सुनसरी  । सुनसरीको कोसी गाउँपालिकामा डेङ्गु रोगबारे  जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी जिल्लासहित कोसी गाउँपालिकामा पनि डेङ्गु रोग बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै शुक्रबार जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।

फेयरमेड नेपालको सहयोग, कोसी गाउँपालिकाको कार्यालय लौकहीको सहकार्यमा सेभ द अर्थ फाउन्डेसन इन्टरनेसनलले आयोजना गरेको उक्त जनचेतनामूलक कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पछिल्लो समयमा देशैभरि डेङ्गुको प्रकोप अत्यधिक मात्रामा बढ्दै गएको र कोसी गाउँपालिका पनि डेङ्गुको उच्च जोखिममा रहेको हुँदा अग्रिम सतर्कता अपनाइएको प्रमुख प्रशासकीय अधिकृत दङ्गालको भनाइ छ ।

डेङ्गु रोगबारे सर्वसाधारणमा  चेतनाको अभाव भएकोले उक्त रोगको रोकथाम तथा न्यूनीकरण गर्न कार्यक्रम लाभदायक हुने उनको कथन छ । कोसी गाउँपालिकामा डेङ्गु रोगको रोकथामको लागि जनचेतना स्वास्थ्य शिक्षा, सूचना प्रवाहको लागि (माइकिङ, फ्लेक्स, पम्प्लेट) सहित चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको सामुदायिक स्वास्थ्य सहजकर्ता सन्तोष साहुले बताए ।