धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रगत परीक्षण गर्ने केन्द्रीय ल्यावको काउन्टर खुल्ने समयावधि बढाएको छ ।
प्रतिष्ठानले बिरामीको चापलाई मध्यनजर गर्दै ओपिडीको हकमा बिहान ७ बजेदेखि दिउँसोको ४ बजेसम्म काउन्टर खुल्ने जनाएको छ ।
यसअगि ८ बजेदेखि १ बजेसम्म र २ बजेदेखि ४ बजेसम्म मात्रै केन्द्रीय ल्याव खुल्ने गरेको थियो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार काउन्टर खाना खाने समय १ बजेदेखि २ बजेसम्म पनि खुल्ला रहने जनाएको छ ।
बिरामीको दिनानु दिनको बढ्दो चापलाई मध्यनजर गरी समयावधि बढाइएको सह–प्रवक्ता पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिए । यस्तै अस्पताल भर्ना भएका बिरामीको नमुना सङ्कलनको समयावधि पनि थप गरिएको छ ।
आइतबारदेखि बिहीबारसम्म साँझ ७ बजेसम्म र शुक्रबार ४ बजेसम्म नमुना सङ्कलन गरिने जनाइएको छ । ओपिडी र वार्डमा भर्ना भएका बिरामीबाट लिइएको रगतको नमुना सङ्कलनका साथै रिपोर्ट पनि अलग–अलग स्थानबाट लिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
ओपिडीको हकमा काउन्टर १ देखि ७ सम्म नमुना सङ्कलन गरिने भएको छ भने वार्डमा भर्ना भएका बिरामीको काउन्टर ८ मा गरिने भएको छ । ओपिडीको रिपोर्ट केन्द्रीय ल्यावको उत्तरपट्टिको २६ नम्बर कोठाबाट दिइने जनाइएको छ भने वार्डको रिपोर्ट सम्बन्धित वार्डमै उपलब्ध गराइने भएको छ ।