विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो ।
गोयललाई पूर्व राष्ट्रपति डा.रामवरण यादवद्वारा कदर–पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ । समाजसेवी गोयललाई अभिनन्दन गर्न नागरिक समाज आबद्ध रहेकोे ४ सय ७५ जनाको समाजसेवी दीनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समिति बनाएको थियो ।
नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले समाजको एकीकरणमा सबै जातजातिको महŒवपूर्ण योगदान रहेको बताए । उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महŒवपूर्ण योगदानको रहेको बताए । ‘समाजसेवी गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गर्नुभएको महŒवपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु’–उनले भने ।
उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने बताए । अभिनन्दित व्यक्ति गोयलले गरिब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घ–संस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुसी र शान्ति महसुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईं, महावीरप्रसाद गोयललगायतले समाजसेवी गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्चशिक्षा अध्ययन गर्न सफल भएको बताए ।
झापाको भद्रपुरमा २००५ मा समाजसेवी गोयलको जन्म भएको थियो । उनलाई स्वदेश र विदेशका गरी २ सय ६८ सङ्घ–संस्थाले अभिनन्दन गरेका छन् । गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५ सयभन्दा बढी असहाय एवम् जेहेन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक, एकल महिला, गौशाला, मठमन्दिर, बाल आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरेका गोयल अहिले झण्डै दुईसय सामाजिक सङ्घ–संस्थामा आबद्ध छन् । उनी एक दशकदेखि औद्योगिक जीवनबाट विश्राम लिएर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।