तिहार नजिकिएसँगै प्रदेश १ सँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रहरूबाट पटका, आतसबाजीलगायतका विष्फोटक पदार्थ अवैध रूपमा नेपाल भित्रिने गरेका छन् । विशेषगरी प्रदेश १ का सुनसरी, मोरङ र झापाका सीमाक्षेत्रबाट विष्फोटक पदार्थ भित्रिने गरे पनि सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूले रोक्न सकेका छैनन् । हरेक वर्ष तिहार नजिकिएसँगै सीमाक्षेत्रमा पटकाजस्ता विष्फोटक पदार्थ ल्याउनेहरू पक्राउ पर्ने गरेका छन् । बेला–बेला प्रहरीले पटका बरामद गर्ने गरे पनि पूर्वका बजारमा तिहारका बेला यत्रतत्र पटकाको बिक्रीवितरण र प्रयोग हुने गरेको छ । सीमामा केहीलाई नियन्त्रणमा लिने गरिए पनि पटकाको आयात रोकिनुको साटो झनै बर्सेनि बढिरहेको देख्न सकिन्छ । सहरी क्षेत्रमा मात्र होइन, पूर्वका गाउँमा समेत पटका र आतसबाजीको प्रयोग बढिरहेको देखिन्छ । यसले सुरक्षा निकायको कारबाही औपचारिकतामा मात्र सीमित रहेको बुझ्न सकिन्छ ।

चाडपर्वका बेला भारतबाट पटकालगायतका पदार्थ भित्रिँदा नेपाली रुपैयाँ बाहिरिने त छँदैछ, त्यसबाहेक तिहारमा जथाभावी पड्काइने पटकाले ध्वनि प्रदूषण बढाइरहेको छ । त्यतिमात्र होइन, बर्सेनिजसो पटका पड्काउँदा घरमा आगलागी भएका घटनाहरू समेत सार्वजनिक हुने गरेका छन् । रमाइलोको बहानामा निम्तिरहेको जोखिमका विषयमा सरकारले ध्यान पु¥याउनु आवश्यक छ । सरकारले हरेक वर्ष पटका ल्याउन र पड्काउन प्रतिबन्ध त लगाउने गर्छ तर, यो कागजी कानूनका रूपमा मात्र सीमित छ । तिहारका बेला ध्वनि प्रदूषण गराउँदै जथाभावी पड्किने पटकाबारे प्रहरी प्रशासनले खासै वास्ता गरेको पाइँंदैन । सुरक्षा निकायका अधिकारीहरू नेपाल–भारतबीचको खुला सीमाका कारण पनि अवैध गतिविधि रोक्न चुनौती रहेको बताउने गर्छन् । सीमाक्षेत्रमा लागूऔषध, हातहतियारको समेत कारोबार हुने गरे पनि रोक्न नसकेको अवस्थामा पटकाजस्ता विष्फोटक पदार्थ नियमन र नियन्त्रण औपचारिकतामा सीमित छ । तिहारका समयमा मधेस प्रदेशमा पटका, आतसबाजी जस्ता प्रज्वलनशील र विष्फोटक पदार्थको प्रयोग सबैभन्दा बढी हुने गरेको छ । पछिल्लो समय अन्य प्रदेशका तराईदेखि पहाड र हिमाली क्षेत्रसम्म पनि पटका पड्काउने प्रचलन बढ्दो छ । कानूनले जथाभावी पटका पड्काउन प्रतिबन्ध लगाए पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेको अवस्था छ । तिहार, छठ जस्ता चाडपर्वमा बढी प्रयोग गरिने पटका तराई क्षेत्रमा विवाह, नयाँ वर्षदेखि विविध उत्सवका अवसरमा पड्काइने प्रचलन बढिरहेको छ । प्रहरीको तथ्याङ्कअनुसार बर्सेनि करोडौं रुपैयाँ बराबरका पटका नियन्त्रणमा लिइन्छ । तर, बजारमा उत्तिकै पटका, आतसबाजीजस्ता विष्फोटक पदार्थको बिक्री र प्रयोग भइरहेको छ । कतिपयले प्रहरीकै मिलेमतोमा यस्तो धन्दा चल्ने आरोप पनि लगाउने गरेका छन् । प्रहरी प्रशासनले भने कडा निगरानी भइरहेको र भेटिएकालाई कारबाही हुने बताउने गरेको छ । पटका व्यापारी र प्रहरी प्रशासनबीच यस्तो जुहारी चल्न थालेको वर्षौैं भए पनि न पटका प्रयोग नियन्त्रणमा आउने सकेको छ, न त प्रहरीले कारबाही गर्न नै छाडेको छ ।

कानूनद्वारा प्रतिबन्धित वस्तुहरूमाथि प्रतिबन्ध लगाउनु राज्यको सुरक्षा निकायको कर्तव्य हो । यद्यपि पटका मात्र होइन, अन्य धेरै अवैध धन्दा सीमा क्षेत्रमा चलिरहेका छन् । लागूऔषधदेखि विभिन्न खाद्यवस्तु तथा लत्ताकपडाहरूको तस्करी भइरहेको छ । यस्तो धन्दामा कतिपय प्रहरी अधिकारीहरूकै मिलेमतो हुने गरेको चर्चा पनि चल्ने गर्छ । यस्तो चर्चा कतिपय सत्य पनि सावित भएका छन् । सुरक्षा निकायले जे जिम्मेवारी लिएर सीमा क्षेत्रमा बसेको हो, त्यो पूरा गर्नु उसको दायित्व हो । सुरक्षा निकायले सधँैभरि खुला सिमानालाई कारण देखाएर अवैध धन्दालाई सामान्य ठान्नु गलत हो । सुरक्षा निकायहरूको कामप्रति राज्यले ध्यान दिनु आवश्यक छ । किनभने यस्ता धेरै आपराधिक घटनामा सुरक्षाकर्मीहरूकै संलग्नता रहेका प्रमाणहरू भेटिएका छन् । सेटिङ मिल्नेलाई छुट र सेटिङ नमिल्दा कारबाही गर्ने प्रचलन रहेसम्म पटका मात्र होइन, कुनै पनि आपराधिक गतिविधि पूर्ण रूपमा नियन्त्रणमा आउन सम्भव छैन ।