आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न व्यक्तिहरूले दल परिवर्तन गर्दै टिकट ल्याई उम्मेदवार बन्दै आएका छन् । नेकपा (एमाले) का जिल्ला सदस्यसमेत भइसकेका उप–प्रा. उद्धव श्रेष्ठ(मकै) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुनसरी क्षेत्र नं. १ (क) मा प्रत्यक्ष उम्मेदवारी दिएका छन् । उनै श्रेष्ठसँग दल परिवर्तन निर्वाचनको तयारीका विषयमा आधारित भई ब्लाष्ट ले गरेको कुराकानीको सम्पादित अंशः
एमाले छाडेर किन राप्रपामा प्रवेश गर्नुभयो ?
–एमालेले राजनीतिक सिद्धान्त र विचार छाडेकाले छाडेको हुँ ।
टिकटकका लागि त होइन नि राप्रपा प्रवेश ?
राप्रपाबाट तपाईंको उम्मेदवारी किन ?
–धराने जनताको सुविधाका लागि बारम्बार धराने जनताले नै आग्रह गरेपछि अष्ट्रेलियाको बसाइ छोट्याएर आएको हुँ । राप्रपाले पार्टी क्षेत्र नं. १ (क) बाट टिकट दिएको छ । पार्टीले मलाई प्रतिनिधिसभा सदस्यका लागि आग्रह गरे पनि मैले प्रदेशसभाका लागि मात्रै उम्मेदवारी दिएको छु । अहिले प्रतिनिधिसभामा निर्वाचन लड्न चाहन्न ।
क्षेत्र नं. १ का जनतालाई आश्चर्यमा पार्नुभयो नि ?
-अष्ट्रलिया बसाइ छोट्याएर एक्कासि उम्मेदवारी दिँदा आश्चर्य छाएको छ । जनताको आवश्यकतालाई परिपूर्ति गर्न उम्मेदवारी दिएको हुँ । मुलुकमा विकृति, विसङ्गति बढेर गयो । नेपाललाई गणतान्त्रिक मुलुक भनिन्छ, यस्तो मुलुकमा एमसीसीजस्तो घातक सन्धिको विरोध गर्न बन्देज गरियो । विरोध गर्नेलाई धरपकड गरियो, लाठी प्रहार गरियो, यातना दिइयो । यो प्रजातान्त्रिक मुलुकको सैद्धान्तिक रूप होइन । प्रजातन्त्रमा बोल्न, लेख्न र आफ्नो विचार प्रकट गर्न स्वतन्त्र हुनुपर्छ । गलतलाई गलत भन्न दिनुपर्छ । तर, लोकतान्त्रिक मुलुकमा अभ्यासमा चलेको मुलुकमा एमसीसीको विरोध गर्नेलाई प्रधानमन्त्रीले पक्रेर जेल हाल भन्नुहुन्छ, यो विकृतिको पराकाष्ठा हो । नेपालमा आमाको पुत्रका रूपमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई देखेँ । त्यसैले राप्रपाबाट उम्मेदवारी दिएको हुँ ।
टिकटककै लागि राप्रपामा प्रवेश गर्नुभएको हो ?
–म जन्मजात कम्युनिष्ट हुँ । मेरो बुबा कट्टर कम्युनिष्ट हुनुहुन्थ्यो । म पनि कम्युनिष्ट विचारधाराबाट ओतप्रोत भएको व्यक्ति हुँ । धरानमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठलगायतका व्यक्तिमध्ये मरो बुबा पनि सक्रिय हुनुहुन्थ्यो । बुबाको मृत्युपछि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइयोस् भन्ने इच्छा थियो । बुबाको देहावसान भएपछि पार्टीलाई जानकारी पनि गराएँ । ३ घण्टासम्म पर्खिएँ तर, कोही आउनुभएन । त्यहीँबाट पार्टीप्रति वितृष्णा जाग्दै आएको थियो । राजनीतिमा जे गरेपनि पार्टी कार्यकर्ता भएपछि जे गरे पनि कारबाही भएन । ७० करोडसम्म भ्रष्टाचार हुँदा पनि पार्टीका कार्यकर्तालाई कारबाही भएन । नेकपा (एमाले) राष्ट्रप्रति चिन्तित भएको पार्टी सोचेको थिएँ । त्यो नरहेपछि पार्टीप्रति वितृष्णा जागेर प्रवास गए ।
राप्रपामा नै किन ?
–केन्द्रमा स्वतन्त्र विजय भए पनि केही गर्न नसक्ने भएकाले एउटा पार्टीबाट उम्मेदवारी दिनुपर्ने भएपछि राप्रपामा गएको हुँ । अन्य धेरै पार्टीले मलाई केन्द्रीय सदस्यसम्मको प्रस्ताव गरेका थिए । राप्रपामा देशभक्ति, राष्ट्रप्रेमी पार्टीका भएकाले राप्रपामा नै गएको हुँ ।
वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
–वर्तमानमा नेपालमा जस्तो गन्हाएको राजनीति विश्वमा कहीँ पनि छैन । २०४७ र २०६२ पछि राजनीतिमा उद्दण्डता आएको छ । २०४७ सालको संविधान उत्कृष्ट संविधान थियो । उक्त संविधानलाई नेताहरूले पहिले एसियाको उत्कृष्ट भनेर व्याख्या गरे । पछि सबैभन्दा खराब भनेर व्याख्या गरे । त्यसको एउटै कारण नेताहरूले अनैतिक क्रियाकलाप र भ्रष्टाचार गर्न नपाउनु थियो । अहिले चाहेजति लुट्न सक्ने संविधान बनाएका छन् । एमसीसी भनेको खम्पा विद्रोहको दोस्रो रूप हो । नेपाल भूराजनीतिक रूपमा गाँजिएको मुलुक हो । असंलग्न परराष्ट्र नीतिलाई तोडेर एमसीसी पास गरे । सबै खत्तम गर्न पाए । यो देशमा क्षेत्रीय अखण्डता आउनै नदिन, अन्य मुलुकको उपनिवेशमा रहेजस्तो नेताहरूले बनाएका छन् । राजनीतिमा समानुपातिक समावेशी सिद्धान्तको उपहास गरेका छन् । यो विकृति विसङ्गतिविरुद्ध लड्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पाएँ । लिङ्देनले घूस खानु, भ्रष्टाचार गर्नु, धाँधली गर्नु आमाको रगत खाए बराबर हो । यस्तो प्रण कुन नेताले गर्न सक्छ ।
सीमा अतिक्रमणलाई कसरी हेर्नुभएको छ ?
–हाल नेपालको ७८ हजार बिगाहा सीमा अतिक्रमण भएको छ । कुनै पनि राष्ट्रवादीहरू सीमामा निरीक्षण गर्दा आँसु नझार्ने हुँदैनन् । सुनसरी क्षेत्रबाट मात्रै २३ हजार बिगाहा जमिन भारतले अतिक्रमण गरेको छ । रानीगञ्ज भन्सार ३ किलोमिटर छ । एसएसबी राखेको ३ किलोमिटर माथि राखेको छ । जोगबनीमा ४९ वटा मुड्का थिए । ती मुड्का हटाएर सीमा अतिक्रमण गरेको छ । विहारको सुकुल जिल्लाको वीरपुर नगरपालिका कागजी रूपमा र सम्झौताअनुसार नेपालको हो । भारदहको कटैया पावर प्रोजेक्टबाट ३ किलोमिटर तलसम्म नेपालको सिमाना हो । कोशी ब्यारेज बनाउन कोलेनी बनाउन लगेको हो । सीमामा कोलेनी बनाएको जग्गा फिर्ता गरेको छैन । कुकुरलाई मासु र भारतलाई कोलेनी बनाउन जग्गा दिनु उस्तै हो । फिर्ता आउँदैन । सन् १९६२ मा कालापानी इण्डिया–चाइना वारको बेलामा भारतीय सेनाले एकछिन आश्रय लिएको हालको सैनिक क्षेत्र हो । अहिले भारतले आफ्नो दाबी गरेको छ । सीमा अतिक्रमण हुँदै गएको छ । हालसम्मको आँकडाले ७८ हजार बिगाहा जमिन अतिक्रमण भएको छ । यस्तो बेलामा पनि नेता बोल्दैनन् ।
नागरिकता विधेयकका विषयमा के धारण छ ?
–नागरिकता विधेयक संवेदनशील विषय हो । सिक्किम भारतमा विलय हुनुमा नागरिकता विधेयकको ठूलो भूमिका थियो । संसद्को ३२ वटा सिटमा राजाले विजय गरेको थियो । काजी लेण्डुप दोर्जेले धाँधली भयो भनेर दबाव दिई नागरिकता वितरण गरियो । साढे ४ लाख नागरिकलाई नागरिकता वितरण पछि पुनः निर्वाचन भयो । निर्वाचनमा लेण्डुप दोर्जेले ३१ सिट र राजाले १ सिट मात्र पाएका थिए । त्यसैको आधारमा लेण्डुप दोर्जेले सिक्किमलाई भारतमा विलय गरे । १५ सय किलोमिटर टाढा रहेको फिजीमा महेन्द्र चौधरी कसरी प्रधानमन्त्री बने । त्यहाँ शाखा नै थिएन । त्यहाँ पनि भारतले दबाव दिएर नागरिकता वितरण गर्न बाध्य पा¥यो । नागरिकता वितरण गरेर निर्वाचन गरियो । राष्ट्रवादको नारा दिएर एक–दुईवटा पार्टीलाई समावेश गरेर मन्त्रीमण्डल गठन भयो । मन्त्रीमण्डल गठन गरेपछि ४० प्रतिशत भारतलाई सुरक्षा निकायमा समावेश गरे । भारतमा विलय गर्ने सङ्केत पाएपछि फिजीका ७ जना जनता मेसिनगन लिएर संसद् छिरेर शक्ति आफ्नो मुठ्ठीमा लिन सफल भएकाले फिजी स्वतन्त्र राज्य रहेको छ । यो नागरिकता विधेयककै कारणले भएको थियो । अङ्गीकृत नागरिकता दिँदासम्म ठीकै हो । तर, नेपाल वंशजको आधारमा नागरिकता दिन तत्पर छ । नेपालका नेता बिकाउ छन् । यिनले नेपाललाई बिक्री गर्न सक्छन् । बसोबासका आधारमा बासस्थान बनाए । बसेका नागरिकलाई नागरिकता दिएका छन् । वर्षौंदेखि नागरिकताविहीनहरूलाई नागरिकता दिनुपर्छ । नयाँ आयातित व्यक्तिाई नागरिकता दिनु हुँदैन ।
नेपालका शीर्ष नेतालाई के भन्नुहुन्छ ?
–देश भ्रष्ट नेताका कारणले बिग्रियो । राप्रपाको एजेण्डा यही हो । सेरेमोनियल राजा हुनुपर्छ । सेरेमोनियल राजा भएमा करोडौं रकम बचत हुन्छ । नेताको उपचारमा करोडौँ रुपैयाँ खर्च भएको छ । अनैतिक अरबौँ खर्च गर्ने नेतालाई बहिष्कार गरौँ । यहाँसम्म कि काठमाडौंस्थित टुँडिखेललाई कसरी प्लटिङ गरेर बिक्री गरौं भनेर सोचिरहेका होलान् नेताहरूले । नेपालको अर्थतन्त्र पनि धरासायी बनेको छ । मुलुक नै पलायन हुने हो कि भन्ने लाग्छ । राजनीतिक विकृति पराकाष्ठामा पुगेको छ ।
धरानको खानेपानी समस्या समाधान कसरी गर्नुहुन्छ ?
–धरानको एडिबीको परियोजना असफल हुन्छ भनेर मैले पहिले नै भनेको थिएँ । दीर्घकालीन समाधान गर्नका लागि अस्थायी मात्रै हो । फेरि फिल्टर गर्नुपर्छ । शुद्धीकरण गरेर मात्रै वितरण गर्नुपर्छ । त्यो भएको छैन । धरानको खानेपानीको अभियानमा संलग्न हुन्छु ।
साना मजदुरको विषयमा के छ योजना ?
–पर्यटन क्षेत्र भन्छन् । पर्यटकहरू प्रत्यक्ष मजदुरसँग जोडिन्छ । तर, मजदुरका विषयमा हाल नेताले बोलेका छैनन् । म निर्वाचित भएमा यातायात मजदुरको उपचार र राहतका लागि अक्षयकोष स्थापना गर्छु । अक्षयकोषबाट उपचार खर्च ३० हजारसम्म दिने व्यवस्था मिलाउँछु । नगरपालिकासँग परामर्श गरेर १८ सय राजस्व घटाएर १ हजार बनाउन पहल गर्छु । उनीहरूलाई व्यवस्थापन गर्नुपर्छ ।
जित कति सुनिश्चित देख्नुहुन्छ ?
–अहिलेको माग राष्ट्र जोगाउने र सही दिशामा लाने हो भने राप्रपा विकल्प हो र मेरो जित हुन्छ । नेपालका सबै क्षेत्रका राष्ट्रप्रेमीहरू जुर्मुराएका छन् । म धरानको पुत्र पनि भएकाले धराने जनताले मलाई जिताउनेछन् । धरानसँग नजिकको सम्बन्ध भएकाले धरानको विकासका लागि आत्तिएर अष्टे«लियादेखि आएको हुँ । मलाई बुद्धिजीवीदेखि मजदुरवर्गसम्म सबैको साथ भएकाले विजय सुनिश्चित छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
–नेताहरूले धरानलाई विकट बनाए । धरान नगर हुनुभन्दा २० वर्षपछि नगर बनेको इटहरी महानगर बन्ने तरखरमा छ । धरान उपमहानगरदेखि नगरपालिकामा झर्ने अवस्थामा छ । इटहरीले धरानलाई उछिन्यो । अब गोठगाउँ र विराटचोकले पनि उछिन्ने अवस्था नल्याउनका लागि उम्मेदवारी दिएको हुँ । धरान–२०, ४, ५ र ६ लाई वैज्ञानिक कृषिक्षेत्र घोषणा गरेर बेरोजगार नागरिकलाई रोजगार दिई उत्पादन बढाउने मान्यता रहेको छ । श्रमिकहरूलाई तालिमको व्यवस्था गर्नुपर्छ ।