हालै अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले चासो मात्रै देखाएन । उसले भारतमा उत्पादित एक कम्पनीका चार ब्रान्डका कफ सिरप नखानका लागि सुझाव नै दिएको छ । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीसँग सम्बन्धित चार ब्रान्डका कफ सिरपकै कारण गाम्बियाका ६६ जना बालबालिकाको मृत्यु भएको डब्ल्यूएचओले आशङ्का गरेको छ । सोही आशङ्ककै आधारमा डब्ल्यूएचओले औषधि सेवन नगर्न भनेको हो । उक्त कम्पनीले बनाएको कोफ्याक्समेलिन बेबी रिसप, प्रोम्याथेजिन ओरल सलुसन, मेकअप बेबी कफ सिरफ र मेगरिप एन्ड कोल्ड सिरप सेवन नगर्न भनेको छ । यी औषधि नेपालमा दर्ता नभएको र बिक्रीमा नरहेको दाबी औषधि व्यवस्था विभागले गरेको छ । तर, खुल्ला सीमाका कारण नेपालमा भित्रिन नसक्ने भन्ने छैन । किनकि नेपालमा धेरै औषधिहरू जो दर्तामा हुँदैनन्, त्यस्ता औषधिहरू पनि नेपालमा भित्रिने गरेका छन् । त्यसकारण पनि सचेत हुन आवश्यक छ ।

औषधिहरू लामो अनुसन्धान र अन्वेषणबाट पत्ता लगाई त्यसको परीक्षणपश्चात् मात्रै मानिससम्म आइपुग्छन् अर्थात् प्रयोग गर्न योग्य मानिन्छ । भारतमा थुप्रै प्रकारका औषधिहरू बन्छन् । भारतमा मात्रै हैन, नेपालमै पनि यस्ता धेरै प्रकारका औषधिहरू बनाइन्छन् । अहिलेको वैज्ञानिक युगमा बढीभन्दा बढी मानिसहरूले यस्तै औषधिप्रति विश्वास गरेका छन्, जसका कारणले आयुर्वेदिक औषधिहरूको सेवन दिनानु दिन घट्दो छ । मानिसको दैनिक खानपान, चालचलन, व्यवहार, जीवनशैलीमा परिवर्तन आएको छ । वैश्विक युगका कारण अर्को महादेशको खानपान तथा जीवनशैली अर्को महादेशले सहजै स्वीकार गरिसकेको अवस्था छ । यस्तो अवस्थामा मानिसहरू बढीभन्दा बढी रोगी हुने र बिरामी हुने सम्भावना अवश्य नै बढेको छ । बिरामी हुँदा कस्ता औषधि र कसरी सेवन गर्ने भन्नेबारे सचेत भएको पाइँदैन । गरिब तथा विपन्न देशहरूमा औषधिको उपलब्धता, चिकित्सकको उपलब्धता यसै पनि कम हुन्छ । हाम्रो देश पनि त्यही कोटीमा पर्छ । अहिले पनि उपचार अभावमा मृत्युवरण गर्नेको सङ्ख्या लाखमा छ । औषधिहरू जथाभावी सेवन गर्नेको सङ्ख्या पनि उस्तै छ । जसका कारणले अनाहकमा मृत्युवरण गर्ने उदारहणहरू यहाँ पनि नभएका होइनन् । तर, त्यसको कारण खोजिएको पाइँदैन । गाम्बियामा ६६ जना बालबालिका मृत्युको घटनाले जसरी विश्वको ध्यान तानेको छ । यो घटनासँग जोडिएको कडी चार ब्रान्डका औषधिहरू साँच्चै सेवन गर्नलायक थिए थिएनन् भन्ने विषय अहिले अनुसन्धानमै छ । तर, डब्ल्यूएचओले संसारभर जुन निर्देशन गरेको छ, त्यसप्रति चाहिँ गम्भीर सबैले हुनु जरुरी छ । रह्यो कारबाहीको कुरा त्यो डब्ल्यूएचओ र सम्बन्धित देशले गर्ला । 

नेपालमा यस प्रकारको औषधि बिक्री हुँदैन भन्ने दाबी औषधि व्यवस्था विभागको छ । तर, नेपाल यस्तो भूबनोट भएको देश हो । जहाँ भारतको सिमाना तीनतिर छ । धेरै हदसम्म हामी भारतसँगै आश्रित छौँ । खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थदेखि अधिकांश नै भारत आश्रित छौँ । त्यसकारण यहाँ आइपुग्दैन भन्ने दाबी गलत पनि हुन सक्छ । दर्ता नहुनु नै यहाँ आइनपुगेको प्रमाण नहोला । यहाँ कतिपय दर्ता नभएका औषधिहरू खुलेआम आएको र बरामद गरिएको कयौँ उदाहरणहरू छन् । त्यसकारण नागरिक सचेत हुन आवश्यक छ । यी माथिका चार ब्रान्डका औषधिहरू त्यसमा पनि रुघाखोकीका औषधिहरू आएका छन् कि छैनन् खरिद गर्नेबेलामा सचेत भई खरिद गर्ने गरौँ । यसले नागरिक हुनुको दायित्व पूरा गराउँछ । हामी आफै पनि सदैव सचेत बनौँ ।