बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सूर्यबहादुर पौडेलको मिर्गौलाको उपचार गर्न आर्थिक अभाव भएपछि स्थानीय युवाहरूले आर्थिक सङ्कलन अभियान नै सञ्चालन गरेका छन् ।
सूर्यबहादुरले भक्तपुरको सहिद धर्मभक्त माथेमा मिर्गौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका छन् । उनका बुबाको पनि दुवै मिर्गौला फेल भएकै कारण गत माघमा मृत्यु भएको थियो ।
बुबाको उपचारमा समेत आर्थिक अभाव भोगेको पौडेल परिवार अहिले सूर्यबहादुरको उपचार गर्न नसक्ने अवस्थामा पुगेको उनकी आमा गोमादेवी पौडेल बताउँछिन् ।
सूर्यबहादुर पौडेलको ज्यान बचाउ अभियानले आमा गोमादेवी पौडेलको नाममा एनएमबी बैङ्कको खाता नम्बर १४४०१९५८९२५०००११ मा सहयोग गर्न चाहनेले रकम जम्मा गरिदिन अनुरोध गरेको छ । ३२ वर्षीय सूर्यबहादुरका श्रीमती र एक छोरी रहेका छन् ।