विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राई निर्वाचित भएदेखि नै खानेपानी समस्या समाधान गर्न श्रमदानबाट साना परियोजना सञ्चालन गर्दै आएका छन् । दुईवटा परियोजना सम्पन्न गरिसकेपछि प्रमुख राईले शिवजट्टाको खानेपानी धरान–१५ मा ल्याउने तयारी गरे । तर, उपभोक्ता समितिहरूसँग समन्वय नगरी परियोजना सञ्चालन गर्न लाग्दा ४ वटा वडाका उपभोक्ताहरू सडकमै उत्रिएर विरोध जनाएपछि तत्कालका लागि उक्त योजनाबाट नगर प्रमुख राई पछि हटेका छन् ।
भालुखोलादेखि उत्तर र शिवजट्टा क्षेत्रबाट पानी ल्याई उपभोग गरिरहेका उपभोक्तासँग समन्वय नगरी खानेपानी योजना सञ्चालन गर्न जाने क्रममा उपभोक्ताले विरोध जनाएका थिए । सो क्षेत्रको खानेपानी स्रोतबाट धरान– १३, १४, ४ र ५ को देवीगाउँसहित करिब १ हजार ७ सय घरधुरीले पानी उपभोग गर्दै आएका छन् ।
पकुवा खोला, निशाने खोलाको परियोजना सम्पन्न गरेपछि प्रमुख राई धरान–४ स्थित शिवजट्टाबाट खानेपानी ल्याउने तयारीमा लागेका थिए । प्रमुख राई प्रारम्भिक सर्वेक्षणका लागि जाने क्रममा उपभोक्ताले बाटोमा नै अवरोध गरेका थिए । बिहीबार धरान प्रमुख राई शिवजट्टामा खानेपानी योजनाका लागि सामानसहित ठूलो जत्था लिई शिवजट्टा हिँडेका थिए ।
धरान–४, १३ र १४ का नागरिकले अवरोध मात्रै गरेनन्, प्रमुख राईविरुद्ध सडकमै उत्रिएका थिए । प्रमुख राईले शिवजट्टाबाट धरान–१५ का नागरिकलाई पानी खुवाउने बताउँदै आएका छन् ।
धरान–१४ स्थित बूढासुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष नवीन केसीले ३ वडाका १५ वटा खानेपानी उपभोक्ता समिति र उपभोक्तासँग समन्वय नगरी जबर्जस्ती खानेपानी मुहान कटौती गर्न लागेकाले आन्दोलनमा उत्रनुपरेको बताए । उनका अनुसार शिवजट्टा र भालुखोलाबीचबाट करिब १ हजार ५ सय घरधुरीले पानी उपभोग गर्दै आएका छन् । ‘प्रमुख राई जबर्जस्ती सामान लिएर शिवजट्टामा आउनुभयो’ उनले भने, ‘१४ नं. र ४ नं. वडाका नागरिकलाई भूगोलका कारणले शिवजट्टाबाहेक खानेपानीको अन्य विकल्प छैन । त्यसैले मुहान कटौती हुने डरले आन्दोलन गर्नुपरेको हो ।’
वडा नं. १३ का अध्यक्ष नेत्र काफ्लेले करिब २ सय घरधुरीले उक्त स्रोतबाट पानी उपभोग गर्दै आएको बताए । उनले भने, ‘त्यो स्रोतको पानी अन्यत्र लगेमा त्यहाँका नागरिकलाई ठूलो समस्या हुन्छ । अन्य विकल्प नै छैन ।’
वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले करिब ३ सय घरधुरीले भालुखोलादेखि शिवजट्टासम्मका क्षेत्रको स्रोतबाट पानी उपभोग गर्दै आएको बताए । उनका अनुसार करिब साढे ३ सय घरपरिवारले पानी उपभोग गर्दै आएका छन् । बूढासुब्बा उपभोक्ता समितिमा मात्रै २ सय ३१ घरधुरीले पानी उपभोग गर्दै आएका छन् । उनले भने, ‘मुहान काटेपछि तल पानी आउँदैन भनेर अवरोध भएको हो । पहिले नै समन्वय गरेको भए, त्यो अवस्था आउँदैनथ्यो ।’
भालुखोलामा भने परियोजना सञ्चालन हुने उनले बताए । ‘हिउँदमा पाइप लाइन विस्तार नभए माथिबाट ल्याउने भनिएको छ । अहिले नै पनि पाइप छन्’ उनले भने, ‘एकातिर खाइरहेको पानी अर्कातिर लैजाँदा समस्या उत्पन्न हुन्छ ।’ उनले धरानका सबै वडामा खानेपानी समस्या भएको बताए । धरान–४ का वडाध्यक्ष धनबहादुर राईले शिवजट्टाको पानी अन्यन्त्र लैजाँदा करिब ८ सय वडावासीले पानी खान नपाउने बताए ।
उनका अनुसार धरान–५ देवीगाउँका ४ सय ६१ घरधुरीले सोही स्रोतबाट पानी उपभोग गर्दै आएको बताए । उनले भालुखोलाबाट पानी लान दिने समझदारी भएको बताए । छलफलमा उपभोक्ताहरूले कुनै पनि अवस्थामा भालुखोला उत्तरबाट पानी अन्यत्र लान नदिने अडान राखेपछि प्रमुख राईले भालुखोलाबाट पानी ल्याउने बताएका थिए ।