दिन दुई, गुणा रात चौगुणा सवारी साधनहरू थपिएका छन् । तर, सडकको अवस्था भने ५० वर्ष अगाडि जे थियो, त्यही अवस्थामा छ । यसो हुनुका थुप्रै कारणमध्ये एउटा कारण सरकारको सडक नीति पनि एक हो । सरकारले मुख्य राजमार्ग, जिल्ला राजमार्ग तथा स्थानीय राजमार्गको मापदण्ड नै दीर्घकालीन नहुँदाको परिणाम अहिले सडकमा ट्राफिक समस्या व्यापक हुने गरेको छ । यी भए प्राविधिक जटिलता । प्राविधिक जटिलताका बावजुद पनि सडकलाई सही तरिकाले व्यवस्थापन गर्ने हो भने अहिले धेरै समस्या हल हुन सक्छन् । तर, व्यवस्थापनमा सबै पक्षले ध्यान दिन आवश्यक चाहिँ देखिएको छ । धरानकै सडकको कुरा गर्ने हो भने कुनै समय केही वर्षसम्म वन–वे भएका सडकहरू आजका दिनमा टु–वे छन् । सडक साँघुरो छ, त्यसमाथि सवारी साधन यति धेरै बढेका छन् कि भनेर साध्य छैन । धरानको महेन्द्र पथको सडकलाई वन–वे त बनाइएको छ तर, भनाइको मात्रै वान–वे छ । गराइमा अहिले पनि टु–वे नै छ ।

धरान देशकै नमुना नगरमा पर्छ । धरानबाट देशले धेरै कुरा सिकेको छ । यहाँको सडक, ढल व्यवस्थापनदेखि लिएर जनसहभागिता यहाँको अनुपम नमुना हो । योसँगै धरानमा २०४१ सालमा वन–वे बनाएको उदारहण त धेरैले भुली पनि सकेका छन् । यो वन–वे आजका दिनमा टु–वे छ । पहाडी जिल्लाबाट आउने ठूला सवारीबाहेक अन्य सबै खालका सवारीहरू यही सडक भएर कुद्छन् । यो अहिलेको बाध्यता पनि होला । तर, त्यसलाई व्यवस्थापन गर्न नसकिने भन्ने छैन । किनकि धरानको पुरानो बजार वन–वेकै ‘कन्सेप्ट’ मा निर्माण गरिएको थियो । त्यसलाई वन–वे बनाउन सकिन्छ । त्यसका लागि राज्यको निकाय ट्राफिक प्रहरी, धरान उपमहानगरपालिका र यातायात व्यवसायीहरूले मात्रै चासो दिएमा त्यो सम्भव छ । तर, यसतर्फ कसैले चासो दिएको अवस्था छैन । वन–वे गर्दा धरानको सुन्दरता मात्रै थपिँदैन । यहाँको राम्रो कुराको नक्कल अरूले गर्छन् र सिक्छन् । जुन बेला सीमित सवारी थिए । दुई पाङ्ग्रे सवारीको सङ्ख्या न्यून थियो । त्यो बेलामा भानुचौकदेखि लक्ष्मीचौकसम्म जुन कार्य गरिदिएको थियो । त्यो उदाहरणीय कार्य हो । त्यो आजपर्यन्त हुनु पथ्र्यो तर, त्यो हुन सकेन । तर, अझै गर्न नसकिने भन्ने होइन ।

जहाँ इच्छा, त्यहाँ उपाय भने झैँ ट्राफिक प्रहरी, यातायात व्यवसायी, नागरिक, धरान उपमहानगरपालिकाले चाहेको खण्डमा फेरि पनि पुरानै अवस्थामा फर्काउन सक्छौँ । हिजोभन्दा आज वन–वेको झन् झन् आवश्यकता बढ्दै गएको छ । यसको मूल्य हिजोभन्दा आज बढी छ । त्यसकारण पनि ढिला गरिनु हुन्न । अहिले नै पनि ठूला सवारीको हकमा वन–वे गरिएकै छ । साना सवारीको हकमा पनि गर्न सकिन्छ, किनकि पुरानो बजारको सडक चौडा बनेको छ । पुरानो बजारको सडकमा पहाडी भेगबाट आउने सवारीलाई मात्रै अनुमति दिने र महेन्द्र पथमा पहाडी क्षेत्रमा जानेलाई मात्रै अनुमति दिने व्यवस्था गर्नुपर्छ । यसमा सम्बन्धित निकाय सबैले चासो र चिन्ता व्यक्त गर्न जरुरी छ ।