मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ । 

अस्पतालमा  बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ । सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य भएको सुन्दरहरैँचा–७ निवासी बिरामी शम्भु विश्वकर्माले बताउनुभयो । आफू जस्तै दैनिक ज्यालादारी गरेर खानेलाई सामान्य उपचारका लागि पनि पटकपटक अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ रहेको छ । 

 अस्पतालमा दैनिक रूपमा तीन सय बढी बिरामी उपचारका लागि पुग्छन् । बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई जाँच गराउन, रिर्पोट बुझाउँन जाँदा अधिकांश चिकित्सक नभेटिने,  हिँडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । उपचारका लागि विभिन्न विभाग भए पनि चिकित्सक समयसम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताए । 

बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै काम सकेर चिकित्सक छिट्टै हिँड्ने गरेकाले यो समस्याको समाधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी रहेको पोखरेलले बताए । अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले बताए। दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको उनको भनाइ छ । 

अस्पतालका चिकित्सक डा चन्दन विश्वासले बिरामीको चाप अत्यधिक भएकाले उपचारमा समस्या भएको बताए।