शासनकलाको पूर्णतः अभाव देखिन्छ ।
परिस्थिति यस्तो जटिल हुन पुगेको छ कि जनप्रतिनिधित्वका निमित्त विकल्प दिन सक्ने क्षमताका रूपमा यी व्यक्तिहरूले आफूलाई प्रस्तुत गर्न छाडेका छन् । निर्वाचनमा जाँदा उम्मेदवारका रूपमा जनताको मानसपटलमा स्थान बनाउनका लागि करोडभन्दा माथि खर्च लाग्ने अवस्था छ । अर्थात्, राजनीतिमा लागेर वा उच्च ओहोदामा बसेर वा अनियमितताको व्यवसाय गरी मनग्य धन कमाएका बाहेकका निमित्त निर्वाचन अप्राप्य र दुःखद् भएको छ । जाति, धर्मको अनुचित प्रभावले फैलिएका विकृतिका तगाराहरू पनि छँदैछन् । यी सबै निदानको खोजी आजको हाम्रो आवश्यकता हो भन्दा किमार्थ पनि सत्यको विपरीत हुँदैन ।
दलभित्रको तानाशाहीलाई विस्थापित गर्न कठिन हुन पुगेको छ । मान्छे फेरिएर समाधान होला जस्तो लाग्दैन, मुख्यतः प्रवृत्ति फेरिनु आवश्यक छ । सत्तामा गएका शासकहरूको राज्यका स्रोतहरूको निर्मम दोहनदेखि बाहेक अन्य केही कार्य गरेजस्तो लाग्दैन । राष्ट्र निर्माणको कार्यक्रममा यी दलका नेताहरूको एकत्व कहिले देखिएन । राष्ट्रको नक्सालाई पनि स्थायित्व प्रदान गर्न सकिन्न । जबकि पृथ्वीनारायण शाह र राजा महेन्द्र राष्ट्रमुखी जनमुखी भएर राष्ट्र निर्माणमा अथक लागिरहे र सकारात्मक परिणाम पनि जनतासमक्ष प्रस्तुत गरेको पाइन्छ । राम्रो कामको अनुशरण जसले र जहिले पनि हुनुपर्दछ । यो नै देशभक्ति र निर्माण हो ।
राष्ट्रको विकास अन्य राष्ट्रहरूको प्रतिक्षामा बसेर गर्ने नै होइन । नेपाललाई प्रकृति र सभ्यताले प्रचुर मात्रामा सम्भाव्यता दिएको छ, यसैलाई व्यवस्थित रूपमा अन्वेषण गरी परिचालन गरिनु सबैभन्दा बुद्धिमत्ता ठहरिनेछ । लोकतन्त्र भनेको सबै नागरिकको बराबरको अधिकार हो । त्यसैले अमुक दलका अमुक नेतालाई छानीछानी उनीहरूकै संसदीय निर्वाचन क्षेत्रमै हराउनुपर्छ भन्ने प्रस्ताव कसैकसैलाई ननिको लाग्न पनि सक्छ, तर नेपालको संसदीय अराजक स्थितिलाई थोरै भए पनि राजनीतिक बनाउन यो एउटा सकारात्मक प्रयोग हुनसक्छ ।
आफूबाहेक देशमा अरू कसैको बुद्धि नै छैन भनी सोच्ने प्रवृत्ति अधिनायकवाद हो । आफू नभए पार्टी नै चल्दैन र देश नै बिग्रिन्छ भन्ने सोच्नु लघुताभाष हो । आफूबाहेक अरू कोही राम्रा छैनन् भनी सोच्नु पनि अज्ञानता हो । आफूले दुःख गरेर संरक्षण गरेको पार्टी भनेर जीवनपर्यन्त नेतृत्वमा रहिरहनु लोकतन्त्रको सिद्धान्त विपरीत हो भनेर किन सहज रूपमा स्वीकार भएन यो देशमा ? तर, आजका दिनमा यही प्रवृत्ति नेपालका प्रमुख राजनीतिक दलहरूमा क्रोनिक रूपमा रहेको छ ।
राष्ट्रको ज्वलन्त समस्याहरू हेर्दा सार्वजनिक ऋण तीन गुणा बढिरहेको छ । व्यापार घाटा करिब करिब २० खर्ब हुन गइरहेको छ तर, यस विषयमा राष्ट्रका कुनै पनि दल र सो दलमा आबद्ध प्रतिनिधिहरूबाट सम्बोधन गर्ने प्रयासको प्रारम्भसम्म पनि गरिँदैन । तरलता घटेको स्वीकारिँदैन तर, ब्याज बढाइएको छ ।
सकस यी दलका नेताहरूलाई राष्ट्रले विकास गरेन भनेर होइन । मेरा देशका अधिकांश जनताहरूले गरिबीको रेखामुनी रहेर जीवन जसोतसो गरेर धानिरहेका छन् र राष्ट्रले मूलतः प्रदान गरिनुपर्ने आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, नाना, खाना र छाना पु¥याउनु पर्ने चिन्ता हुनुपर्ने हो । अपितु उहाँहरूको चिन्ता आगामी दिनमा सत्ता शासन कसरी प्राप्त गर्ने भन्ने मात्र हो । उहाँहरुको व्यवहार र आचरणबाट यही कुरा स्पष्ट हुन जान्छ । यो कस्तो प्रवृत्ति हो, हामी कुन गन्तव्यको यात्रा प्रारम्भ गरिरहेका छौं ? दुःख लाग्छ, राष्ट्रमा कुनै यस्तो क्षेत्र छैन, जहाँ सन्तोषको अनुभूति होस् । शिक्षा, स्वास्थ्य, अर्थ, व्यापार, पर्यटन, राजनीति सम्पूर्ण निकायहरू दूषित, विरूप र अव्यवस्थित छन् । आउँदो संसदीय र प्रदेश सभाको निर्वाचनमा यस गम्भीर समस्याको लागि सबैको ध्यानाकर्षण हुन जरुरी छ ।
सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरूमा धेरै किसिमले दायित्व नरहँदा नेताहरूलाई थप जिम्मेवारहीन बन्न सहज भइरहेको छ । सामाजिक जीवनमा वा जिम्मेवारीमा व्यापक ह्रास आउन थाल्यो । व्यक्ति र संस्थाहरू सर्वत्र जवाफदेही विहीन भए । आजको शासन व्यवस्थाको गति मात्र होइन, शासकको मतिसमेत पनि स्खलित हुँदै गइरहेको स्पष्ट पाइन्छ । दलका नेताहरू जनतालाई बिर्सने रोग लाग्या छ भनेर ढुक्क छन् । कसरी भ्रममा उल्झाउने भनेर रणनीति तयार हुँदैछ । यसकारण हामीलाई मत देऊ भन्न प्रायशः सबैको नैतिक बल खस्किएको छ । जुन उद्देश्यले संविधानमा समानुपातिक प्रतिनिधित्वको अवधारणा राखिएको हो, अभ्यासमा पुग्दा त्यो नेताको दास उत्पादन गर्ने वा धनाढ्यको लागि किनबेचको विषय बन्न पुगेको छ ।
अन्त्यमा, यस्तै प्रकारका प्रवृत्तिका कारणले नागरिकतामा दलहरूले अब पनि गर्लान् त भन्ने विश्वास हराउँदै गइरहेको प्रष्ट देख्न सकिन्छ । नेताहरू आफ्ना आदर्श र सोचबाट स्खलित भएकोले नै आजको यो दुर्दशा व्यहोर्नु परेको छ । राजनीति सहज र निष्कलङ्क बनाउन दलका नेताहरूकै भूमिका महŒवपूर्ण हुन्छ । यसका लागि दलका असल कार्यकर्ताहरूले भ्रष्ट र गैरजिम्मेवार नेतृत्वलाई बहिष्कार गर्न नैतिक साहस देखाउनु पर्छ । अन्यथा इतिहासले कसैलाई माफ गर्दैन ।