धरान । ‘सडक कुकुर’ को संरक्षणमा जुटेको आकिमियामी धरानले सडक कुकुरलाई खानामा मात्रै सीमित नगरी छानाको पनि व्यवस्था गरेको छ ।

कोरोनाको पहिलो बन्दाबन्दी (लकडाउन)बाट खाना खुवाउने अभियान चलाएको युवाहरू सम्मिलित संस्थाले आश्रयस्थलको पनि व्यवस्था गरेको हो । नेपालमा कोरोना महामारी सुरु भएपछि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको थियो । तत्कालीन अवस्थामा सडक कुकुरहरूको खानपानमा आकिमियामीले अभियान चलाएको थियो ।

त्यो अभियान अन्ततः आश्रयस्थलसम्म आइपुगेको छ । अभियन्ता रुसल श्रेष्ठ भन्छन्, ‘सामाजिक कुकुरहरूको उपचार गर्नेदेखि लिएर संरक्षण गर्नेसम्मको योजना ल्याएका छौँ ।’ आकिमियामीका अभियन्ताहरूले सडक कुकुरलाई ‘सामाजिक कुकुर’ भनी परिभाषित गरेका छन् ।

संस्थाका सदस्यहरूका अनुसार धरानमा झण्डै ३ हजारको हाराहारीमा सडक कुकुरहरू छन् । त्यस्ता कुकुरहरूको जीवनशैली आफ्नै प्रकारको छ । कोरोना महामारीको बन्दाबन्दीपश्चात् त्यस्ता कुकुरहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको अभियन्ताहरूको बुझाइ छ । श्रेष्ठ थप्छन्, ‘मान्छेले मागेर, चोरेर, काम गरेर जे गरेर पनि खान सक्छ तर, कुकुरले त माग्न पनि सक्दैन, चोर्न पनि जान्दैन । उसको काम भुक्ने हो । सामाजिक कुकुरलाई कसले हेर्छ । सबैले हेप्छ, लात्ती, ढुङ्गाले हिर्काउँछन् ।’

कोरोनाको बन्दाबन्दीका बेला त्यस्ता कुकुरहरूको खानपानमा असहजता देखेरै आकिमियामीले सडक कुकुरहरूलाई खाना खुवाउन थालेको थियो । त्यो अभियान २ सय दिनसम्म चलेको उनको भनाइ छ । ‘हामी केही गर्ने सोच बनाउँदै थियौँ, के गर्ने केही आइडिया थिएन । मान्छेहरूकै लागि गर्ने कि ! भन्ने सोच पनि आएको थियो । तर, कुकुरहरू त मान्छेजस्तो बोल्न पनि सक्दैनन् । माग्न पनि सक्दैनन् । त्यही सम्झेर हामीले कुकुरका लागि काम गर्न थाल्यौँ’–उनी भन्छन् ।

खाना खुवाउने अभियानले नै आश्रयस्थलको सोचसम्म ल्याएको अभियन्ताहरूको भनाइ छ । हाल संस्थामा १३ जना युवायुवतीहरू छन् । कक्षा १२ र स्नातक तहमा पढ्दै गरेका युवायुवतीहरूले अहिले यस अभियानलाई हाँकिरहेका छन् । धरान–१९ जिमी चोकमा १ कठ्ठा जग्गा भाडामा लिई उनीहरूले सडक कुकुरको आश्रयस्थल निर्माण गरेका छन् । जसको उद्घाटन पूर्व राजपरिवारका सदस्यबाट मङ्गलबार गरिएको छ ।

पूर्णिका राज्यलक्ष्मीदेवी शाह र कृतिका राज्यलक्ष्मीदेवी शाहले उद्घाटन गरे । उनीहरू आत्मसर्गका सद्भावना दूत पनि हुन् । आकिमियामीले काठमाडौँको आत्मसर्ग नेपालसँगको सहकार्यमा यो कार्य गरिरहेको हो । आत्मसर्गले सडक कुकुरहरूलाई संरक्षण गर्दै आएको छ । ‘हाम्रो उद्देश्य भनेको सामाजिक कुकुरको उपचार, बन्ध्याकरण, खोपसम्म दिने हो’ श्रेष्ठले भने, ‘केहीपछि ल्याव पनि स्थापना गर्नेछौँ । स–साना उपचारहरू हामी आफै गर्नेछौँ भने ठूला उपचार भेटेरिनरी डाक्टरहरूलाई ल्याएर गराउनेछौँ ।’ हाल कुकुर राख्न मिल्ने ८ वटा स–साना घरहरू निर्माण गरिएका छन् । एउटा घरमा ८ वटा कुकुर राख्न मिल्ने अभियन्ताहरू बताउँछन् ।

धरान उपमहानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत पशुपक्षी सेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार गतवर्ष पोखराको संस्था हार्डको टोलीले सडक कुकुरको बन्ध्याकरण गर्दा ३ सय ५८ वटाको गरेको थियो । उनका अनुसार धरानमा करिब ४ हजारको हाराहारीमा सडक कुकुरहरू रहेको अनुमान छ ।

‘त्यस्तो आधिकारिक डाटा त छैन, राख्नुस् न एउटा वडामा २ सयवटा कुकुर होलान् । त्यो आधारमा ४ हजारको हाराहारीमा छन्’–उनले भने ।