संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । नेपालको कला, संस्कृति र लोक साहित्यका विविध विषयमा खोज अनुसन्धान गरेका जोशीको निधनले नेपाली कला, संस्कृतिको एउटा धरोहर ढलेको छ । एउटा युगको अवसान भएको छ । वाङ्मय शताब्दी पुरुष भनेर सम्बोधन गरिने जोशीले नेपाली समाजलाई धेरै कुरा दिएर गएका छन् । राणा शासन, राजतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका शासन व्यवस्था भोगेका जोशीले राज्यमा जुनसुकै व्यवस्था रहँदा पनि सम्मान पाइरहे । त्यसो हुनुको प्रमुख कारण उनको अध्ययन, अनुसन्धानमा लगनशीलता नै हो । किनभने देशका लागि गरिएका अध्ययन अनुसन्धान कुनै शासक विशेषका लागि, कुनै विचार वा वादका लागि मात्र होइन, जुनसुकै व्यवस्थाका लागि पनि आवश्यक हुन्छ । देशका लागि गरेको योगदानकै कारण राज्यले पनि उनलाई भव्य रूपमै सम्मान प्रदान गरेको छ । उनले अरू कुनै नेपालीले नपाएका मान सम्मान राज्यका तर्फबाट पाएका छन् । उनी जीवित अवस्थामै उनको तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो । यस्तो अवसर पाउने उनी एकमात्र नेपाली हुन् । उनको तस्बिर अङ्कित हुलाक टिकट पनि प्रकाशित भएको छ ।
सरकारले उनलाई यस वर्ष संविधान दिवसको अवसरमा राष्ट्र गौरव पदवी दिने घोषणा गरेको थियो । यसअघि सुप्रबल गोर्खा दक्षिणबाहु, उज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरिएको थियो । उनले पद्मश्री साधना पुरस्कार पनि पाएका थिए । त्यसो त तीन पटक मदन पुरस्कार पाउने जोशी एक्ला व्यक्ति हुन् । उनले नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोक संस्कृति, कर्णालीमा खस सभ्यताजस्ता अध्ययनका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । हुन त कतिपय आलोचकहरूले जोशीलाई राज्यले बोकेका विद्वान भनेर आलोचना पनि गर्ने गरेका थिए । तर उनको अध्ययन, अनुसन्धानका विषयमा आलोचकहरूसमेत नतमस्तक थिए । उनको दीर्घजीवनको रहस्य पनि धेरैका लागि चासोको विषय बन्ने गरेको थियो । कसैले यस विषयमा प्रश्न गर्दा उनी सहजै भन्थे,‘खानपिनमा ध्यान दिनु, चिन्ता नगर्नु, चिन्तन गर्नु ।’ उनी उमेरले शताब्दी कटिसक्दा समेत सक्रिय थिए । कुनै कार्यक्रममा निम्ता आए, कार्यक्रममा पुग्ने मात्र होइन, नयाँ पुस्ताका लागि ऊर्जा दिने मन्तव्य दिन्थे ।
जोशीले एक शताब्दीभन्दा बढी जीवनमा बिफर, क्षयरोग, कोरोनासम्मका विभिन्न महामारी देखे, ठूला–ठूला भूकम्प र विभिन्न विपत्ति देखे, भोगे । पछिल्लो समय डेङ्गी सङ्क्रमणले ग्रसित उनी अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान निधन भएको हो । उनको निधनपछि देशका राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणले समेत श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको निधनले देशले एक जना अभिभावक गुमाएको छ । उनको अभिभावकत्वमा भएका कला, संस्कृति र लोक साहित्यका अध्ययन, अनुसन्धानलाई निरन्तरता दिनु राज्यको कर्तव्य हो । उनले देखाएको कला, संस्कृतिको महŒवका बारेमा राज्यका नीति निर्माण तहमा रहनेहरूले ध्यान पु¥याउनु आवश्यक छ । अनि उनले सिकाएको साधा जीवन, उच्च विचारको बाटो सबै नेपालीहरूले हिँड्नु आवश्यक छ ।