भद्रपुर । झापाका पन्ध्र्रवटा स्थानीय तहमध्ये चारवटा नगरपालिकाभित्रका मात्र  हिंसामा परेका महिला तथा बालबालिका बढी मात्रामा उपचारका लागि आउने गरेकोे पाइएको छ । पालिकामध्ये बिर्तामोेड, दमक, मेचीनगर र भद्रपुर रहेका छन् ।

लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पताल भद्रपुरले यस्ता बिरामीको निःशुल्क उपचार गर्दै आइरहेको छ । मेची अस्पताल मातहतमा रहेको निःशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् ।

पछिल्लो विवरणअनुसार उपचार गर्न आउने १४ वर्ष मुनिका बालिकाको सङ्ख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौनहिंसा पीडितको सङ्ख्या उल्लेखनीय छ भने बालविवाह, बहुविवाह, मानसिक हिंसालगायत अपराधबाट पीडितहरू आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । यस शीर्षकअनुसार वार्षिक हिंसापीडित एक सय ७० बढीले निःशुल्क सेवा पाएको विगतका विवरणले देखाएको समितिका सदस्य–सचिव तथा मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाराकोटीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको विवरणअनुसार हिंसा पीडितको सूचीमा झापाका अन्य पालिकामध्ये चारवटा नगरपालिकाले बढी सेवा लिने गरेको उनले बताए । विभिन्न सरोकारवाला सङ्घ–संस्थाले उद्धार गरे पनि हिंसापीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको उनको भनाइ छ ।

हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्षमार्फत् अस्पतालमा उपचार सेवा प्रवाह गरिँदै आएको बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार सम्भव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको उनले जनाए ।

समितिले एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखेकोे छ । लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत् सेवा प्रवाहको लक्ष्य राखिएको हो ।

समितिका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले महिला हिंसा न्यूनीकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सरोकारवालाहरूबाट सुझावसमेत लिने गरेको बताए । समितिले एकद्वार उपचार केन्द्र भद्रपुरका लागि बजेट प्रस्ताव गरी पीडितले निःशुुल्क सेवा लिँदै आइरहेको उनले जनाए ।